ad ad

कला


पुराना गीतमा गुञ्जिए नयाँ कलाकार

पुराना गीतमा गुञ्जिए नयाँ कलाकार

नेपालखबर
भदौ ३, २०८० आइतबार १३:४१, काठमाडौँ

पुराना तथा कालजयी दर्जन गीत नयाँ पुस्ताका गायक गायिकाकाले गाएर सुनाएका छन्। गीतकार संघ नेपालले ‘गीतकार उपचार कोष’सहयोगार्थ काठमाडौंमा आयोजना गरेको सांगीतिक साँझमा नयाँ पुस्ताका गायक/गायिकाले पुराना भाका गाएका हुन्।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को मेघा हलमा आयोजना भएको सांगीतिक साँझमा  रत्न शमशेर थापाद्वारा रचित दुई गीत ‘जाग लम्क चम्क र  ए कान्छा ठट्टैमा’, किरण खरेलको ‘वसन्त नै बस्न खोज्छ यहाँ’, यादव खरेलको ‘गैरी खेतको’, भैरवनाथ रिमाल ‘कदम’को ‘जुन फूल मैले र उदास मेरो जीवन’, नगेन्द्र थापाको ‘चिनारी हाम्रो’, राजेन्द्र थापाको ‘पोहोर साल खुसी फाट्दा’, प्रेम विनोद नन्दनको ‘ज्यानको माया नैना रेशम’, विश्व बल्लभको ‘भाग्यले खुसी’, शिवशंकर थापाको ‘भन्थिन् मेरी उनी’, दुर्गालाल श्रेष्ठको ‘फूलको आँखामा फूलै संसार’ र कालीप्रसाद रिजालको बनै खायो डढेलोले’ गरि ११ सर्जकका १३ गीत प्रस्तुत गरिएको थियो।

यी गीतहरुमा नयाँ पुस्ताका उदय सोताङ, यम बराल, सुजाता वर्मा, दुर्गा परियार, श्रेयशी चेम्जोङ, तारा श्रीष मगर, सञ्जय तुम्रोक, तारा थापा, सुनिल राई, रुपक चौधरी, मनमा बिराई र कैलाश बिक लगायतका गायक गायिकाले लाइभ प्रस्तुती दिएका थिए।

अशोक राईको संगीत संयोजनमा सम्पन्न समारोहमा शिला बहादुर मोक्तान, मनोहर सुनाम, केशव सुनाम, मोहन कार्की ढली, रविन कार्की ढली, गोपाल देव घतानी, देव राई, दीपक थापा, भरत बुढाथोकी, नरेश प्रजापति, पोषण घर्ती, शशी विक्रम र राहुल भुजेलले लाइभ वाद्यवादनमा साथ दिएका थिए।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको कार्यक्रममा उपस्थित थुप्रै स्रष्टा, कलाकार, व्यवसायीहरुले गीतकार उपचार कोषमा सहयोग गरेका छन्। सांगीतिक साँझमा ७ लाख भन्दा धेरै रकम सहयोगको बचनवद्धता प्राप्त भएको संघका अध्यक्ष बसन्त बित्यासी थापाले बताए।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले स्रष्टाको हितमा आफू सधैं तत्पर रहने बताए। किराँतीले गीत÷संगीतसँगको आफ्नो गहिरो सम्बन्ध रहेको बताएका थिए।

गीतकार संघका अध्यक्ष तथा सांगीतिक साँझका सभापति वसन्त बित्यासी थापाले संकलित रकमबाट नेपाली गीत लेखनमा योगदान पुर्याउने तमाम गीतकारहरूका लागि ‘गीतकार उपचार कोष’खडा गरिने जानकारी गराउँदै उपचार नपाएर कुनै गीतकारले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने सेवामूलक उद्देश्यले ‘उपचार कोष’ स्थापना गर्न लागेका बताए।

थापाले अक्षयकोष वृद्धिका लागि निकट भविष्यमै भृकुटीमण्डपमा अर्को मेघा सांगीतिक कार्यक्रमको आयोजना गरिने जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .