ad ad

कला


नेपथ्यले क्यानाडाको क्यालगरीमा नचायो प्रवासी नेपालीलाई

नेपथ्यले क्यानाडाको  क्यालगरीमा नचायो प्रवासी नेपालीलाई

नेपालखबर
असोज १७, २०८० बुधबार १३:१२, काठमाडौँ

सहरको केन्द्रस्थित स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका विभिन्न भागबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थितिबीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट सम्पन्न भएको छ।

सन् २०२२ मा ‘जीवन्त सहर’ (ग्लोबल लिभेबिलिटी) का लागि विश्वभरमै तेश्रो अनि उत्तरी अमेरिकाकै पहिलो बनेको क्यालगरीमा अघिल्लो दिनबाटै नेपथ्य माहोल बनेको थियो। 

स्थानीय टेलिभिजन सीबीसी लगायतका सञ्चारमाध्यममा नेपाली गीत, नेपाली गायक र नेपाली प्रस्तोताका अभिव्यक्ति आएका थिए। 

आइतबार बेलुकी शो सुरुअगाडि त्यसैको निरन्तरतामा हल वरपर लामवद्ध दर्शक देखिए।

ती दर्शकहरु क्यालगरीसँगै अल्बर्टा राज्यकै एडमण्टन, लेथब्रिज, मेडिसिन ह्याट, ओकोटोक्स, क्यानमोर र ग्रेटनभ्याली लगायत सहर र बस्तीदेखि नेपथ्यलाई अनुभव गर्न जम्मा भएका थिए।

निर्धारित समयअनुसार बेलुकीको ठीक ७ बजे प्यालेस थिएटरमा नेपथ्यको पहिलो भेटस्वरुप ‘सा कर्णाली’ म्यूजिक भिडियो गुञ्जिन सुरु भयो। 

दर्शकहरुबाट चर्को स्वागतकैबीच मञ्चमा नेपथ्य टोली देखापरेपछि त्यस साँझको पहिलो प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ सुनाइएको थियो।

एक दशकअघि पूर्वी नेपालको पैदलयात्रा गर्दा गायक अमृत गुरुङले संखुवासभाको चैनपुरका डिल्ले दमाइबाट यो गीत संकलन गरेका थिए।

त्यसपछि कार्यक्रमलाई नेपथ्यकै चर्चित गीतहरु क्रमशः ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘खान्न म त लामपाते सुरती’ले निरन्तरता दिएको थियो।

कन्सर्ट हेर्न आएका दर्शकहरुको भीडमा परिचित गायिका मीना निरौला पनि थिइन्। छोटो समयमै नेपाली सिनेमा जगतलाई ‘ठमेल बजार’ र ‘काले दाइ’जस्ता गीतहरु दिएकी मीना पछिल्लो समय क्यानाडामै बसोबास गर्दै आएकी छिन्।

‘मलाई त तीज दशैंजस्ता चाडबाडका बेला माइती आए जस्तो लागिरहेको छ,’ मीनाले भनिन्, ‘मञ्चमा बसेर गाउने बानी छँदै थियो, आज दर्शकदीर्घामा बसेर चिच्याउँदा चिच्याउँदै स्वर नै गयो।’

गायक अमृतले त्यसपछि पनि ‘चरि मर्‍यो’, ‘जोमसोमे बजार’, ‘शीरफूल’ र लाहुरेहरुले ल्याएको ‘नैनाताल’जस्ता गीतहरु सुनाउँदै गए।

‘तपाईंहरुले विदेशमा कमाएको सीप, पैसा अनि तपाइहरुको मेहनतबाट मातृभूमि नेपाल पनि लाभान्वित हुनुपर्छ,’ सदाझैँ गीतको बीचमा सन्देश दिँदै गायक अमृतले भनेका थिए, ‘नेपालमा सडक आश्रितको आवाजलाई साथ दिने र मानवता प्रवर्द्धनको अभिप्रायले गत वर्षदेखि नेपथ्यले 'मानवताका लागि संगीत' अभियान अघि बढाउँदै आएको छ।’

उनले क्यानाडाको यो श्रृंखलावद्ध भ्रमण पनि उक्त उद्धेश्यमा समर्पित समभाव बोकेको मानवसेवा आश्रमको कामप्रति समर्पित रहेको जानकारी दिए।

नेपथ्यको कन्सर्ट हेर्न अल्बर्टा राज्यभन्दा परदेखि जम्मा भएका दर्शकमा २ हजार किलोमिटर लामो यात्रा गरेर उत्तर पश्चिमी राज्यको सहर येलो नाइफदेखि आइपुगेका मानिक दुगड पनि थिए।

‘क्यालगरीको हलमा नेपाली गीत गुञ्जिरहँदा उभिने ठाउँ पनि नभेटिनेगरि टनाटन दर्शक देखेर म त दङ्ग परेँ,’ ३७ वर्षदेखि क्यानाडामा बस्दै आएका मानिक भनिरहेका थिए, ‘नेपालीपन भरिएका प्रत्येक गीत कण्ठस्थै भएजसरी गाउँदै रमाएका विभिन्न उमेरका दर्शक देख्दा असाध्यै रमाइलो महशुस गर्न पाएँ।’ 

कन्सर्ट हेरेपछि यसका लागि आफुले गरेको लामो यात्रा सार्थक भएको अनुभूति पनि मानिकले सुनाए।

अर्कोतिर कन्सर्ट हेर्न एडमन्टनदेखि तीनघन्टा सवारी हाँकेर आएका वातावरण योजनाविद अच्यूत अधिकारी पनि थिए।

अच्यूतले अलबर्टा राज्यकै उक्त सहरबाट आफूजस्तै यात्रा गरेर करिब दुई सयजना क्यालगरी आइपुगेको उनको अड्कल थियो। 

‘कन्सर्ट अवधिभर नेपथ्यको गीतमार्फत् वाल्यकालको यात्रा फेरि गरेको जस्तो अनुभव भइरह्यो,’ अच्यूत भन्दै थिए, ‘दुई घन्टा बितेको पत्तै भएन।’

यो क्षणको अनुभवकालागि आफूहरुले लामो प्रतीक्षा गरेको जानकारी पनि उनले दिए।

दर्शकदीर्घामै क्यानाडामा पुनर्स्थापित झापाको बेलडाँगी शिबिरमा जन्मे हुर्केका भुटानी शरणार्थी विकास रसाइली पनि उपस्थित थिए।

नेपाल रहँदैको प्रिय ब्याण्ड नेपथ्य अनुभव गर्ने हिसाबले मात्र नभइ क्यानाडामै रहेको नेपाली भाषी समुदायसँग पनि नजिकिन यो अवसर सहयोगी हुनपुगेको प्रतिक्रिया विकासले दिए।

कन्सर्टको अन्त्यतिर भने सदाझैँ सर्वकालीक हिट ‘रेशम’, ‘तालको पानी’ र अन्त्यमा राष्ट्रिय झण्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसूर्जे’ सुनाइएको थियो।

‘नेपथ्यलाई यसरी क्यालगरीमा उभ्याउन पाएकोमा असाध्यै भाग्यमानी महशुस गरिरहेका छौँ,’ स्थानीय आयोजक टोलीका जगदीश कँडेलको प्रतिक्रिया थियो, ‘यहाँको नेपाली समुदायबाट नेपथ्यले पाएको माया र सद्भावबाट हामीपनि उत्साहित छौँ ’
       
कन्सर्टमा अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

क्यालगरीको कन्सर्ट सम्पन्न भएपछि अब ब्याण्डले ४ तारिख अर्थात् बुधबार भ्यानकुभर सहरको ‘दी भोग थिएटर’मा आफुलाई उभ्याउँदैछ। त्यसपछि अन्तिम शो ८ तारिख आइतबारका दिन मुलुककै पूर्ववर्ती ब्यापारिक सहर टोरन्टोस्थित क्यानाडाकै बिख्यात सभागृह ‘म्यासी हल’मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .