कुनै फिल्म मन परेन भने किन मन परेन भन्न सजिलो हुन्छ। तर, मन पर्यो भने किन मन पर्यो? मन परेकै त हो? कहिलेसम्मलाई? अनेक प्रश्न मनभित्रै जन्मिसक्छन्। फिल्म हेरेको हप्ता दिन बढी भइसक्दा बल्ल यसमाथि केही लेखूँ भनेर बसेकी छु। यसअघि, र्युसुके हामागुचीको 'ड्राइभ माइ कार'माथि लेख्न बस्न मैले वर्ष दिनभन्दा ज्यादा समय लिएकी थिएँ। खैर, अहिलेलाई भने बाह्रवीं फेल उर्फ ट्वेल्थ फेलकै कुरा गरौँ।
राजकुमार हिरानी निर्देशित लगे रहो मुन्ना भाइ, थ्री इडियट्सजस्ता फिल्मको पटकथा लेखनमा आबद्ध रहिसकेका ७१ वर्षीय फिल्ममेकर विधु विनोद चोपडा ती दुवै फिल्मका निर्मातासमेत हुन्। त्यसो त उनी आफैले दर्जन बढी फिल्म निर्देशन गरिसकेका छन् भने झण्डै दुई दर्जन फिल्म निर्माण गरिसकेका छन्।
एकादुईलाई छोडेर आफ्नो निर्माणका लगभग सबै फिल्मको पटकथा लेखनमा पनि उनले काम गरिसकेका छन्। ट्वेल्थ फेलमा पनि चोपडाले सोही नामको बायोग्राफिकल उपन्यासका लेखक अनुराग पाठकसँगको सहकार्यमा पटकथा लेख्ने काम गरेका हुन्। यद्यपि, निर्देशनको हकमा भने मैदानमा उनी एक्लै उत्रिएका हुन्। जसकारण यस फिल्मको चर्चा गर्दै गर्दा हामी उनलाई लेखकभन्दा पनि निर्देशकको रूपमा हेर्नेछौँ।
गत २७ अक्टुबरमा भारतीय सिनेमा हलमा प्रदर्शनमा आएको यो फिल्म हाल युट्युबमा पनि उपलब्ध छ। युट्युबमा उप्लब्ध भइसकेपछि नेपाली सिनेप्रेमीहरूबीच यसको चर्चा यसरी भइरहेको छ, मानौँ यो फिल्म नेपालमा पनि बिग स्क्रिनमै चलिरहेको होस्! त्यसो त ट्वेल्थ फेलमाथि लेख्न बाँकी के होला र? तर पनि, मनको खसखस बिसाउने निर्णय मैले ढिलै भए पनि गरेँ। आउनुस्, यो निर्णयलाई अब भने अविलम्ब कार्यान्वयन गरौँ।
ट्वेल्थ फेल एउटा बायोपिक हो। कुनै समय चिट चोर्न नपाएकै कारण १२ कक्षामा फेल भएको चम्बलको बिलगावँ निवासी मनोजकुमार शर्मा आखिरमा कसरी भारतीय प्रहरी (आईपीएस) अफिसर बने? सत्य घटनामा आधारित सच्चा पात्रको कहानीमा बनेको फिल्म हो यो।
नेपालमा लोकसेवा आयोगका लागि जसरी तयारी गर्छन् विद्यार्थीहरू त्योभन्दा अझै कडा प्रतिस्पर्धाका बीच भारतमा संघ लोकसेवा आयोग अर्थात् यूपीएससीका लागि तयारी गरिन्छ। तर, एउटा पिछडिएको गाउँले केटो मनोजलाई यूपीएससी त के आईपीएसको आईबारे समेत केही थाहा छैन। हुन पनि चेतनाको गरिबी धनराशिको गरिबीभन्दा नाजुक हुन्छ। चिट चोर्नु हुँदैन, मिहेनत गरेर पढ्नुपर्छ भन्ने सामान्य चेतना समेत नभएको गाउँबाट दोस्रो प्रयासमा जसोतसो १२ पास गरेर मनोज प्रहरी बन्न भनेर सहर छिर्छ।
कति सत्य?
साँच्चै प्रितम पाण्डे नभेटिन्थ्यो त प्रहरी बन्न कुन परीक्षाका लागि कसरी तयारी गर्नुपर्छ मनोजलाई कसले सिकाउँथ्यो? कहिले सिकाउँथ्यो? सहर आइपुग्दासम्म धनमाल लुटिएर निर्धन र लाचार भएको ऊ ज्यान पाल्ने संघर्षमा तल्लीन भई प्रहरी बन्ने सपनालाई अर्को जुनीका लागि थाती पो राख्थ्यो कि? जे होस्, फलामलाई तातैमा पिटिए मात्र आकार लिनसक्छ। धन्न, मनोज तात्तातै ग्वालियरबाट दिल्ली पुग्यो।
यहाँनेर के बुझ्न जरुरी छ भने यो बायोपिक सिनेमा हो। अढाई घण्टाभित्र कसैको जीवनलाई हुबहु उतार्न सकिएला? मलाई यसप्रति शंका छ। तर, पात्रले आफ्नो जीवन र संघर्षको दौरान भोगेका अनुभव, त्यसबाट गरेका अनुभूति, सिकेका पाठ इत्यादिलाई थोरै माझेर, ताछेर वा तिखारेर देखाउनु फिल्मको चतुर्याइँ र उदेश्य दुवै हुन्। किनभने, आखिरमा घटना के घट्यो भन्ने प्रश्नभन्दा महत्त्वपूर्ण प्रश्न हो त्यसबाट के शिक्षा लिइयो। र त्यही शिक्षा यसरी पस्कनुभन्दा उसरी पस्कनु प्रभावकारी हुन्छ भन्ने लागेमा कसैले किन पो त्यसरी नपस्केला?
यसलाई अझै प्रस्टसँग यसरी बुझौँ। होला ग्वालियर पुगेको तेस्रो दिन नै मनोजले प्रितम पाण्डे भेटेको नहुन सक्छ। त्यो ३ दिन, ३ हप्ता वा ३ महिना हुन सक्ला। तर, उसको प्रहरी बन्ने सपनाको आगो नसेलाउँदै भने भेटेको हुनसक्छ। र, उसले पाण्डे नै नभेटेर अरू कसैलाई पनि भेटेको हुनसक्छ। आखिर पाण्डे एउटा माध्यम न हो जसले मनोजलाई आफ्नो सपना पछ्याउने बाटो देखायो। दिल्ली पुगेर पाण्डे र मनोज हुनसक्छ छुटे होलान्।
तर, उसको जीवनमा अर्को एउटा वा अन्य कैयौं पाण्डे भेटिएका हुनसक्छन् जसले उसलाई बाँकी बाटो देखाएका होउन्। र ती तमाम पाण्डेलाई एउटै पाण्डे 'प्रितम पाण्डे'मा आरोपण गरिएको हुनसक्छ। चाहे तपाईं थोरैथोरै पटकपटक थपेर एक थाल खानुस् या फेरि सुरुमै झ्याप्प एक थाल लिएर बस्नुस्। तात्विक फरक नै के हो र? बरु यस काइदाले मनोजको कथा बुझ्न दर्शकलाई पक्कै सहज गराउँदो हो।
कति विश्वसनीय?
खैर, यसरी यथार्थलाई माझेर, ताछेर, तिखारेर देखाउँदा एउटा कुरामा चाहिँ निर्देशकले ध्यान दिनैपर्छ। त्यो हो- विश्वसनीयता! प्रितम पाण्डेजस्तै गौरी भैया फिल्मका अर्का महत्त्वपूर्ण पात्र हुन्। जसले मनोजलाई पढ्न र बस्नका लागि आफ्नो कोठा उपलब्ध गराएका छन्। यहाँनेर पनि मनोजलाई कोठा उपलब्ध गराउने गौरी भैया नै नहुन पनि सक्छन्। यथार्थमा त्यो (कुनै एउटा वा कैयौं) प्रितम पाण्डे नै पनि हुनसक्छ। या फेरि श्रद्धा हुन सक्ली। या फेरि कुनै होस्टेलमा वा डेरामा बसेको हुनसक्छ र खर्चको जोरजाम उसका शुभेच्छुकहरूले जुटाएका हुनसक्छन्। वास्तविकता जे होला तर, गौरी भैयाले आफ्नो कोठा उपलब्ध गराउनु कत्तिको विश्वसनीय छ? आउनुस्, यसैलाई सुल्झाऔँ।
गौरी भैया एउटा चिया पसले। दिल्लीको मुखर्जीनगर जहाँ पीएससी र यूपीएससी मात्र नभएर अन्य अनेक परीक्षाको तयारी गर्न सहरभित्रै र बाहिरका युवा विद्यार्थीहरूको भीड आज पनि रहने गर्छ। त्यस्तो ठाउँमा गौरी भैयाको चिया पसल राम्रै चल्नुप्रति शंका गर्न कुनै ठाउँ उपलब्ध छैन। त्यसमाथि गौरी भैया आफै पनि यूपीएससीको तयारी गरेको मान्छे, तयारी गर्दैगर्दा अन्य फ्रेसरहरूलाई सिकाइरहेको मान्छे। उनलाई ग्राहक खोजिरहने के चिन्ता? मारामार चिया र नास्ता बेचिरहेका उनलाई आफूजस्तै गाउँबाट आएकै कारण कम आकिएको मनोजलाई आफ्नो कोठा उपलब्ध गराउनु आर्थिक वा भावनात्मक दुवै कोणबाट ठूलो कुरो पक्कै होइन कि? त्यही पनि मनोजलाई कोठा उपलब्ध गराएको उसको लास्ट एटेम्प्टमा मात्रै न हो।
गाउँबाट आएकै कारण कम आकिएको, हिन्दी मिडियममा पढेकै कारण हेपिएको, अङ्ग्रेजी नजानेकै कारण खिस्याइएको आफूजस्तै गाउँले केटोप्रति कसैलाई किन पो सहानुभूति नहोस्। त्यसमाथि, हजारौंले बाबु-आमाको पैसामा खाईसुती आरामले अनेकौं कोचिङ क्लास लिई पढेर पनि पास गर्न नसकेको परीक्षा मनोजले ट्वाइलेट सफा गरेर, आँटा पिसेर दुई छाक खाएर आफै पढेर पनि पहिलो चरणको परीक्षा त पास गरिरहेकै छ। अब आखिरी एउटा मौका बाँकी छ। यस्तोमा थोरै धकेलेजस्तो मात्र गरिदिँदा पनि ऊ सफल हुन्छ र आफूजस्ता लाखौंका लागि उदाहरण बन्नसक्छ भने कोही किन नधकेलोस्? कोही किन साथ नदेओस्? वर्षौंदेखि देखिरहेको, चिनिरहेको र केही गर्छ भन्ने विश्वाससमेत भएको एउटा भाइजस्तो मान्छेलाई कोठा दिनु गौरी भैयाको लागि पनि एउटा अवसर पो हो कि?
पास नभए पनि मनको सन्तोक, या फेरि मन ठूलो भएको विज्ञापन- व्यापारको प्रोमोसन। पास भए शिर ठाडो, छाती चौडा आफूजस्ता हजारौंको जित! व्यापारको थप प्रोमोसन! न मनोज रक्सी-चुरोट खाएर हल्ला गर्छ न त साथी संगत नै खराब उसको। दिनभरि त आफू पसलमा हुन्छन् कोठामा मनोज शान्तिसँग पढ्छ र रातमा दुई भाइ उस्तै शान्तिसँग सुत्छन्। अहो! हामी त यस दृश्यको विश्वसनीयता खोज्न निस्किएका होइनौँ? अब अविश्वसनीय नै किन लाग्यो बरु यो पो खोज्ने बेला भयो!
सग्लो पात्र, सङ्लो दृश्य
कथा मनोजको हो र हामीले पाण्डे र गौरी भैयाको कुरा गर्यौँ। अब श्रद्धालाई काँटछाँट गर्न मिल्ला त? पक्कै मिल्दैन। श्रद्धा आखिर पाण्डे र गौरी भैयाजस्तो कथालाई माझताछ गर्दा निस्किएकी पात्र पनि त होइन। मनोजको यथार्थ जिन्दगीको सग्लो पात्र हो श्रद्धा। उनकी हजुरआमाजस्तै, आमाजस्तै!
प्राय फिल्ममा हिरोइनलाई बचाउन हिरो पुगेको देखाइन्छ। अल्लि अस्ति पनि (टाइगर थ्रीमा) जोयालाई बचाउन टाइगर पुगेकै हो। तर, यो सत्य घटनामा आधारित कथा हो यहाँ सधैँ हिरोइनलाई हिरोले मात्रै बचाउँदैन। बरु हिरोइनले पनि हिरोलाई बचाउँछे। मनोजको प्रहरी अफिसर बन्ने स्वप्नयात्रामा पखेटा हालिदिन सबैभन्दा पहिला हजुरआमा आइन्। मनोज पहिलोपटक सहर पस्यो। बीचमा झण्डैझण्डै निभिसकेको उसको सपनाको आगोमा तेल थप्ने काम उसकी आमाले गरिन्। मनोज दोस्रोपटक सहर फर्कियो। र अन्तिममा चुचुरोमा टेक्न अनकनाइरहँदा श्रद्धाले उसको हात समाती, साथ दिई। काँपिरहेका मनोजका खुट्टा एकाएक दृढ भए। उसले चुचुरोमा पाइला राख्यो र आफ्नो स्वप्न यात्रा पूरा गर्यो। यसरी, फिल्मको हिरो मनोजलाई पटकपटक फरकफरक हिरोइनले बचाएका छन्।
त्यसो त, यथार्थमा श्रद्धाले त्यो चिठी त्यति नै बेला दिएकी नहुन सक्छे, या दिएकै भए पनि उसले त्यति नै बेला पढेको नहुनसक्छ। खैर, मनोजको साथमा श्रद्धा त्यसरी उभिइदिनु भने पक्कै उसको लागि ठूलो हौसलाको कुरा भयो होला। 'चाहे राजा बन् या चप्रासी म सधैँ तेरो साथमा छु' भन्नलाई मुटुभरिको माया मात्रले पक्कै नपुग्ला कलेजोको हिम्मत पनि चाहिएला। यो मनोजको भाग्यको कुरा हो, हामी त्यता नजाऔँ। हामी बरु विधु विनोद चोपडाको कुरा गरौँ। त्यही दृश्यको कुरा गरौँ। त्यो चिठी आखिर विधु विनोदले श्रद्धालाई त्यतिबेलै दिन किन लगाए? र मनोजलाई त्यतिबेलै पढ्न किन लगाए?
मनोज अन्तर्वार्ता दिन हलभित्र छिर्दै गर्दा डराइरहेको छ। जिन्दगीमा सम्भवत: पहिलोपटक घाँटीमा टाइ, ज्यानमा टमक्क मिलेको सुट र खुट्टामा टिलिक्क परेको र टिनिक्क कसिएको छालाको जुत्ता लगाउँदा उसलाई त्यो आफै हुँ भनेर विश्वस्त हुन गाह्रो परिरहेको छ। जसकारण ऊ झन् प्रस्टसँग चम्बल सम्झिरहेको छ। त्यसमाथि, कसैले उसलाई '१२ कक्षामा फेल भएको रहेछस्' भनेर सम्झाइदिएको छ। 'हिन्दी मिडियममा पढेको रहेछस्' भनेर याद दिलाइदिएको छ। ऊ झन् जोडजोडले आफूलाई बिलगावँको गाउँले केटो भएको महसुस गरिरहेको छ। त्यो टाइ, सुट र जुत्तामा ऊ सकस महसुस गरिरहेको छ। उसलाई आफू ती सब कुराका लागि योग्य छु जस्तै लागिरहेको छैन। पक्कै यिनीहरूले मलाई काबिल सम्झिँदैनन्। म चम्बलको हुँ, गाउँको हुँ र म पुन: गाउँ नै फर्किनुपर्छ। म प्रहरी अफिसर हुन लायक छैन, आँटा चक्की गर्नु नै मेरो हैसियतको काम हो- यसरी अनेक कुराले उसलाई भित्रभित्रै चपाइरहेको छ र ऊ आफैले आफैलाई कम आँकिरहेको छ।
भित्र गएर पनि ऊ सुझाव पाएजसरी झुट बोल्न सक्दैन।
किनभने, उभित्र उसको यथार्थ चिच्याइरहेको छ। म चम्बलको हुँ। पिछडिएको गाउँको हुँ। स्कुल आफैले चिट चोराउने ठाउँको हुँ। म ट्वेल्थ फेल हुँ! म नालायक हुँ! नाकाबिल हुँ! ऊ हीनताबोधले यति लाचार भइसकेको छ कि उसलाई यतिबेला आफू ट्वेल्थ फेल हुँ र यो परीक्षा पास गर्न सकिनँ भने म जिन्दगीभर ट्वेल्थ फेल भनेर चिनिन्छु भन्ने मात्रै सुझिरहेको छ। त्योबीच एउटा ब्रेक हुन्छ। जुन ब्रेकमा उसले श्रद्धाले भित्र पस्नुअघि दिएको चिठी पढ्ने मौका पाउँछ। लेखिएको हुन्छ- 'तँ प्रहरी अफिसर बन् नबन् या फेरि आँटा चक्कीवाला नै बन्। म सधैँ तेरो साथमा छु।'
यति पढिसकेपछि बल्ल उसको धमिलिएको आँखा सङ्लिन्छ। बल्ल दृश्य सङ्लिन्छ। उसले बल्ल आफूलाई प्रस्टसँग चिन्छ। ऊ त ट्वेल्थ फेल होइन रहेछ। ऊ त एउटा इमानदार मान्छे हो, एउटा मिहेनती मान्छे। उसको लक्ष्य पनि प्रहरी अफिसर बन्नु होइन रहेछ। बरु, भ्रष्ट, खराब प्रणालीलाई सच्याउनु पो उसको लक्ष्य रहेछ। जुन उसले प्रहरी अफिसर भएर वा नभएरै पनि गर्न सक्छ। कसैको साथले कसैको काँधको बोझ कसरी हल्का हुने है? श्रद्धाको चिठी पढिसकेपछि आईपीएस अफिसर बन्नैपर्छ भन्ने दबाबबाट ऊ मुक्त भयो। छालाको टिनिक्क जुत्ताले उसलाई अब अघिजसरी बिझाउन छोड्यो।
त्यसपछि, भित्र जाँदा ऊ असलमै आफू आफै भएर पुग्यो। सन् १९९४ कि मिस इन्डिया एवं मिस युनिभर्स विजेता अभिनेत्री सुस्मिता सेनले एउटा अन्तर्वार्तामा कतै भनेकी छन्- 'हरेक टाइटल एकपछि अर्को गर्दै ऐश्वर्या रायले जितिरहेकी थिइन्। त्यसपछि, मलाई लाग्यो पेजेन्ट टाइटल पनि उनैले जित्छिन्। मैले सबै सकियो सोचेर मेरी ममीलाई फाइनल हेर्न नआउन भनिदिएँ। तर, आश्चर्यको कुरा, पेजेन्ट टाइटल मैले जितेँ। सायद, सबै कुरा सकियो भन्ने लागेपछि प्रतिस्पर्धा नै गर्नुपरेन। तब म, म जे हुँ त्यही प्रस्तुत भएँ र त्यसैले मलाई जितायो।'
चोपडा निर्देशित यो फिल्म हेर्नेले मनोज कुमार शर्माको जित र सुस्मिता सेनको जितमा केही कुरा त समान पाउँछ नै।
खैर, चिठी त्यतिबेलै दिएको र पढेको दृश्य अति सान्दर्भिक, सुन्दर र अर्थपूर्ण छैन त?
प्रेम र युद्धमा हरेक कुरा जायज हुन्छन्
जितको कुरा गरिरहँदा एउटा प्रख्यात भनाइ सम्झना भयो। भनिन्छ, प्रेम र युद्धमा विजयका लागि गरिने जस्तोसुकै चतुर्याइँ वा बेइमानीलाई पनि जायज मानिन्छ। त्यसो त त्यो एक रातपछिबाट बेइमानीको बाटो छोडेर जीवन नै इमानदारीका लागि समर्पित गरेको हो मनोजले। उसका बा, हजुरबादेखि, हजुरआमा समेत इमानको लागि परेदेखि ज्यानको बाजी लगाएर जुध्न तम्सिने मान्छे। अरुबेला सोझो-शान्त गाउँले ठिटो, आफूलाई चोर दोष लगाउँदा बाघ जसरी गर्जिने र बाबुलाई कसैले चोर भन्दा त सिंहजसरी नै झम्टिने मान्छे ऊ। सारा विद्यार्थीले चिट चोर्दा ऊ भने चिट नचोरी पास भएको मान्छे। इमान उसको लागि ठूलो गहना हो। तर, कहीँकतै त उसले पनि बेइमानी गरेकै हो। कहाँ? प्रेममा!
जसरी श्रद्धाले उसलाई गल्तीले इन्जिनियर सम्झिन पुग्छे। ऊ त्यो झुटलाई सच्याउन खोज्दैन। आफूलाई इन्जिनियर सम्झिरहन दिन्छ। किनभने, उसलाई प्रेम भएको छ। कतै इन्जिनियर होइन भन्ने थाहा पाउँदा श्रद्धा टाढा पो भइदिन्थी कि? उसलाई जुनै हालमा प्रेममा फेल हुनु थिएन। यहाँनेर भने उसले आफूले सक्नेबेलासम्म चिटिङ गरेकै हो। बेइमानी गरेकै हो। खैर, प्रेमको परीक्षामा पनि आखिर ऊ बिना चिटिङ पास त भएरै छाड्यो।
खैर, प्रेममा गरिएको बेइमानी यदि प्रेमको जितका लागि गरिएको हो भनेचाहिँ जायज नै हुँदो हो। त्यो पनि, प्रेयसी/प्रितम साथमा हुन्जेल। सोच्नुस् त, रिसाएर गएकी श्रद्धा पुन: मनोजको जीवनमा नफर्किएकी भए? त्यसो त अर्की श्रद्धा भेटिन्थी पनि होला। तर, श्रद्धाजस्तै श्रद्धा एउटै मनोजले घरीघरी भेट्नु यूपीएससी पास गर्नुभन्दा पक्कै दुर्लभ कुरा हो।
द चाइल्ड इज द फादर अफ द म्यान
फिल्म इमानदारीबारे हो। मनोजको घरमा बाबु स्वयं इमानदारीको वकालत गर्थे। बुढी हजुरआमा आफ्नो इमानदार देशभक्त स्वर्गीय फौजी पतिलाई सम्झिएर गर्व गर्थिन्। तर, त्यति नै बेला मनोज भने परीक्षामा चोर्नका लागि भनेर चिट बनाउँदै थियो। जसलाई नगर् भनेर कसैले सम्झाउने वा थर्काउने गरेको थिएन। किनभने, त्यो गाउँ चेतनाले गरीब थियो। आर्थिक घुसपैठ, व्यापारमा कालाबजारी, यस्ता देखिने चोरीलाई मात्र चोरी मान्ने समाज थियो त्यो। होइन भने उसले आफ्नो बाबुलाई सधैँ बेइमानीविरुद्ध निर्भीकता साथ लडेको देखेको हो। उसको दिमागमा इमानदारीको बीउ उसको बाबुले नै रोपेको हो। तर, जुन दिन चिटिङ गरेर परीक्षा लेख्नु पनि चोरी हो भन्ने चेतना उसको दिमागमा घुस्यो त्यो दिन ऊभित्रको इमानदारीको बिउ अझै सप्रिएर आयो, फक्रिएर आयो।
र एकदिन त्यो इमानदार बाबु आँटाचक्की गरिरहेको आफ्नो छोरोको अंगालोमा बच्चाजसरी रुन्छ। इमानको बाटोबाट कहीँ नपुगिने रहेछ- मनोजको बाबु हार खान्छ। बेइमानीको बाटो रोज्नुको विकल्प देख्दैन। आर्थिक अभावकै कारण आमालाई बचाउन सकेन। अब पढ्न भनेर सहर आएको छोराले पनि आँटाचक्की गरेको देख्दा मनोजको बाबुको मन कटक्क खाने नै भयो। तर, जे को बिउ रोपेको हो फल त्यसैको मिल्छ भनेझैं बाबुलाई छोरोले इमानदारीमा टिकिरहनुपर्ने पाठ पढाउँछ- 'हार नहीं मानुंगा, रार नहीं ठानुंगा' - तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपायीको त्यही कविता जुन कविता उसको बाबुले आफ्ना सन्तानलाई पढाउने गर्थे।
बच्चाझैं छोरोको अंगालोमा बाबु रोइरहँदा, छोरो बाबुको भूमिका निभाउँदै हौसला राख्न सिकाउँछ। एकपटक बाबु बच्चा बनिदिन्छ र छोरो बाबु बनिदिन्छ। र यही दृश्यले मलाई विलियम वर्ड्स्वर्थको कविता 'माइ हार्ट लिप्स अप्' भित्रको एउटा सुन्दर लाइन सम्झाइदिन्छ- 'द चाइल्ड इज द फादर अफ द म्यान' !
कथावाचन
घुमिफिरी रुम्झाटार भनेझैं हामी फेरि प्रितम पाण्डेसम्मै आइपुग्यौँ। किनभने, फिल्मको कथावाचक उही हो। जब, श्रद्धा मनोजको साथमा हुन्न तब पनि प्रितम मनोजको साथमै हुन्छ। मनोज हराइदिन्छ तर, प्रितम खोज्न छोड्दैन। आइपिएस अफिसर भन्ने पनि केही चिज हुन्छ भन्ने नजान्दै मनोज आईपीएस अफिसर बन्न दिल्ली निस्किएको पहिलो दिनदेखि प्रितम उसको साथसाथ छ।
प्रितम मनोजको बारेमा बारबार एउटै कुरा भनिरहन्छ, 'ग्वालियर स्टेसनमा भेटिएको थियो। त्यतिबेला यसलाई आईपीएसको आई समेत थाहा थिएन। अहिले ...'
पहिलोपटक उसले यो कुरा ख्यालै ख्यालमा भनेको थियो। दोस्रोपटक मनोजले पहिलोपटक पहिलो चरणको परीक्षा पास गर्दा चकित भएर भनेको थियो। तेस्रोपटक उसले यही कुरा ईर्ष्याले जलेर भनेको थियो। र अन्तिममा फेरि पनि उही कुरा उसले गर्वकासाथ भनेको छ।
साँच्चै, ईर्ष्याको कुरा निस्किहाल्यो यो पनि भनिहालूँ। ईर्ष्या उसलाई मनोजको पढाइप्रति मात्र भएको थिएन बरु उसको प्रेमप्रति पनि भएको थियो। मैले परीक्षा पास गर्न नसक्दा मेरी प्रेमिकाले मलाई पर्खिन सकिन। म यस्तो सुकिलोमुकिलो, अङ्ग्रेजी मिडियममा पढेको, अपार्टमेन्ट लिएर बस्छु, मोटरसाइकलमा राखेर घुमाउँछु तर मजस्तो काबिललाई प्रेममा धोखा हुन्छ भने त्यो मनोजलाई देखेर श्रद्धा कसरी मस्किन सक्छे? के म मनोजभन्दा अयोग्य छु? प्रितम बुझ्न सक्दैन। बुझ्न नसकेको कुरा मान्छेले सहन पनि त सक्दैन। तब, ऊ जल्छ ईर्ष्याको आगोमा।
तर, भनिन्छ जीवन बन्दाकोभीजस्तै पत्रैपत्र हुन्छन्। तर, प्रितमको हृदयको अर्को पत्रमा पनि ईर्ष्याले नै डेरा हालेको थियो। जहाँ लगानी हुन्छ, त्यहाँ मोह हुन्छ। प्रितमले मनोजका लागि पहिलो दिनदेखि नै लगानी गर्न सुरु गरेको हो। आर्थिक मात्र होइन भावनात्मक पनि। कसैले उसलाई छोटुभन्दा प्रितमलाई फरक पर्थ्यो। भन्थ्यो, 'ऊ छोटु होइन। मेरो साथी मनोज हो।' हुनसक्छ, भावनात्मक लगानी अधिक भएकै कारण सामान्य रूपमा साथीलाई गर्नेभन्दा बढी नै प्रेम गर्थ्यो कि प्रितमले मनोजलाई।
कोचिङ क्लासभित्रको एउटा दृश्यमा श्रद्धालाई निराश देखेर मनोज तड्पिन्छ र मनोजलाई तड्पिएको देखेर प्रितम छटपटिन्छ। खैर, प्रितमको नाम प्रितम यसै पक्कै राखिएको होइन।
भलै निर्देशकले लिनियर शैलीमा कथा भनिरहेका छन् तर, फिल्मको मुख्य कथा प्रितमले गरेको एउटा कन्फेसन हो।
कति बाँध्ला?
त्यसो त मानिस अक्सर स्वतन्त्रता मन पराउँछ तर, फिल्म हेर्न बस्दा भने हरकोही बाँधिन चाहन्छ। र यो दर्शकले फिल्मसँग लिने परीक्षा हो भने ट्वेल्थ फेल यसमा पास भएको छ, राम्रै अंक ल्याएर।
सुरुवातमै चम्बललाई डाँकुहरूको ठाउँ भनेर चिनाइन्छ। हाम्रो हिरो छतमा बसेर चिट बनाउँदै गर्दा उसकी हजुरआमा आँगनमा बसेर प्रहरीको छातीमाथि राइफल ताक्छे। अलिपछि हाम्रो हिरो जेल पर्छ। लाग्छ अब पक्कै यहाँ दंगा हुन्छ, गोली चल्छ, ज्यान जान्छ। आखिर यो चम्बल हो। तर, यस्तो केही पनि हुँदैन। जब पूर्वानुमान फेल खान्छ। तब, मनोजकुमार शर्मा जस्तो हाम्रो मन पास भएरै छाड्ने जिद्दी गर्छ। र यसरी हामी फिल्ममा बाँधिन्छौँ।
जब दीपावलीको उज्यालो रंगीन साँझमा मनोज र श्रद्धा सँगैसँगै डुल्छन्, सँगै चिया पिउँछन्, श्रद्धा मनोजलाई उपहार समेत दिन्छे। हामीलाई लाग्छ, अब त लभ पर्यो। अब यी दुईको मायाको अध्याय सुरु भयो। तर, त्यस्तो हुँदैन। बरु उनीहरूबीच फाटो आउँछ, दूरी बढ्छ। हामी फेरि पनि फेल हुन्छौँ।
यसैगरी, ठाउँठाउँ र बेलाबेलामा फिल्म हामीलाई फेल खुवाउँदै बगिरहन्छ र हामी बाँधिइरहन्छौँ, अम्तिमसम्मै। बेलाबेलामा पास नहुने पनि त होइनौँ। तर, बाँधिन पुग्नेगरी हामी फेल भइरहन्छौँ। फिल्म हेरिरहँदा मलाई त फेल भइरहन मनपर्छ। तपाईंलाई नि?
कति जगाउला?
हल्ला छ बजारमा यतिबेला- ट्वेल्थ फेलले हार खाएर सुतिरहेकाहरूलाई जगाउँछ। सायद, हो। तर, ती सुतिरहेकामध्ये जाग्न चाहनेहरूलाई जगाउँदो हो। जसलाई भित्रबाट जाग्न इच्छा नै छैन ऊ अरूले जगाएर जाग्दो हो? मलाई शंका लाग्छ। तर, हामी फिल्मकै कुरा गरौँ। जाग्न चाहनेहरू पनि सुतिरहेका छन्। तिनलाई जगाउने के कुरा छ ट्वेल्थ फेलमा? के कुरा छ आखिर ट्वेल्थ फेल मनोजकुमार शर्मामा?
जब हामीलाई अब दंगा हुन्छ, गोली चल्छ जस्तो लाग्छ तर, गोली चल्दैन नि? त्यहाँनेर मनोजको आपतकालीन स्थितिमा सही निर्णय लिनसक्ने क्षमता देखेर हामी नजानिँदो लोभिन्छौँ।
मनोज अक्सर शान्त स्वभावको मान्छे, जो अरूलाई चलाउँदैन। तर, जब आफू र आफ्नालाई कसैले अनावश्यक चलाउँछ तब उसको दोस्रो रूप पनि देखिन्छ। हामी सबैभित्र ती डार्क र लाइट पार्ट हुन्छन्। तर, कतिबेला कुन प्रयोग गर्ने यसमा भने हामी चुकिरहन्छौँ। खैर, अहिले त्यता नजाऔँ। अँ, जब ग्वालियर पुग्दापुग्दै ऊ लुटिइसक्छ उसको खाने बस्नेको कुनै ठेगान हुँदैन। हामी आत्तिसक्छौँ त्यो अबोध देखिने गाउँले ठिटोलाई अञ्जान सहरमा अलपत्र देखेर। तर, ऊ आत्तिँदैन। उसलाई उसकी हजुरआमाले बर्दी लगाएरै फर्किनु भनेकी छ। अबोध देखिने मान्छे स्वाभिमानी हुँदैन रहेछ र? आँटिलो हुँदैन रहेछ र? हामी यहाँनेर जाग्छौँ।
फेल हुन्छ, अङ्ग्रेजी जान्दैन, तथाकथित सहरिया साथीभाइहरूले जिस्क्याउँछन्। तर, हार मान्दैन। तिनलाई सुन्दा पनि सुन्दैन। काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेझैं ऊ गौरी भैयालाई सुन्छ, श्रद्धालाई सुन्छ, विकास सरलाई सुन्छ। ज-जसले उसलाई सकारात्मक ऊर्जा दिन्छन् बस् तिनैलाई मात्र सुन्छ र गरिरहन्छ 'रिस्टार्ट'। के एउटा सोझो देखिने गाउँले ठिटो मूर्ख नै हुन्छ भन्ने रहेछ र? जाग्न चाहनेहरू यहाँनेर जागून्।
आईपीएस अफिसरमा नाम निस्किनु आफूले जागिर पाउनु हो, आफू धन्य हुनु हो- यसरी सोचिरहेको मनोज कति डराइरहेथ्यो। तर, आफूजस्तो इमानदार उम्मेदवार गुमाउनु आईपीएसलाई घाटा भन्ने जब उसले महसुस गर्यो तब उसमा एकाएक साहस भरिएर आयो। हो, जबसम्म लक्ष्यप्रति आफू स्पष्ट रहिन्छ र दास मानसिकताबाट मुक्त रहिन्छ कुनै भाषा नजान्नुले आखिर रोक्दो रहेछ र सफलताका लागि? यहाँनेर पनि जाग्न सकिन्छ।
अरू पनि थुप्रै ठाउँ छन् जहाँ यस्तै जागृति भेटिन्छन्। खैर, सबैभन्दा जागा हामीले कहाँ हुन जरुरी छ भने हरेकको जीवनमा डीएसपी दुष्यन्त, गौरी भैया, प्रितम पाण्डे वा श्रद्धा भेटिँदैनन्। तर, तिनको माध्यमबाट मनोजकुमारले जुन चेतना र ऊर्जा लियो त्यो चेतना र ऊर्जा जुनैकुनै माध्यमबाट लिनु भने पक्कै बुद्धिमानी हो। आखिर फिल्म भनेको अञ्जान सहरमा भेटिने एउटा बटुवा मात्रै न हो। तपाईं उसलाई बाटो सोध्नुहोला, उसले बताइदेला, 'फलानो बाटो नछोडी सिधा जानुहोला।' तब, सिधा हिँड्ने काइदामा यात्रीले ल्याम्पपोस्टमा गएर ठोकिने गरी आँखा चिम्लिन पनि त भएन।
त्यसैले, फिल्मले पक्कै जगाउँछ तर बस्, जाग्न चाहनेलाई!
जाँदाजाँदै, डीआईजी मनोजकुमार शर्माको यथार्थ जीवनमा आधारित यो बायोपिक सिनेमाको कथा चरम संघर्षको कथा हो त? पक्कै होइन। किनभने, योभन्दा कठिन संघर्ष गर्नेहरूलाई हामीले आफ्नै वरिपरि देखिरहेका छौँ। तर, यही कथालाई भने फिल्मले न्याय गरेकै छ। र जहाँसम्म उत्प्रेरणाको कुरा छ, यत्ति भनूँ -फिल्मलाई यदि पेन्टिङ मान्न मिल्छ भने ट्वेल्थ फेल एउटा इल्युसिव आर्ट हो, एउटा अप्टिकल इलुजन!
Shares
प्रतिक्रिया