हिजोआज उनलाई सुख छ। उनको सुख हेरेर बा–आमा र श्रीमती खुसी छन्। कलाकार बेगम नेपाली (भट्भटे माइलो) एक्लै बसेर सोच्छन्, ‘आफ्नो खुसीभन्दा ठूलो कुन कमाइ होला जिन्दगीमा!’ फेरि उनलाई लाग्छ, ‘मेरो भागमा यो खुसी परेको कति नै भयो र?’
‘कहिलेसम्म यो खुसी मेरै भाग्यमा अडिएला खै!’ यसै साताको एक बसाइमा बेगमले खुइइया... सुस्केरा फाल्दै सुनाए।
आज सफल देखिएका बेगमको छातीमा असफलताका कयौँ कथा छन्। अभाव र भोकका व्यथा त कति छन् कति। प्युठान मल्लरानीको सामान्य परिवारमा जन्मिएका बेगमले बाल्यकालबाटै अभाव देखे, झेले र संघर्ष गर्न सिके। उनका बुबा मैतबहादुर नेपाली र आमा सरी नेपाली अरुको काम गरेर बचेको समय छोराछोरीलाई दिन्थे। बा–आमाको काखमा पोखिनु पर्ने बेगमको बाल्यकालीन खुसी त्यही अभावले खोसिदियो।
उनका बाजे भारतीय सैनिक, पेन्सन आउँथ्यो। बाजे–बजै हुँदासम्म खानकै दुःख हुन्थेन। बाजे बेलैमा बिते। बाजे बित्दा बेगम ३ कक्षामा पढ्थे। त्यही बेलाबाट हो बेगमले घरमा खानका लागि बुबा–आमाले संघर्ष गर्नुपरेको। त्यही अभावले बेगमलाई सानैबाट दुःख गर्ने बनायो। उनलाई यो दुःखको जीवन बाँचिरहेका बासँग कलम, कपी किन्ने पैसो कसरी माग्नु! उनी स्कुल जाँदा–आउँदा दाउरा खोज्दै जान्थे। बिदाको दिन दाउरा बेच्थे र कलम, कपी किन्ने पैसाको जोहो गर्थे।
सानैबाट रेडियोमा
बेगम ८ कक्षा पढ्दै थिए। प्युठानमा रेडियो स्टेसन खुल्यो। यतिबेलासम्म स्कुलका कार्यक्रममा कमेडी गरेर उनले धेरथोर पहिचान बनाएका थिए। त्यही पहिचानले काम गर्यो। उनले रेडियोमा काम गर्ने अवसर पाए। रेडियो प्युठानमा कार्यक्रम गरेको बेगमले मासिक २५ सय रुपैयाँ पाउँथे। कपी, कलम किनेर बचेको पैसा जम्मा गरेर राख्थे। केही समयपछि रेडियो लिस्ने, माण्डवी एफएममा पनि कार्यक्रम चलाए। उनको आम्दानी पनि बढ्यो। बेगमको ‘भटभटे’ नामाकरण रेडियो कार्यक्रम सञ्चालन गर्दै भएको हो।
बेगमको घरमा टेलिभिजन थिएन। त्यो समय ‘मेरी बास्सै’, ‘तितो सत्य’, ‘जिरे खुर्सानी’ लगायतका कमेडी सिरियल चर्चित थिए। टेलिभिजन हुनेको घरमा बेगम काम गरिदिन्थे र टेलिभिजन हेर्थे। त्यही सिरियल हेरेर उनी क्यारिकेचर गर्थे, रेडियोका कार्यक्रम चलाउँथे। त्यो समय रेडियो सुन्ने स्रोताका लागि उनी लोकप्रिय रेडियो प्रस्तोता भएका थिए।
एकदिन बेगमले टेलिभिजन हेर्दै गर्दा विज्ञापन देखे। लेखिएको थियो, ‘तपाईं पनि कलाकार बन्न चाहनुहुन्छ? चाहनुहुन्छ भने यो...नम्बरमा सम्पर्क गर्नुहोला।’
कलाकार बन्न हिँडेका बेगम ठगिए
बेगमले नम्बर टिपे। त्यो समय उनीसँग मोबाइल थिएन। पीसीओ पुगे। फोन गरे। यतिबेलासम्म बेगमले ९÷१० हजार रुपैयाँ जम्मा गरेका थिए। त्यही पैसा बोके र काठमाडौं आए। पहिलो पटक काठमाडौं आएका बेगमका लागि यो सहर बिरानो थियो। यहाँका बाटाहरुले अत्यास लगाउँथ्यो। घरबाट भागेर हिँडेका बेगमलाई बा–आमाको न्यास्रो आधा बाटोमै लागिसकेको थियो। तर, यो सबै कुरा बिर्सिएर उनलाई कलाकार बन्नु थियो। तर, काठमाडौंले उनको क्षमताको कदर गरेन।
सिरियल खेलाउन भन्दै काठमाडौं बोलाएका मान्छेले उनीसँग १५ हजार मागे। बेगमले गाउँमा फोन गरेर भने, ‘बाउ म कलाकार बन्छु, मलाई १५ हजार पठाइदिनु।’ उनका बुबासँग त्यति धेरै पैसा थिएन। गाउँमा ऋण काढेर पैसा पठाइदिए। बेगमका बुबाले गाउँभरि हल्ला गरे, ‘मेरो छोरो कलाकार बन्न काठमाडौं गएको छ। अब मेरो छोरो पनि टेलिभिजनमा देखिन्छ।’ तर भैदियो उल्टो। सिरियल खेलाउँछु भन्ने मान्छे पैसा लिएपछि सम्पर्कविहीन भैदिए। बेगम भारी मन बोकेर गाउँ फर्किए।
प्युठान फर्किएपछि उनले पुनः पढाइ र रेडियोमा काम गर्न थाले। गाउँ फर्किएपछि उनका बा भन्थे, ‘केटा त्यत्रो पैसा कहाँ हालिस्? टीभीमा त देखिँदैनस्।’ गाउँका मानिस भन्थे, ‘तेरो बाउले त मेरो छोरो कलाकार भयो, टीभीमा देखिन्छ भन्थे, देखिदैनस् त!’ बेगमलाई कलाकार बन्नै पर्ने दबाब थियो।
त्यही वर्ष दसैँमा बेगम पुनः काठमाडौं आए। यसपटक उनले हेमन्त गौतम, कमल गाउँले लगायतका कलाकारलाई भेटे, कलाकार बन्ने सपना सुनाए। उनीहरुले भने, ‘पहिला एसएलसी पास गर्नु।’
बेगम गाउँ फर्किए।
त्यही समय रेडियो लिस्ने आवाजले ‘प्युठानी तारा’ नामक कार्यक्रम गर्ने भयो। बेगमले कार्यक्रममा अतिथि बनाएर सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई बोलाइदिन आग्रह गरे। स्टेसन म्यानेजर महावीर रानाले महंगो पारिश्रमिक दिएर उनीहरुलाई बोलाए। धुर्मुसले निर्वाह गरेको खड्काजीको हाउभाउसहित क्यारिकेचर गरेर बेगमले आफ्नो कला देखाए। धुर्मुसलाई आफ्नो कलाकार बन्ने उत्कट चाहना सुनाए। धुर्मुले पनि भने, ‘एसएलसी पास गरेर काठमाडौं आउनू, हामी सिरियलमा खेलाउँछौँ।’
त्यसपछि सुरु भयो बेगमको दिनगन्ती। भन्छन्, ‘कहिले एसएलसी सकिएला र काठमाडौं जाउँला भन्ने भयो। त्यो बेला त उज्यालो भए रात परोस् भन्ने लाग्ने, रात परे उज्यालो भैहालोस् भन्ने लान्ने। जतिछिटो रातदिन सकिन्थ्यो, त्यति नै छिटो मेरो एसएलसी पनि सकिन्थ्यो नि त।’
चक्रपथको फोहोर उठाउनेदेखि लास कुर्नेसम्म
एसएलसी दिएपछि बेगम काठमाडौं आए। तर रिजल्ट भएको थिएन। रिजल्ट नभई कलाकार बन्ने उपाय थिएन। काठमाडौं आएपछि केही दिन गायक विजय राहुले आफैँले पैसा तिरेर होटलमा राखिदिए। त्यसपछि बेगमले भेटे विकास शाहलाई। विकासले आफ्नै कोठामा लिएर गए, फिल्मकर्मीमाझ लिएर गए। बेगमलाई फिल्मी दुनियाँ रमाइलो लाग्यो। उनीसँगै आएका थिए ऋषि खड्का। ऋषि गाउन/बजाउन सिपालु थिए। त्यसैले उनी दोहोरी साँझमा काम गर्न थाले। बेगम त्यसपछि अलपत्र परे। कामको खोजीमा निस्किएका उनले चक्रपथमा फोहोर उठाउने काम पाए। त्यसबाट दैनिक सय रुपैयाँ कमाइ हुन्थ्यो। बेगम त्यही पैसाले एक छाक खाना खान्थे। दुई छाक खान पुग्दैनथ्यो।
विकास शाहले चप्पल कारखानामा काम लगाइदिए। मासिक ८ हजार तलब दिने भनिएको थियो। बिहान ७ देखि बेलुका ७ बजेसम्म काम गर्नु पर्ने। बेगम भोकले बेहोस भएर लडे। त्यसपछि विकासले नै टिचिङ अस्पतालको ब्वाइज होस्टलमा काम लगाइदिए। केही समय त्यहीँ भाँडा माझ्ने, लुगा धुने, होस्टल सफा गर्ने काम गरे। त्यहीँ उनले एक हप्ता काम गरेपछि एक हप्ता खाली बस्नु पथ्र्यो। खाली बस्नु पर्ने हप्ता उनी चक्रपथको फोहोर उठाउन जान्थे। ठिकै भैरहेको थियो। एकदिन होस्टलको भाँडा माझ्ने काम पनि खोसियो।
होस्टलको जागिर खोसिएपछि बेगमले लास कुर्ने काम पाए। टिचिङ हस्पिटलकै मुर्दाघरमा सेक्युरिटी गार्डको काम गरे। पोस्टमार्टमको पर्खाइमा रहेका लास कुर्दै बेगम एसएलसीको रिजल्ट पर्खिन्थे। भन्छन्, ‘मुर्दाघर बाहिर मान्छे रुन्थे। लासको संख्या थपिइरहन्थ्यो। सुरुमा त मुसा दौडिँदा पनि डर लाग्थ्यो। सबै कुरा बानी त रहेछ नि। बिस्तारै बानी परेँ। डर लाग्न छोड्यो। ज्युँदो हुँदा भेट्ने सपना देखिएका कति सेलेब्रिटीको लास कुरेर बसेको छु।’
रातभरि टिचिङमा लास कुर्नु, बिहानै चक्रपथको फोहोर उठाउन जानु बेगमको दिनचर्या थियो। उनको जीवन ठिकैसँग चलिरहेको थियो। त्यही वर्ष दसैँ मान्न घर गएर रात्री बसमा फर्किए। त्यही रात मुर्दाघरको गेटमा बेगम निदाए। टिचिङमै पेन्सन पकाएका शेर्पा बाजेले चुरोटसँगै आफ्नो कोठामा आगो सल्काइदिए। त्यही आगोले शेर्पा बाजेलाई घाइते बनाइदियो अनि बेगमलाई बेरोजगार। बेगमको मुर्दाघरको जागिर पनि खोसियो।
एसएलसीको रिजल्ट आयो। बेगम पास भए। जागिर खोसिएको दुःखले भन्दा एसएलसी पास भएको खुसीले बेगमलाई जित्यो। उनी एसएलसी पास भएको खबर लिएर सीताराम कट्टेलकहाँ पुगे। खबर गर्नु पर्ने सबै ठाउँमा खबर गरे। सीतारामले ‘मेरी बास्सै’मा खेलाए। तर समस्या भयो खाने, बस्नेको। ‘मेरी बास्सै’ सुटिङ बाहेकको समय उनले ज्यामी काम गरे। ज्यामी काम गरेर कमाएको पैसाले होटलमा बस्न पुग्दैनथ्यो। उनी गोंगबुको शिव मन्दिरको आडमा सुत्थे।
भन्छन्, ‘दिनभरि काम गर्यो। राति दालमोठ, चिउरा र एक बोतल पानी बोकेर शिव मन्दिर पुग्यो। खायो, सुत्यो। त्यो बेला कतिले कुल्चिए, कतिले थुके त्यसको हिसाब सम्झियो भने अहिले पनि मन हुँडलिन्छ। त्यसैले सम्झिँदै सम्झिन्नँ।’
बाटोमा सुतेका बेगम र ऋषिलाई देखेर ‘लुम्बिनी देउराली गेस्ट हाउस’का सञ्चालकले स्पिकर किन्दिए। बाटोमा बसेर ऋषि गीत गाउँथे, बेगम मुखैले मादल बजाउँथे। केही समय उनीहरुले यसरी पनि आफ्नो गुजारा चलाए। भन्छन्, ‘रुमाल थापेर गीत गाउथ्यौँ राम्रै पैसा कलेक्सन हुन्थ्यो। त्यो समय हामीलाई मासुभात खान पुग्थ्यो।’
बेगमलाई पढ्नु पनि थियो। टिचिङको होस्टलमा भाँडा माझ्दा राहुल शाह नाम गरेका एकजना दाइलाई चिनेका थिए। उनले भनेका थिए, ‘केही पर्यो भने सम्झनु।’ उनैले बेगमलाई चाबहिलको कैलाशकुट बहुमुखी क्याम्पस भर्ना गरिदिए। शाह टिचिङकै होस्टलमा बोलाएर बेगमलाई पढ्न सिकाउँथे। भन्थे, ‘तिमीलाई म राम्रो मान्छे बनाउँछु।’ तर अभाव र गर्नु पर्ने कडा परिश्रमले बेगमलाई अध्ययन अगाडि बढाउन सजिलो भएन। बेगम आँखाभरि आँसु पार्दै भन्थे, ‘दाइ पनि त पढिरहेको मान्छे। उहाँलाई कति दुःख देखाउन सक्थेँ र?’
यतिबेलासम्म बेगमले ‘मेरी बास्सै’ खेलेर राम्रै नाम बनाइसकेका थिए। फतौरी आमाको नाति बनेर सिरियलमा अभिनय गरेका उनको चर्चा गाउँमा ठूलो थियो।
लभ म्यारिज
तर, नामले मात्रै के हुन्थ्यो र बेगम एकदिन देश छोडेर भारत हान्निए। उनलाई लाग्यो, ‘राम्रो पैसा भयो भने कलाकार बन्न सजिलो हुन्छ। भारतमा केही समय काम गर्छु, पैसा कमाउँछु अनि फर्किएर कलाकारिता गर्छु।’ भारतमा उनले होटलमा भाँडा माझ्ने, गाडी धुने काम गरे। बेगमका हात कुहिए। हातभरि किरा परे। उनले भारतमा काम गर्न सकेनन्। नेपाल फर्किए र मलेसिया जान पासपोर्ट बनाए। भिसा लगाउन तयार भएका थिए, विदेश उड्न उनको दुई महिना उमेर पुगेन। तत्काल मलेसिया यात्रा रोकियो।
बेगमले काठमाडौंमा संघर्ष गरिरहदा गाउँमा उनकी बहिनीले झुण्डिएर प्राण त्यागिन्। बहिनी बितेको खबर पाएर सानैमा घर छोडेर बेखबर भएका उनका ठूला दाजु घर फर्किए। उनका बुबाआमाले पनि छोरीको मृत्यु भयो भन्ने कुरा बिर्सिएर छोरा फर्कियो भन्ने कुरामा मन बुझाउने कोसिस गरे। उनीहरुले छोराको विवाह गराइदिए। दाइको बिहेमा जन्ती गएका बेगमको मन दाइकी सालीसँग साटियो। केही समय उनीहरुको प्रेम ठिकठाक थियो। एकदिन उनकी प्रेमिकाको अन्तै विवाह हुने कुरा चल्यो। बेगमले चैतमै प्रेमिका भगाए।
९ कक्षा पढ्दै गर्दा भगाएकी श्रीमतीलाई पढाउनु थियो। पाल्नु थियो र आफैँ पालिनु थियो। बेगमलाई झन् धेरै गाह्रो भयो। काठमाडौं फर्किए। धुर्मुसलाई फोन गरे। ‘मेरी बास्सै’मा काम गर्न थाले। अर्कोतिर, बिजुलीको पोल गाड्ने, तार हाल्ने काम पाए। काम जोखिमको थियो, पैसा राम्रो। बेगमलाई आफैं कोठा खोजेर बस्ने आँट आयो। कलंकीमा एउटा कोठा खोजे। म्याट किने। स्टोभ किने। उनलाई लाग्यो, ‘अब त सुखका दिन सुरु भए।’
भूकम्पमा पुरियो सुख
बेगमको जीवनले लय समात्दै थियो। २०७२ सालमा भूकम्प गयो। कलाकारिता ध्वस्त भयो। पोल गाड्ने काम गयो। पुनः अन्यौलमा पर्यो बेगमको सुखको बाटो। भूकम्पपश्चात ‘धुर्मुस सुन्तली’ बस्ती निर्माणमा लागे। बेगमले ‘धुर्मुस सुन्तली फाउन्डेसनमा’ काम गरे। ‘मेरी बास्सै’ छँदैथियो। बेगमले ‘रिसानी माफ’ सिरियलको कथा लेख्ने र अभिनय गर्ने मौका पाए। यहाँबाट उनी हरेक एपिसोडको ५ हजार पाउँथे। पछि उनलाई सिन्डिकेट लाग्यो। ‘मेरी बास्सै’मा काम गर्ने भए ‘रिसानी माफ’ छोड्नु भन्ने कुरा आयो। बेगम ‘मेरी बास्सै’बाट निकालिए।
‘रिसानी माफ’मा काम गर्दै जाँदा बेगमको फाट्टफुट्ट मेलामहोत्सवमा माग हुन थाल्यो। बेगमले श्रीमतीलाई क्याम्पस भर्ना गरे। छोरीको जन्म भयो। पुनः बेगमको जीवनले लय समात्न लागेको थियो। विश्व कोरोना महामारीको चपेटामा पर्यो। नेपालमा लकडाउन घोषणा गरियो। कमाएको पैसा सकियो। बेगमले हरेस खाए। यो बीचमा उनका दाजु, बहिनी र ज्वाइँले आत्महत्या गरिसकेका थिए। एकदिन बेगम पनि पासो बोकेर मर्न निस्किए। घाँटीमा पासो लगाए। आँखाअगाडि छोरीको तस्बिर आयो। पासो फालेर डेरामा फर्किए।
‘मैले जीवनसँग हरेस खाएर दुई पटक मर्न ट्राइ गरेको हुँ,’ उनी भन्छन्, ‘एकपटक बिहे भएकै थिएन। बुबाआमा सम्झिएर रोकिएँ। अर्को पटक छोरी।’
कोरोनापछि काठमाडौंमा टिक्न सकिन्छ भन्ने लागेन। उनले कोठामा भएका सामान पोको पारे र नाइट बसमा छोरी र श्रीमतीलाई गाउँ पठाए। बेगमले आँट गरे, ‘अब म गाउँ जान्छु र तरकारी खेती गर्छु, कुखुरा बाख्रा पाल्छु र पैसो कमाउँछु।’
‘गाह्रो छ हो’ ले सजिलो पारेको बेगमको जीवन
बेगमले गाउँ जानुअघि टेलिसिरियल ‘गाह्रो छ हो’ को ३ भाग खिचे। एक भाग जम्मा १० मिनेटको थियो। सिरियल युट्युबमा हाले। २४ घण्टामा ४ लाख भ्युज आयो। दोस्रो भाग ७ लाख भ्युज कट्यो। तेस्रो भाग भाइरल भयो। बेगमले राम्रै आम्दानी गरे। बेगमलाई लाग्यो, ‘यति भएपछि म काठमाडौंमा बाँच्न सक्छु।’ बेगमले गाउँ फर्किन उचालेको पाइताला रोके। नयाँ कोठा खोजे, नयाँ सामान जोडे र सिरियललाई निरन्तरता दिए। सिरियल हिट भयो, बेगमले राम्रो आम्दानी गरे। श्रीमतीलाई काठमाडौं बोलाए। ब्याचलर भर्ना गरिदिए।
‘गाह्रो छ हो’ ले बेगमको अवस्था परिवर्तन गरिदियो। आफूलाई र बुबालाई लागेको सबै ऋण तिरे। गाउँमा बा–आमालाई टेलिभिजन किनिदिए। मेलामहोत्सवमा देशविदेश गए। हिजोआज त बेगम म्युजिक भिडिओ पनि खेल्न थालेका छन्। उनको दैनिकी व्यस्त छ। आम्दानी राम्रो छ।
उनका बुबाआमा पनि खुसी छन्। बुबाआमाको वृद्धभत्ता आउँछ। गाउँमै बस्छन्। छोराका सिरियल टीभीमा हेर्छन्। गाउँभरि हल्ला गर्छन्, ‘देख्नुभयो, मेरो छोरो कलाकार भयो नि।’ बेगम हिट हुनुअघि उनका बुबा रक्सी खान्थे। मातेर सडकमा हल्ला गर्थे। छोरो हिट भएपछि उनले रक्सी खान छोडिदिए। भन्छन्, ‘अब त मैले रक्सी खाएर हल्ला गरे भने मेरो छोराको इज्जत जान्छ।’
बुबालाई सम्झँदै गर्दा बेगम निकै भावुक सुनिन्छन्। भन्छन्, ‘मेरो बुबाआमाले मेरो कला यात्रामा आर्थिक सहयोग गर्न सक्नु भएन। तर भावनात्मक रुपमा यो भन्दा ठूलो साथ अर्को हुन्थ्यो होला र? क्रमैसँग सन्तान गुमाउनुको घाउ बोकेर हिँड्नु भएका बुबाले त्यही घाउको दुखाइ कम गर्न मदिरा सेवन गर्नु भयो। अर्को छोराको इमेज बिग्रेला भनेर यादले घोच्ने दुखाइ सहन रक्सी छोड्न तयार हुनुभयो। बा–आमाका लागि सन्तानभन्दा ठूलो के हुँदो रहेछ र!’
बेगम बेला–बेला बुबालाई फोन गर्छन् र भन्छन्, ‘बाउ पैसो चाहिएको छ?’ उनका बुबा भन्छन्, ‘हामी बुढाबुढीकै भत्ता आउँछ, हामीलाई जत्ति पनि पुगेको छ। तिमीहरु राम्रोसँग खानू। नातिनी र बुहारीलाई राम्रोसँग पढाउनू।’ बेगमका आँखा भरिन्छन्। उनकी श्रीमतीले बीए पास गरिन। भनिरहन्छिन्, ‘तपाईंले धेरै दुःख गरिसक्नु भयो, अब म पनि जागिर खान्छु।’ बेगम भन्छन्, ‘जागिर त खानु, तर सरकारी।’ पढ्नमा तेज श्रीमतीलाई बेगमले लोकसेवा पढ्न लगाएका छन्।
बेगमले अहिले जग्गा जोडेका छन्। कलाकारिताको भोक, सुखको खोजीमा सानैबाट घर छोडेर हिँडेका बेगमलाई आफ्नै घरमा परिवारसहित बस्ने मन छ। हुर्किएका छोराछोरी गुमाउनुको चोट बोकेर बाँचिरहेका बुबा–आमासँगै बस्ने सपना छ। बेगमलाई यो सबै सपना देख्न सक्ने बनाएकै ‘गाह्रो छ हो’ले बनाएको हो। त्यसैले उनी सिरियलको कथा दह्रो बनाउन कडा मेहनत गरिरहेका हुन्छन्।
जेलले सिकाएको पाठ
यही बीचमा बेगमले केही दिनको जेल जीवन बिताए। बेगम काम गरिरहेका थिए। त्यही समय ‘वानएक्स बेट’को विज्ञापन आयो सबैले हालिरहेका थिए। बेगमले पनि आफ्नो सिरियलमा हाले। सिरियल एपीवान टेलिभिजनबाट प्रसारण हुन्थ्यो। विज्ञापन भए टेलिभिजनमै हाल्नु पर्ने, सिरियलमा मात्रै हाल्न नपाइने सर्त थियो। बेगमले सर्त बाहिर गएर विज्ञापन हाले। केहीबेरमा एपीवान टेलिभिजनबाट फोन आयो– ‘हालेपनि अरु हाल्नु, यो विज्ञापन इलिगल हो। हटाउनू।’ बेगमले सिरियलबाट विज्ञापन हालेको २४ घण्टा नबित्दै हटाए। विज्ञापनको पैसा पनि पाएनन्। तर यही विज्ञापनले उनलाई जेलसम्म पुरायो।
३० दिन बेगम जेलमा बसे। बेगमका आँखा कुनै दिन ओभाना भएनन्। उनलाई लाग्थ्यो, ‘मलाई नखाएको विष लाग्यो।’ उनकी श्रीमती भेट्न आउँथिन्। कुरा गर्ने समय दुई मिनेटको हुन्थ्यो। एक–अर्कालाई हेर्थे, रुन्थे, दुवैको वाक्य फुट्दैनथ्यो। उनलाई त्यो समय कसैमाथि भरोसा लागेन। आफैँमाथि र भगवान माथि पनि विश्वास लागेन।
भन्छन्, ‘हाम्रो देश यस्तै हो, कति वर्ष जेलभित्रै जाने हो भनेर आत्तिन्थेँ। चिच्याएर रुन मन लाग्थ्यो। आवाज निकाल्न सक्दैनथेँ। आफूसँगै उही केसमा जेलमा रहेका साथीहरुलाई खुसी नै देख्थेँ। म बल्लबल्ल राम्रो हुन लागेको सम्झन्थेँ। अनि रुन्थेँ। एउटै जिन्दगीमा कति पटक टुक्रिनु, राम्रो हुन हुन लागेपछि कति पटक भत्कनु। मलाई त्यो समय असाध्यै गाह्रो हुन्थ्यो।’
३० दिनको यो जेल बसाइले बेगमलाई झन् धेरै सोच्ने बनएको छ। भन्छन्, ‘भगवानले जिन्दगीमा धेरै कुरा सिकिस्, यहाँ गएर पनि केही सिकेर आइज भनेर पठाएको हो जस्तो लाग्छ। केही कुरा सिकेर आइयो। तर, दुःख चाहिँ धेरै भयो। दुःख नगरी त सिक्न पनि त पाइँदैन रहेछ।’
हिजोआज उनी कुनैपनि निर्णय लिनु अघि सोच्छन् ‘यो ठिक छ?’ आफूलाई थाहा नभएको कुरा अरुलाई सोध्छन्। भन्छन्, ‘समाज त यसैगरी सचेत बन्दै जाने त रहेछ नि!’
Shares
प्रतिक्रिया