गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्ध प्रतिलिपि अधिकारको मुद्दा जितेका छन्। जिल्ला अदालत काठमाडौंले उनको पक्षमा फैसला गरेको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासले विन्ध्यवासिनीका सञ्चालक लिना शर्मा रेग्मी र सुवास रेग्मीलाई प्रतिलिपी अधिकार उल्लंघनको विषयमा दोषी ठहर गरेको हो। उनीहरूमाथि सजाय निर्धारणका लागि फेरि सुनुवाइ हुनेछ।
गायक खरेलले २०७७ सालमा आफूमा निहित प्रतिलिपी अधिकारको विन्ध्यवासिनी म्यूजिक प्रालिले दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए। त्यसका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो।
गायक खरेलले २०६७ सालमा ‘प्रणय’ नामक एल्बम विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको थियो। एल्बममा समावेश गीत तथा भिडियो निर्माणका लागि विन्ध्यवासिनी म्युजिकले प्रमोदलाई ४ लाख १० हजार रुपैयाँ नगद दिएको थियो।
एल्बमको सर्वाधिकार पाँच वर्षसम्मका विन्ध्यवासिनीसँग रहने दुईपक्षीय सहमति थियो।
विन्ध्यवासिनी म्युजिकले एल्बम बिक्री गरेर उक्त लगानी सुरक्षित गर्ने सम्झौतामा उल्लेख छ। सम्झौतामा लगानी सुरक्षित नभएसम्म एल्बमबाट आएको पैसामा प्रमोदले दाबी गर्न नपाउने लेखिएको छ।
सम्झौतापत्रअनुसार प्रमोद र विन्ध्यावासिनी म्युजिकबीचको सम्झौता २०७१ साल चैतमा सकिएको छ। त्यसपछि प्रमोदले कम्पनीका सञ्चालक सुवास रेग्मीसँग आफ्नो एल्बमको सर्वाधिकार माग गरेका थिए।
रेग्मीले प्रमोदको माग नसुनेको भन्दै विवाद सिर्जना भएको थियो।
अन्ततः यो विवादको किनारा लागेको छ। आफूले मुद्दा हारेपनि विन्ध्यवासिनीका सञ्चालक सुवास रेग्मीले गायक खरेललाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत् प्रमोदलाई बधाई दिदै रेग्मीले फैसलाको पूर्णपाठ पाएपछि थप कानुनी प्रक्रियामा जाने पनि बताएका छन्।
Shares
प्रतिक्रिया