ad ad

समाज


नख्खुको उर्लँदो भेलमा हेलिएर चनिकलालले ४ मिनेटमै गरे राज र मेघनाको उद्धार

प्रहरीले मानिस बग्दै गरेको देख्यो, खोलामा पस्न सकेन
नख्खुको उर्लँदो भेलमा हेलिएर चनिकलालले ४ मिनेटमै गरे राज र मेघनाको उद्धार

सागर न्यौपाने
असोज १२, २०८१ शनिबार १७:११, ललितपुर

शनिबार बिहान।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण ललितपुरको नख्खुखोलामा भीषण बाढी आएको हेर्न काभ्रे तेमालका चनिकलाल तामाङ श्रीमती र छोरी लिएर निस्किए।

बिहान ७ बजेतिर निस्किएका उनी केही समय नख्खुखोलाको आसपास घुम्दै थिए।

त्यस्तै ८ बजेतिर हुनुपर्छ, श्रीमतीले खोलाबाट बग्दै आइरहेको मान्छेलाई देखाउँदै आफ्नै मातृभाषामा भनिन्– नानीको बाबा, नि ध्योङसी खाजिम। अर्थात, नानीको बाबा, ऊ मान्छे बगाएर ल्यायो।

श्रीमती उर्लिमाया स्याङ्तानले भन्नेबित्तिकै चनिकलाल उर्लँदो नख्खुभेलमा हाम फाले। 

२०३८ सालको जस्तै नख्खुखोला रिसाएर उर्लिरहेको थियो। किनभने यस्तो भेल यसअघि २०३८ सालमा मात्र देखिएको स्थानीय बताउँछन्। पुल र आसपासका घरहरू बगाउँदै रिसाएको नख्खुखोलाको उच्च बहावमा चनिकलाल हाम फाले। दुई झट्कामै भेलमा बगाउँदै ल्याएका व्यक्तिसम्म पुगे।

‘खोला निकै पावरफुल थियो। दुईपटक हात झट्का लगाएपछि बगाउँदै गरेका व्यक्तिको हात समाउन सफल भएँ। एक पुरुषले बेस्सरी बच्चालाई च्यापेका थिए,’ चनिकलाल तामाङले नेपालखबरसँग भने, ‘लगभग चार मिनेटमा खोलाबाहिर किनारामा ल्याउन सफल भएँ।’

उनका अनुसार, बालिकाले धेरै पानी खाएकी रहिछन्। त्यहाँ भेला भएका अन्य मानिसहरूले पेटमा थिचेर पानी निकाल्न सहयोग गरे।

‘पानी निकाल्नेबित्तिकै नानी चिच्याउँदै बाबा खै भनेर सोधिन्,’ तामाङले थपे, ‘पुरुषले पनि चक्कर लागेको बताए।’

जहाँबाट उनले दुई जनाको उद्धार गरेका थिए, त्योभन्दा ५ सय मिटर माथि रहेको जस्ताको टहराबाट चार जनालाई बाढीले बगाएको रहेछ। चार जनामध्ये एकजना बालिका बेपत्ता छिन्। अर्को एकजनालाई अलि तलबाट उद्धार गरिएको छ। तलबाट उद्धार भएका व्यक्ति नै ती बालिकाका बुवा रहेछन्।

उद्धारका क्रममा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) अशोक सिंह पनि त्यहीँ आइपुगे। चनिकलालले दुईजनाको उद्धार गरेपछि सिंह आफ्नो गाडी ल्याएर आए। सुरुमा सिंहले आफ्नै गाडीमा नजिकैको मेडिसिटी अस्पतालतर्फ लगे। तर, बाढीकै कारण बाटो बन्द थियो। त्यहाँबाट फर्काएर पाटन अस्पताल पुर्‍याए।

डीआईजी सिंह भन्छन्, ‘पाटन अस्पतालको ड्युटीमा रहेका प्रहरीलाई भनेर इमर्जेन्सीमा भर्ना गरियो। उपचार भइरहेको छ। अहिले खतरामुक्त रहेको जानकारी पाएका छौँ।’

हेर्नुहोस् भिडिओ :

प्रहरीले मानिस बग्दै गरेको देख्यो, खोलामा पस्न सकेन
नख्खुखोलामा बाढी आएपछि शुक्रबार बेलुका नै प्रहरीले खोला आसपासमा नबस्न चेतावनी दिएको थियो। त्यसैले प्रायःले ठाउँ छाडिसकेका थिए।

बिहान वर्षा झन् बढ्यो। ६ बजेपछि बाढी बढ्न थालेपछि खोलानजिकको टहरो बाढीले घेरियो। दुईतिर खोलाको बाढी आएपछि चारजना आत्तिए। गुहार मागे पनि खोलाको चर्को आवाजले कसैले सुन्न सकेनन्। अनि जस्तामाथि चढेर हात हल्लाए।

जीवन पोखरेलले भिडियो कैद गरे। 

तत्काल प्रहरीलाई खबर भयो। प्रहरी पनि पुग्यो। तर उर्लँदो खोलामा पस्ने आँट प्रहरीले गर्न सकेन। 

प्रहरीले हेर्दाहेर्दै चारजनालाई नख्खुले टहरोसहित बगायो।

‘त्यो दृश्य देखेर पनि प्रहरीले उद्धार गर्न सकेको रहेनछ,’ चनिकलाल भन्छन्, ‘मैले त मान्छे बग्दै आएको श्रीमतीले भनेपछि मात्र थाहा पाएको हुँ, अनि तत्कालै लुगैसहित खोलामा होमिएँ।’ 

उनका अनुसार, बग्ने सबै ग्रिल कारखानामा काम गर्ने मजदुर हुन्। उनीहरूको घर रौतहट भन्ने खुलेको छ।

उद्धार गरिएका राजु साह, राज साह र मेघना साहको पाटन अस्पतालमा उपचार भइरहेको छ। तीनै जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। 

सेतु साह बेपत्ता छिन्। 

राजु र राज दाजुभाइ हुन्। मेघना र सेतु दुवै राजुका छोरी हुन्।

प्रहरीले भने उद्धार गरिएका व्यक्तिलाई उद्धृत गर्दै त्यही ठाउँबाट अर्का एकजना ओखलढुंगाका देवराज कार्की बेपत्ता रहेको बताएको छ।

अस्पतालमा उपचाररत साह परिवार

सुनकोसीमा पौडी खेल्थे चनिकलाल
३६ वर्षका चनिकलाल काभ्रेको तिमाल गाउँमै हुर्किए। सुनकोसी नदीमा पौडी खेलिरहेकाले नख्खु खोलामा हाम फाल्ने आँट आएको उनले बताए।

‘सुनकोसी त ठूलै हुन्छ, त्यसमा पौडी खेलिरहने भएकोले पनि मलाई आँट आएको हो,’ उनले सुनाए, ‘आज बगेकामध्ये मैले उद्धार गरेका दुईजना मात्र हो।’

२ वर्ष दुबई बसे
चनिकलाल २ वर्ष दुबई बसेर नेपाल फर्किएका हुन्। त्यसपछि उनी केही समय भक्तपुरमा बसे। पाँच महिनाअघि मात्र ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित सुगम बस्ती बस्न थालेको बताउँछन्।

अहिले उनी घरमा रङ लगाउने काम गर्छन्।

यस्तो दैवीप्रकोप हुँदा संघीय राजधानी काठमाडौँ उपत्यकामा सबैभन्दा छिटो उद्धार हुनुपर्ने हो। तर, यही राजधानीमा नख्खुखोलाले घेरिएको टहरोको छतबाट एक घण्टासम्म गुहार माग्दा पनि उद्धार नपाएर एउटा बालिका बेपत्ता भएकी छन्।

बरु सुगम बस्ती टोल सुधार समितिका अध्यक्ष पूर्ण केसी पछि उद्धार गर्न पुगेका थिए। १४ वर्षदेखि यस क्षेत्रमा बसिरहेका उनी बिहानैदेखि स्थानीयलाई सुरक्षित स्थानमा राख्ने कार्यमा थिए।

जब नख्खुखोलाले बगाएकाको उद्धार भएको सूचना पाए, अनि उनले सामाजिक सञ्जालबाट त्यसको जानकारी दिए। आफूले अस्पताल लैजान सहयोग गरेको उनी बताउँछन्।

‘चनिकलालजीले खोलामा हामफाल्ने साहस गर्नुभयो,’ केसीले भने, ‘बग्दै गरेका मानिसको ज्यान जोगाउन सफल हुनुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .