भारतको चेन्नई लगायत सहरमा चक्रवात मिचोङले ठूलो क्षति पुर्याएको छ। भारी वर्षा हुँदा अहिले सिंगो सहर पानीले जलमग्न बनेको छ।
यसैबीच बलिउड अभिनेता आमिर खान बाढीमा फसेको खबर बाहिरिएको छ। उनी २४ घण्टासम्म फसेर उद्धार गरिएको भारतीय सञ्जालमाध्यमले उल्लेख गरेका छन्।
आमिरसहित तमिल अभिनेता विष्णु विशाल पनि चेन्नईको बाढीमा फसेका थिए। विशालले आफूसहित आमिरको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्।
जहाँ आमिर उद्धार डुङ्गामा देखिएका छन्। उनीहरु दुवैलाई २४ घण्टापछि फायर एण्ड रेस्क्यु डिपार्टमेन्टले सकुशल उद्धार गरेको थियो।
विशालले एक्समा तस्बिर सेयर गर्दै सहयोग गरेकोमा अग्नि तथा उद्धार विभागलाई धन्यवाद समेत दिएका छन्।
विशालका अनुसार आमिरले वर्षाका कारण पानी, बिजुली र नेट्वर्कको समस्या झेल्नुपरेको थियो।
साउथ अभिनेता विष्णु विशालले पनि बाढीका कारण आफ्नो घर डुबेको सामाजिक सञ्जालमा बताएका थिए। त्यसपछि सरकारले तत्काल उद्धार टोली पठाएको थियो।
Shares
प्रतिक्रिया