यतिबेला क्यूएफएक्स लगायत देशभरका विभिन्न हलहरूमा दक्षिण भारतीय सिनेमा क्याप्टेन मिलर प्रदर्शन भइरहेको छ। सन् २०१३ को 'राँझणा' स्टार 'धनुष' अभिनित यो फिल्मको निर्देशन अरुण माथेस्वरनले गरेका हुन्।
१९ वर्षको उमेरदेखि नै अभिनयमा हाम फालेका धनुषले झण्डै ५० फिल्ममा काम गरिसकेका छन्। क्याप्टेन मिलरमा पनि धनुषले आफ्नो भूमिका राम्रै निभाएका छन् तर, सिङ्गो फिल्म भने कस्तो बनेको छ त? आउनुस्, यसैबारे कुरा गरौँ।
१. कथा
फिल्मको कथा के बारे हो? फिल्मले ६०० वर्षदेखि गाउँलेहरूका लागि राज्यले प्रवेश निषेध गरेको मन्दिरको ढोका फुटाइएको कथा भन्छ। सँगसँगै फिल्मले ब्रिटिसहरूको हस्तक्षेपबाट मुख्य पात्र 'इसा'ले गाउँलाई कसरी बचाउँछ? त्यो कथा पनि सुनाउँछ।
फिल्मले अर्कोतिर वर्ग विभेद, अधिनायकवाद तथा उपनिवेशवाद, साम्राज्यवादको विरोध गरेको छ। खैर, दुवै कथालाई एकैसाथ अघि बढाउन खोज्दा पटकथा स्पष्ट र गहन हुन नसकेको हो कि जस्तो महसुस हुन्छ।
२. पात्र
सतहभन्दा थोरै भित्र छिर्ने हो भने पनि मुख्य पात्रको चरित्रलाई स्पष्टसँग चित्रण गरेको पाइँदैन। आफ्नो टोलीलाई धोका दिएर ऊ बकाइदा उद्घोष गरेर कुनै ठाउँ जान्छ। लाग्छ, अब चाहिँ केही रहस्य पक्कै बाहिरिन्छ। त्यो ठाउँसँग उसको पक्कै केही साइनो छ। अथवा त्यहाँ जानु उसका लागि कुनै हिसाबले महत्त्वपूर्ण साबित हुनेछ। तर, त्यस्तो केही हुँदैन।
ऊ त्यहाँ किन जान्छ? फर्किनलाई! बस्, योभन्दा गतिलो जवाफ फिल्मले दिन सक्दैन। फिल्मले इसालाई गाउँलेहरूले पुज्ने देवताको अवतारका रूपमा चित्रण गर्न खोजेको त छ। तर, उति बलियोसँग चित्रित हुन सकेको भने छैन।
यस्तै, कतिपय मरिसके भनेको पात्र पुन: आएका छन् र त्यसरी ऊ फर्किँदा कसैले आश्चर्य व्यक्त पनि नगर्नु आफैमा आश्चर्यजनक लाग्छ।
त्यसो त खलपात्रहरूलाई पनि डायलग अनुसारको भूमिका दिन नसकेको हो कि जस्तो लाग्छ। मानौँ फिल्ममा देखिने सबै खलपात्रहरू फलामसँग जोस्सिएर भिड्न निस्किएका सिसाहरू हुन्। ठोक्किसक्दा प्याट्ट फुटिजाने!
३. द्वन्द्व
क्याप्टेन मिलर, नामले नै एउटा एक्सन फिल्म। द्वन्द्वको कमी त छैन। जतिबेलै गोली चल्छ, बम पड्किन्छ। कुनै कुनै शृङ्खला त यस्ता पनि छन् जहाँ सेकेण्ड-सेकेण्डमा एकपछि अर्को मान्छे मरिरहन्छ। तर, मान्छेलाई लडाउने र मार्ने काइदामा एउटा राम्रो कथाले माग्ने द्वन्द्व भने फिल्मले दिन बिर्सिएको छ।
पात्रहरूको हृदयमा कुनै अन्तर्द्वन्द्व होस्, पात्रपात्रबीचको सम्बन्धमा कुनै भावनात्मक द्वन्द्व होस्। उनीहरूले गुज्रिने घटनाक्रमहरूबीच पारिस्थितिक द्वन्द्व होस्। जुन द्वन्द्वको बाटो हुँदै कथा बग्दै जाओस्। जसलाई दर्शकले पात्रहरूको नजिक पुर्याओस्। उनीहरूको भावनालाई दर्शकले बुझ्न वा आत्मसात गर्न सकून्।
हुँदै नभएको होइन। एकादुई दृश्यमा त्यस्तो द्वन्द्व पनि पाइन्छ, जहाँ पात्र सँगसँगै दर्शकको मन पनि गाँठो पर्छ। तर, अधिकांश दृश्यहरूमा कथा लथालिङ्ग हुँदा पारिस्थितिक तथा भावनात्मक द्वन्द्व निर्माण हुन सकेको छैन।
४. कथावाचन
फिल्मको ट्रेलर जति दमदार देखिन्छ, फिल्मको प्रोलग पनि उति नै बलियो लाग्छ। त्यसो त नन-लिनियर शैलीमा कथा भन्ने यो फिल्मको पहिलो हाफले पनि दर्शकलाई बाँधेरै राख्छ। किनभने, जति पनि प्रश्न जन्मिन्छन् दोस्रो हाफले तिनको जवाफ पक्कै दिन्छ भन्नेमा दर्शक विश्वस्त हुन्छन्। तर, दोस्रो हाफले ती प्रश्नहरूको जवाफ दिन नसक्दा अधिकांश दर्शक निराश हुन्छन्।
यसलाई यसरी भनौँ- तपाईं धनुषको फ्यान होइन भने फिल्मको अन्तिमसम्म आइपुग्दा तपाईंका एकजोर हात टाउकोमा हुनसक्छन्।
५. अभिनय
अभिनयको कुरा गर्नुपर्दा फिल्ममा सबैको काम ठिकठाक नै लाग्छ। कुनै कुनै दृश्यमा धनुषको अभिनयले तपाईंलाई भावनामा बगाइदिन सक्छ। पेसाले तपाईं शिक्षक हुनुहुन्थ्यो भने यो फिल्म परीक्षाको त्यस्तो एउटा कापी हो जसमा अधिकांश उत्तर गलत छन् तर अक्षर राम्रा भएकै कारण फेल गराइहाल्न पनि तपाईंलाई हिचकिच लागिदिन्छ।
धेरै स्टार र सन्देश एउटै फिल्ममा अटाउन खोज्दा फिल्मको कथाले बाटो बिराएको भए पनि कथा भन्ने इमानदार प्रयास भने फिल्मले गरेकै देखिन्छ।
Shares
प्रतिक्रिया