केहि समयअघि निर्माण घोषणा भएको फिल्म ‘कामिनो’ को छायांकन फिलिपिन्सबाट सुरु हुने भएको छ।
फिल्म खेल्नका लागि औपचारिक सम्झौता गरेका कलाकारले क्रमैसँग हात झिकेपछि फिल्मको छायांकन अन्यौलमा परेको थियो। अब भने अर्को साताबाट फिल्म छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ।
मेक्सिकोबाट फिल्म छायांकन सुरु गर्ने निर्माण टिमको तयारी थियो। तर, भिसा प्रकृया नमिलेपछि फिल्मको छायांकन फिलिपिन्सबाट गर्ने तयारी गरिएको हो।
फिल्म छायांकनका लागि निर्देशक दीपक वली र छायांकार सौरभ लामा फिलिपिन्स पुगिसकेका छन्।
फिल्मका अन्य कलाकार भने फिलिपिन्स जाने तयारीमा छन्। कलाकार पुग्नासाथ फिल्मको छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ।
फिल्मको शीर्ष भूमिकामा अनुबन्धित भएकी निती शाहले समयमा छायांकन सुरु नभएको भन्दै फिल्मबाट हात भिकेकी थिइन्।
नितीको ठाउँमा निर्माण टिमले आना शर्मालाई अनुबन्धित गरेको छ।
अब यो फिल्ममा आना र प्रदीप खड्काले स्क्रिन शेयर गर्दैछन्। यो प्रदीप र आनाको पहिलो सहकार्य हो।
आना र प्रदीपका साथमा कर्म शाक्य पनि फिल्मको शीर्ष भूमिकामा देखिने छन्।
चोर बाटोबाट अमेरिका पस्ने र यात्राको क्रममा आइपर्ने समस्यालाई फिल्म ‘कामिनो’ले उठान गर्ने छ।
Shares
प्रतिक्रिया