ad ad

कला


स्रोताले रुचाएका सिम्रन, जसले एक हप्तामै १४ गीत रेकर्ड गराइन्

स्रोताले रुचाएका सिम्रन, जसले एक हप्तामै १४ गीत रेकर्ड गराइन्

गायिका सिम्रन परियार


रासस
भदौ ७, २०८० बिहिबार १०:३९, गलकोट (बागलुङ)

गीत-सङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो- सिम्रन परियार। १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत रेकर्ड मात्र गराइनन्, अधिकांश गीतले चर्चा कमाएका छन्।

‘मुटुमै घाउ छ...’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन्। विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ। 

‘गायनसँगै पढाइलाई निरन्तरता दिन काठमाडौँबाट बागलुङ फर्केकी छु’, परियारले भनिन्, ‘विद्यालय र बागलुङ नगरपालिकाको सम्मानले थप उत्साहित भएकी छु, पढाइसँगै गायन क्षेत्रलाई अगाडि बढाउने उद्देश्य छ।’

 कक्षा ५ पढ्दादेखि नै गीत गाउन सुरु गरेको परियार बताउँछिन्। ‘विभिन्न सर्जकले गीत गाउने अवसर दिन थाल्नुभएको छ’, उनले भनिन्। परियारले भोजराज थापाको सहयोगमा गीत रेकर्ड गर्न सफल भएको बताइन्। केही दिनअघिसम्म गाउँघरमै सीमित उनको पहिलो  गीत नै चर्चामा छ। गायक प्रमोद खरेलसितको स्वरको ‘उसलाई पाउन २’ को गीत शुक्रबार मात्र सार्वजनिक भएको छ। 

सामाजिक सञ्जालमार्फत प्रतिभा बाहिर ल्याएर चर्चामा रहेकी गायिका परियारलाई गृह नगर बागलुङ नगरपालिकाले हालै रु ३० हजार नगदसहित सम्मान गरेको छ। उनी पहिलोपटक स्टेज शो कार्यक्रमसमेत गर्न सफल भएकी छन्। यही भदौ ५ गते दोस्रो हरेलो मेलामा परियारले आफ्नो गीत प्रस्तुत गरेकी थिइन्। उनको  स्वरलाई धेरै स्रोताले रुचाएका छन्। परियारका केही गीत सार्वजनिक हुन बाँकी छन्। 

परियारले ‘फूलथुङे रानी...’, ‘नाता टुट्यो पराइ भइगयो...’, ‘तिम्रो नै माया लाग्दछ साइँला...’, ‘फोटो फिरेममा...’, ‘फूलमया...’, ‘तीनपाते...’, ‘आफ्नो आफ्नो दुःख...’, ‘तिमीबिना कसले बुझ्छ र...’ बोलका गीत गाएकी छन्।

‘मलाई गीत गाउने पहिलो अवसर गायक सुनिल बीसीले दिनुभएको हो’, उनले भनिन्। गायक प्रमोद खरेलको गीत आफूलाई औधी मनपर्ने परियारको भनाइ छ। ‘खरेलसँगै गीत गाउने अवसर पाउँदा खुसी लागेको छ’, उनले भनिन्। खरेलले साङ्गीतिक शिक्षा लिन आग्रह गरेको परियारले सुनाइन्। गायनलाई निरन्तरता दिन प्रधानाध्यापक छविरमण रेग्मीले समेत परियारलाई सुझाव दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .