पोखराले के देखेन र सुनेन होला? बाटुलेचौरका गन्धर्वको मुखबाट ‘कर्खा’ सुन्यो। लाहुरबाट फर्केकाहरुबाट इन्डिया, मलाया, बु्रनाइ, सिंगापुरका कथाहरु सुन्यो। पितासँगै हङकङ, ब्रुनाइ र सिंगापुर पुगेका दौंतरीबाट गितारका ‘कर्ड’ र ड्रमसेटका तालहरु पनि सिक्यो।
अंग्रेजी गीत र संगीतमा झुम्ने त्यस्तै लाहुरेका छोराहरुको संगतले नै हुनुपर्छ, पोखराले पप, रक र हेभीमेटलमा झुम्ने पुस्ता नै तयार गर्यो। अनि त के थियो? पोखरामा कयौं ब्यान्डहरु जन्मिए। स्कूल पढ्दाताकै जन्मिएका तीमध्ये केही चम्किए, रहरले गितार समाउनेमध्ये केही भने कालान्तरमा ‘असल स्रोता’मा दरिए।
त्यसरी चम्किनेमध्ये अंग्रपंक्तिमा आउने ब्यान्ड हो–नेपथ्य। लोकगीतमा पप र रक संगीतको ‘फ्यूजन’ गरिएका नेपथ्यका गीतहरु अचाक्ली चले÷चलिरहेका छन्। नेपथ्य ‘मानक’ बनेपछि यहाँका अन्य युवाले पनि त्यो शैली पच्छ्याए। र, त्यसमध्ये एक थियो–कन्दरा।
बृहत नेपाली शब्दकोषले ‘पहाडको पहराहुँदो ओत लाग्न मिल्ने किसिमले निर्मित प्राकृतिक गुफा, ओडार वा सुरुङ। पहाडी प्रदेशको साँघुरो उपत्यका, साँघुरो बेंसी’लाई कन्दरा भनेर अथ्र्याएको छ। गीत–संगीतको ओत लाग्न खोजेका ठिटाहरुले यो नाम कसरी जुराए कुन्नि? तर, कन्दरा साँघुरिन परेन।
उसले सन् १९९५ मा निकालेको पहिलो एल्बम ‘चन्चले कान्छी’ बाटै आफूलाई संगीतको विशाल फाँटमा पु¥यायो।यो एल्वमको शीर्षगीत ‘चन्चले कान्छी’ चल्नु चल्यो। गायक थिए– विवेक श्रेष्ठ। पोखराको बाराही स्कूलमा पढ्दाताकाकै साथी सुनिल थापासहितको यो ब्यान्डले त्यसपछि लगातार उत्कृष्ट गीतहरु पस्क्यो।
पछिल्लो समय कन्दरा ब्यान्डको व्यवस्थापकीय जिम्मेवारी सम्हालेको ‘आदि’ समूहको भनाइ सापट लिने हो भने, १९९६ मा ‘डाँडापारि’ एल्वमको ‘लेककी हे माया’, ‘तिमीपारी’ र ‘विदेशिएर गइन उनी’ गीतले माया, प्रेम र वियोगको विम्ब स्रोताको दिलमा सजाइ दियो। १९९८ मा ‘हङकङ पोखरा’ एल्वमको टाइटल गीत ‘हङकङ पोखरा’ ले भौगोलिक रूपमा कन्दरा पोखरामा मात्रै नभएर प्रवासी नेपालीहरू समक्ष आफ्नो ब्यान्ड भएर दरियो। सन् २००६ मा ‘वर्षौंपछि’ एल्वमको ‘तगारोमा रुमाल राखी’ गीतले लोकपपको स्वादलाई साँदेको गुन्द्रुकको अचारजस्तै ट्वाक्क जनजिब्रोमा झुण्डिने बनायो।
‘हङकङ पोखरा’ का सर्जक वरिष्ठ साहित्यकार सरुभक्त थिए। भइदियो कस्तो भने, यो ब्यान्डका मुख्य गायक विवेकलाई पनि सोही गीतको ‘अन्तरा’जस्तै विदेसिने बाध्यताले गाँज्यो। उनी विदेसिए।
‘सरुभक्त दाइले भवितव्यको अन्दाज लगाएर हो या के हो, त्यस्तो शब्द कोरिदिनुभयो, म आफैं विदेसिन बाध्य भएँ,’ विवेक फुस्फुसाए। बीचमा उनले आधुनिक गीतको ‘उत्सव’ नामक एकल एल्बम निकाले। ‘वर्षौंपछि’ भन्ने एल्बम बजारमा आएको ९ वर्षपछि कन्दराको पाँचौं एल्बम ‘भेडीगोठैमा’ निस्क्यो।
त्यसपछि कन्दराका सदस्यहरुबीच पनि धेरै कुरा भयो। ब्यान्ड लथालिङ्गजस्तै भयो। त्यसो त, विदेसिएका विवेककै जीवन पनि लयवद्ध भएन। भला, यो उनको व्यक्तिगत कुरा भयो। तर, उनले गीतप्रतिको लगाव छाडेनन्।
संगीतकार तथा ब्यान्डका सदस्य सुनिल थापाकै भनाइमा उनी स्वयंलाई पनि ‘विवेक’ चिन्न समय लाग्यो।
‘अहिले बजारमा असली चिज पाउन गाह्रो, विवेकलाई चिन्न मलाई पनि समय लाग्यो, जब मैले उसलाई चिनेँ, ऊ सक्कली हो भन्ने लाग्यो,’ उनले ब्यान्डका सदस्यहरुबीचको मनमुटावलाई सांकेतिक रुपमा व्यक्त गरे।
अहिले कन्दराका ‘मियो’ अर्थात् विवेक नेपालमै छन्। उनी पुनः आफू र ब्यान्डलाई मुर्झाउने अभियानमा जुटेका छन्। यो अभियानकै सिलसिलामा कन्दराले ब्यान्डको पुनर्संरचना गर्दै गायक विवेक श्रेष्ठ र सङ्गीत संयोजक सुनिल थापासँगै नेपालमा पहिलोपटक जिप्सीज्याज म्युजिक गुञ्जयमान गराएका हरि महर्जनलाई गितारको जिम्मेवारी सुम्पेको छ। युवा माझ चर्चित गितारवादक देव लामा, बेस गितारमा पङ्कज झा, ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनलाई समावेश गरिएको छ।
यो सबै कामको जिम्मेवारी चाहिँ आदि आदि ग्र्रुप प्रालिका मुखिया आशिष पराजुलीले सम्हालेका छन्। आशिष लामो समयदेखि सांगीतिक कार्यक्रम व्यवस्थापनको काम गर्दै आइरहेका युवा हुन्। उनले कन्दरालाई नयाँ सिर्जनाको लागि वातावरण सिर्जना गर्नेदेखि देश–विदेशसम्मको सांगीतिक यात्रामा निकाल्ने योजना बुनेका छन्।
‘७ वर्ष अगाडिदेखि नै म कन्दरासँगै छु। कन्दराको सम्भावना अझै रहेकाले सम्पूर्ण व्यवस्थापकीय पाटोलाई आदि गु्रपले सम्हाल्नेछ। नेपथ्यको नेपालयजस्तो भूमिका कन्दराका लागि हामीले प्रवाह गर्नेछौं। कन्दरा भनेकै आदि गु्रप र आदि गु्रप भनेकै कन्दरा हो,’ उनले भनेका छन्।
उनका अनुसार यही अभियानको सुरुवात पोखराबाटै हुँदैछ। ‘घर आउँदै कन्दरा’ उद्घोषसहित ब्यान्डले आउँदो मंसिर १६ गते पोखरामा सांगीतिक कार्यक्रम गर्ने भएको छ। र, यो अभियानलाई पोखराका विभिन्न पर्यटनसँग सम्बन्धित व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद्ले सघाउँदैछ।
पोखराबाट पहिले घरदेश अनि परदेश, ‘घरदेश घुमौँ पर्यटनको प्रवद्र्धन गरौँ’ भन्ने मूल उद्घोषका साथ देशका सातै प्रदेश र मुख्य सहरमा सांगीतिक कार्यक्रम गरी राजधानी काठमाडौँमा कन्दरा सांगीतिक क्रियात्मक अभियानको मैजारो हुने गरी सांगीतिक यात्रा तय गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिएका छन्। त्यसपछि भने कन्दराले संसारभर पखेटा फिजाउने लक्ष्य लिएको छ।
पोखराको माटोमा जग र जरा गाडेको कन्दरा व्याण्डलाई सिर्जनामा होमिएको कन्दराले यहीबीचमा रेडियो नेपालले ५ वटा गीतहरूको ‘वान टेक रेकर्डिङ र सुटिङ’ गरेको छ। त्यही उपक्रममा सिर्जित गीतकार आनन्द अधिकारीको शब्द रचना रहेको ‘विचरा म’ आगामी शुक्रबार सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। आदि ग्रुपले आफ्नै शब्दमा सङ्गीत सिर्जना गर्दै, स्थापित स्रष्टाका शब्दलाई धुन भर्दै हृदयका आवाज बुलन्द गरी स्रोताको मन जित्नुलाई कन्दराको विशेषताको रुपमा अथ्र्याएको छ।
‘लोकपप शैलीमा रमणीय प्राकृतिक परिवेशको चित्रण, माया पिरतीका भाका, मानिसका विवशता, देशप्रेमको भावनाले ओतप्रोत भएका गीतहरु गाउनु कन्दरा व्याण्डको मौलिक स्वाद हो,’ आदि समूहले शुक्रबार पोखराका संचारकर्मीमाझ भनेको छ, ‘कन्दराले गितारको झङ्कार झङ्क्रित गरेको बेला जन्मिएको बच्चा आज युवा भएर कन्दराकै लोकपप शैलीका गीत/सङ्गीतलाई सुसेल्ने भइसकेको छ।’
Shares
प्रतिक्रिया