न हिट, न फ्लप! सधैँ मध्यविन्दु भएर एकनासले बगिरहेको सांगीतिक करिअर। सांगीतिक उद्योगमा बेलाबेला आउने भाइरलको बाढी। त्यही बाढीको पछि दौडिरहेको उद्योगको गति। यी कुनै कुराको पर्वाह नराखी सधैँ संगीत साधनामा तल्लीन गायिका हुन्– काव्य आचार्य।
काव्यसँगै संगीत सिकेका गायक/गायिका हिजोआज मेला महोत्सवमा व्यस्त छन्। उनलाई भने मेला–महोत्सवको भीडमा पनि भेटिँदैन। बरु उनी स्कुलका विद्यार्थीको माझमा भेटिन्छिन्। संगीत सिकाउँछिन्।
‘मलाई हो–हल्लाको दुनियाँ चाहिएकै थिएन। मलाई त शान्तसँग साधना गर्नु थियो। साथीहरु भनिरहेका हुन्छन्, मेला महोत्सवमा तपाईंलाई बोलाउँदैनन्। म भन्छु, करिअरको सुरुवातमा बोलाएका हुन्, मैले अस्वीकार गरेँ। पछि त यो आउँदिन भन्ने भयो होला, हिजोआज त्यति मेला महोत्सवका निम्तो म कहाँ आउँदैनन्,’ उनी सुनाउँछिन्।
कपिलवस्तुको भगलापुरमा जन्मिएकी काव्यले गीत/संगीतबाहेक अर्को कुनै सपना देखिनन्। उनलाई सानैबाट नाच्नु पर्थ्यो, गाउनु पर्थ्यो। स्कुल जाने नहुँदासम्म उनको नृत्यमा सबै रमाए। अलि हुर्किएपछि उनले नाच्दै गरेको हेरेर बुबाले अनुहार अमिलो पारेर हेर्थे। भन्छिन्, ‘बुबाले तिमी ननाच भनेर कहिल्यै भन्नु भएन। तर म नाच्न थालेपछि उहाँको अनुहार अर्कै हुन्थ्यो। म बुझ्थेँ, बुबालाई मेरो क्रियाकलाप मन परेको छैन। नाचिरहने मेरा हलुङ्गा पैताला त्यहीँदेखि गह्रौँ भए। मैले नाच्न छोडिदिएँ। नाचिरहने मन भने आज पनि उस्तै छ।’
काव्यका बुबा खैँजडी भजन गाउँथे। दिदीहरु गीत गाउँथे। दाजुहरु मादल र बाँसुरी बजाउथेँ। बाल्यकालीन यही माहौलले काव्यलाई गायिका बन्ने सपना देख्ने बनायो। भन्छिन्, ‘दिदीहरुको स्वर असाध्यै राम्रो थियो। तर उनीहरुले गायनलाई सपना बनाएनन् अथवा बनाएर पनि भन्न सकेनन् मलाई थाहा छैन। तर, उनीहरुको आवाज पनि गायनमा आउनु पर्थ्यो भन्ने चाहिँ पछिसम्म लागिरहन्थ्यो।’
त्यतिबेला अहिलेजस्तो गाउँमा मेला महोत्सव हुँदैनथ्यो। गाउँमा टेलिभिजन थिएन। रेडियो आफ्नै तालिकामा गीत बजाउँथ्यो। रेडियोबाट गीत बज्न थालेपछि काव्य कागज बेरेर माइकको आकृति बनाउँथिन् र ऐनाअगाडि बसेर गीत गाउँथिन्।
‘मनमा सानैबाट गायनको छाप गडेर बसेको रहेछ,’ उनी भन्छिन्।
स्कुल जीवन सुरु भएसँगै काव्यको गायनको सपना झन् बलियो बन्दै गयो। स्कुलका हरेकजसो प्रतियोगितामा शिक्षकले उनलाई अघि सार्थे। उनी हरेकजसो गायन र नृत्य प्रतियोगितामा प्रथम हुन्थिन्। एसएलसी पास गर्दासम्म उनको मनमा गायन गहिरोसँग गडेर बसिसकेको थियो। संगीत सिक्नु र गीत गाउनु अहिलेजस्तो सजिलो थिएन। काठमाडौं आउन पनि सोचेजस्तो सजिलो थिएन।
काव्य एसएलसीपछि क्याम्पस पढ्न तौलिहवा आइन्। ‘कपिलवस्तु बहुमुखी क्याम्पस’मा पढ्दै गर्दा गाउँका आफन्त र क्याम्पसका शिक्षक सबैले गीत रेकर्ड गर्न सुझाव दिए। त्यही बेला काव्यको टिमले गाउँमा ‘माउन्ट एभरेस्ट युवा क्लब’ गठन गरे। यही क्लबमार्फत उनले गाउँमा सांस्कृतिक कार्यक्रम गरिन्। हरेक साँझ गाउँका केटाकेटी भेला पारेर बिनाशुल्क ट्युसन पढाइन्। उनलाई यो कार्यमा क्लबका साथीहरुले साथ दिए। आईए सक्ने बेलासम्म तौलिहवामा उनको चर्चा गायिकाका रुपमा राम्रैसँग चलिसकेको थियो।
काव्यले कलेजको कार्यक्रममा गीत गाइन्। त्यही कलेजमा म्यानेजमेन्ट पढाउँथे विपीन बिहारी मिश्रा। मिश्राले काव्यको स्वरमा एल्बम निकाल्ने सोच बनाए। कयौं दिन काव्य क्याम्पस जाने बाटोमा उनलाई चिन्छु कि भनेर हेरेर बसे। कलेज ड्रेसमा काव्यलाई चिन्न सकेनन्। एकदिन तौलिहवाकै एक स्थानीयसँग मिश्राले आफ्नो दुखेसो पोख्दै भने, ‘मेरी विद्यार्थी थिइन्। साह्रै मिठो गीत गाउँथिन्। यही कलेजमा पढ्छिन्। मैले चिन्नै सकिनँ।’
संयोगले काव्य तिनै स्थानीयको घरमा डेरा गरेर बस्थिन्। काव्य आईएको पढाइ सकेर गाउँ फर्किसकेकी थिइन्। मिश्रा एकदिन गीतको डायरी बोकेर काव्यको घरमै पुगे।
त्यसपछि काव्यले धर्मराज भुसाललाई भेटिन्। भुसाल काव्यका स्कुलका शिक्षक थिए। उनले गणितका सूत्रसँगै संगीतका धुन सिकाएका थिए। धर्मराजले मिश्राका ८ वटा गीतमा संगीत गरे। गीत रेकर्ड गर्न पनि अहिलेजस्तो सहज थिएन। गाउँमा स्टुडियो थिएन। काठमाडौंसँग कनेक्सन थिएन। गीत रेकर्डका लागि काठमाडौं आउने बेलामा गीतकार मिश्रा पछि हटे।
गायनमा सपना देखेर उड्न तयार आफ्नी चेली गीत रेकर्ड नभएर निराश होस्, धर्मराज चाहँदैनथे। धर्मराज आफैंले गीत लेखेर संगीत गरिदिए। काव्य संगीत भरिएका गीत बोकेर काठमाडौं आइन्। काठमाडौंमा उनका दाइ थिए चन्द्रप्रकाश आचार्य। उनलाई यो सहरमा बस्न समस्या भएन। समस्या थियो स्टुडियोको। स्टुडियो जाने बाटो न उनका दाजुलाई थाहा थियो, न उनी आफैंलाई। स्टुडियो खोज्न, काठमाडौंमा हिँड्न बानी पर्न समय लाग्यो। काठमाडौंमा पनि अहिलेजस्तो धेरै गीत रेकर्डिङ स्टुडियो थिएनन्। उनका गीत रेकर्ड हुन धर्मराज नै काठमाडौं आउनु पर्यो। त्यसपछि काव्यको स्वरमा ‘अतीत’ नामको एल्बम बजारमा आयो।
यो एल्बम रेकर्ड भएपछि उनलाई लाग्यो ‘मैले संगीत सिक्नु पर्छ।’ यसपछि काठमाडौं आएकी काव्य ताहाचल क्याम्पसमा बीए भर्ना भइन्। तर, संगीत कहाँ, कोसँग सिक्ने थाहा थिएन। संगीतको तिर्सना बोकेर उनले झण्डै २ वर्ष बिताइन्। गुरुकुल पुगिन्। गुरुदेव कामतसँग केही समय संगीत सिकिन्। संगीतको तिर्सनाले झन् धेरै सतायो। त्यसपछि चण्डिप्रसाद काफ्ले कहाँ पुगेकी काव्य अहिले पनि चण्डी गुरुसँग संगीत सिकिरहेकी छिन्।
काठमाडौं बसाइका सुरुवाती दिनमा गायन ठाउँ पाउन पनि मुस्किल थियो। केही गीतकारहरुले गीत दिन्छु भन्दै पैसा लिएर बेपत्ता भैदिए। संगीतकारहरु पत्याउँदैनथे। यही बीचमा उनको कर्ण चापागाईंको शब्द, श्रीकृष्ण बम मल्लको संगीतमा ‘चरीले गुँड छाडेर गयो’ बोलको गीत बजारमा आयो। काव्यको स्वरले केही स्रोता बनायो। त्यसपछि उनले ‘काव्य’नामको एल्मब बजारमा ल्याइन्।
गीत गाएर मात्रै काठमाडौंमा बाँच्न सक्ने अवस्था थिएन। उनले बाँच्नका लागि काठमाडौंका विभिन्न स्कुलमा संगीत शिक्षकका रुपमा काम गरिन्। यहाँ टिक्नका लागि उनले कहिले कार्पेट कारखानामा काम गरेकी छिन्। आफ्नालाई अभाव सुनाउन नसकेर कयौं दिन भोकै हिँडेकी छिन्। तर, उनी आफ्नो भोकको कथा बेच्न चाँहदिनन्। भन्छिन्, ‘काठमाडौं धेरैको सपनाको सहर हो। मजस्तै सपना देखेर आउने हरेकले आफ्नै खाले संघर्ष गरेका छन्। म पनि संघर्ष गरेर आएकी हुँ। मलाई मैले भोगेको जीवनको कुनै पनि कालखण्डसँग गुनासो छैन।’
हिजोआज उनले अनामनगरमा ‘फाइन ट्युन’ नामको गीत रेकर्डिङ स्टुडियो सञ्चालन गरेकी छिन्। उनको दैनिकी गीत संगीतमा बितिरहेको हुन्छ। गायन यात्राको यो दौरानमा उनका दाजु चन्द्रले सधैं हौसला दिए। उनले हौसला मात्रै दिएनन् ‘दाजु मलाई यो गीत रेकर्ड गर्न मन छ, यति पैसा पुगेन’ भनिसक्दा पैसा दिएर गायनमा अगाडि पनि बढाए। काव्य भन्छिन्, ‘सबै जनाको हौसला छ। तर मेरो जीवनबाट चन्द्र दाइलाई निकाल्ने हो भने म शून्य बराबर हुने छु।’
गीत/संगीत भनेर दौडिरहँदा जीवनका अन्य धेरै पाटा छुटे। उनलाई लिएर उनका बुबा–आमा चिन्ता गरिरहन्छन्, ‘हामी नहुँदा के गर्ली यसले।’ काव्यलाई भने पीर छ, ‘बुबाआमालाई सन्तोष दिन सकिनँ।’
फेरिपनि गीत/संगीतबाहिर रमाउन सक्ने उनको अर्को दुनियाँ छैन। भन्छिन्, ‘गीत/संगीत बाहिर रमाउन सक्दिनँ।’
Shares
प्रतिक्रिया