बचपनलाई पछाडि छोडेर आएको निकै भयो होला है? अब त बर्खे या हिउँदे बिदा पनि त पाइँदैन। वर्षको लामो बिदा भनेकै दसैँ बिदा त होला। दसैँ बिदामा परिवारसँग समय बिताउनु कि, नयाँ-नयाँ ठाउँ घुम्नु कि, तास खेल्नु कि, किताब पढ्नु कि, मीठोमीठो खानु-खुवाउनु कि? के के मात्र गर्नु? खैर, समय मिलाएर सबै गर्नु ठीक। तर, एउटा छुटाउनै नहुने कुरा भनेको रमाइलो गर्नु हो! अझ त्यही रमाइलोमा संसारका अनेक कुनाका, अनेक युगका मान्छे चिन्न पनि पाइए त सुनमा सुगन्ध!
त्यसैले, आज म तपाईंहरूलाई मैले हेरेमध्येका सुन्दर ३ बायोपिक सिफारिस गर्न चाहन्छु, जसले तपाईंलाई १९औं शताब्दीतिरका केही हस्तीहरूसँग परिचित गराउँछन्। आउनुस्, सुरु गरौँ।
१. अ ब्युटिफुल माइन्ड
रोन हवार्ड निर्देशित सन् २००१ को यो बायोपिकले १९औं शताब्दीका चिरपरिचित म्याथम्याटिसियन जोन न्यासको कथा भन्छ। नोबेल पुरस्कार विजेता न्यासले सिजोफ्रेनियाजस्तो डरलाग्दो रोगसँग लड्दालड्दै पनि कसरी आफ्नै मौलिक सिद्धान्त विकास गर्न सके भन्नेबारे 'अ ब्युटिफुल माइन्ड'ले बताउँछ। उनको प्रेम सम्बन्ध, उनको मित्रता, उनको पेसा, सिक्रेट मिसन, उनको विवाह, घरजम र रोगसँगको कष्टपूर्ण लडाइँलाई फिल्मले थोरै सस्पेन्सफुल, थोरै थ्रिलिङ र थोरै रोमान्टिक तौरमा पस्किएको छ।
अर्थशास्त्रअन्तर्गत उनले गेम थ्योरीमा उल्लेख्य योगदान दिएको मानिन्छ। न्यास इक्विलिब्रियम थ्योरी र न्यास इम्बेड्डिङ थ्योरमजस्ता सिद्धान्तका लागि प्रख्यात उनको भूमिकामा रसेल क्रोको अभिनय सानदार लाग्छ।
बेस्ट पिक्चर, बेस्ट डिरेक्टर, बेस्ट अडाप्टेड स्क्रिनप्ले र बेस्ट सपोर्टिङ याक्ट्रेस गरी चार अस्कर अवार्ड जित्न सफल यो फिल्म हेरेपछि अवश्य भन्नुहोला जोन नासको माइन्ड वास्तवमै ब्युटिफुल हो कि स्क्यारी?
२. थ्योरी अफ एव्रिथिङ
थ्योरी अफ एव्रिथिङ कसलाई थाहा नहोला र? त्यसोभए, स्टिफन हकिङ पनि त पक्कै चिन्नुहुन्छ। तर, उनको जीवनमाथि बनेको यो फिल्म हेर्नुभएको छ कि छैन? हेर्नुभएको छ भने दोहोर्याउनुभएको छ कि छैन?
वास्तवमै, एडी रेडमेनले हकिङको चरित्रलाई यसरी निभाएका छन् कि पहिलोपटक तपाईं दर्शक भएर हकिङलाई हेर्नुहुन्छ र त्यसपछि डिटेक्टिभ भएर हकिङमा हराएका रेडमेनलाई खोज्न भनी हेर्नुहुनेछ। भेट्नुहुन्छ भेट्नुहुन्न, हेरेपछि भन्नुहोला।
स्टेफेन हकिङको जीवनमाथि बनेको फिल्म हो त्यसैले कथा केबारे हो धेरै भन्न जरुरी ठानिनँ। यत्ति भनौँ कि जेम्स मार्स निर्देशित यो फिल्म हेरेर हकिङ स्वयं रोएका थिए र उनले यसमा आफ्नो कम्प्युटर भोइस प्रयोग गर्न अनुमति समेत दिएका थिए।
३. फ्रिडा
गणित र विज्ञानका कुरा पनि कति गर्नु? आउनुस् अब आर्टको कुरा गरौँ।
तपाईं कलाप्रेमी हो भने फ्रिडा काह्लोको नाम त सुन्नुभएकै होला। त्यसोभए उनको जीवनमाथि बनेको बायोपिक 'फ्रिडा' पनि त हेर्नुभएकै होला। छैन भने पनि अब त पक्कै हेर्नुहुनेछ।
फ्रिडालाई मास्टर अफ सेल्फ पोर्ट्रेटका रूपमा संसारले चिन्छ। सेल्फ पोर्ट्रेटलाई सर्रियालिजमसँग जोडेर चित्र बनाउनु उनको विशेषता थियो। तर, यति नै कारण उनीमाथि किताब लेखिएको वा फिल्म बनेको पक्कै होइन।
जन्मिँदै स्पिना बिफिडासहित जन्मिएकी उनलाई ६ वर्षकै उमेरमा पोलियो भयो र १८ वर्षको कलकलाउँदो उमेरमा त भयंकर बस दुर्घटनामा परेर उनको शरीरका हड्डीहरू ठाउँठाउँ भाँचिए। प्राय मानिसको जीवनमा यस्तो घटनापछि पूर्णविराम लाग्छ तर उनको भने बल्ल आरम्भ हुन्छ।
आफूभन्दा २० वर्ष पाको त्यस समयका प्रख्यात मुरल आर्टिस्ट दियगो रिभेरासँग उनको प्रेम, सम्बन्ध, विवाह, डिभोर्स र पुनर्विवाहको किस्सा फिल्ममा समेटिएको छ। उनको जीवनको उतारचढाव, मनस्थितिको उथलपुथललाई निर्देशक जुली तेमोरले अभिनेत्री सलमा हायकबाट यसरी निकालेकी छन् कि फ्रिडाका सेल्फ पोर्ट्रेट देखेका दर्शकलाई समेत हायक नै फ्रिडा हुन् भनेर विश्वास गर्न मन भइदिन्छ।
Shares
प्रतिक्रिया