ad ad

कारोबार


लाङटाङ–भोटेकोशी आयोजनामा भित्रियो २० अर्ब लगानी

रसुवामा मात्रै ५८४ मेगावाट क्षमताका आयोजना निर्माणका चरणमा
लाङटाङ–भोटेकोशी आयोजनामा भित्रियो २० अर्ब लगानी

फाइल फोटो


नेपालखबर
माघ १, २०८० सोमबार १८:११, काठमाडौँ

रसुवामा निमार्णाधीन लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजनाले २० अर्ब रूपैयाँबराबरको वैदेशिक लगानी भित्र्याएको छ।

कुल १ सय २० मेगावाट क्षमताको सो आयोजना हाल निर्माणाधीन अवस्थामा छ। आयोजनाका प्रवर्द्धक रहेका नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काका अनुसार चीनको बैंक अफ चाइनाबाट करिबब १९ अर्ब ८५ करोड ७० लाखबराबरको वैदेशिक लगानी भित्रिएको छ।

आयोजनाको कूल लागत २४ अर्ब ९५ करोड ४४ लाख ७३ हजार अनुमान गरिएको छ।

आयोजनामा संस्थापक लगानीकर्ताहरूले ५ अर्ब ९ करोड ७४ लाख ७३ हजार लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकको स्वीकृतिमा स्वपुँजीका रूपमा यो रकम भित्रिसकेको छ।

हाल भित्रिएको चिनियाँ लगानी भने ऋण हो।

योसँगै आयोजनाको सम्पूर्ण वित्तीय व्यवस्थापन भएको सांसद खड्काले बताए। यस आयोजनाका लागि विद्युत् विकास विभागले आगामी फागुन २ गतेसम्म वित्तीय व्यवस्थापन गर्ने समयसीमा प्रदान गरेको थियो।

आयोजनामा चिनियाँ कम्पनीको ९० प्रतिशत र नेपाली पक्षको १० प्रतिशत लगानी छ। आयोजनाका लागि आवश्यक रकम भित्र्याउने सम्बन्धमा प्रवर्द्धक कम्पनी लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजना र चीनको निर्यात आयात बैंक, सिचुआन शाखाबीच गत पुस २३ गते सम्झौता भएको थियो।

आयोजना चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ। विसं २०७६ पुसमा शिलान्यास भएको आयोजनामा हाल २० प्रतिशत बराबरको भौतिक प्रगति भएको छ।

रसुवाको फङ्लुङखोला र भोटेकोशीको दोभानदेखि करिब १ सय ५० मिटरमाथि भोटेकोशी नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ। ४ हजार ८ सय ३५ मिटर लामो सुरुङ हुनेछ।

स्थानीय चिलिमे खोला र भोटेकोशीको संगमस्थलमा विद्युत्गृह निर्माण गरिने आयोजनाले जनाएको छ।

आयोजनाबाट उत्पादित बिजुली सुक्खायाममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने सम्झौता २०७४ पुस ७ गते भएको थियो। 

रसुवाको स्याफ्रुबेंसीनजिकै आयोजनास्थल भएकाले पनि उपकरण ढुवानी र निर्माण सामग्रीको जोहो गर्न सहज भएको छ। आयोजनाबाट उत्पादित बिजुली करिब ५ किलोमिटर लामो १ सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत् नेपाल विद्युत् प्राधिकरणको चिलिमे हब सबस्टेसनमा जोडिनेछ।

नदी प्रवाहमा आधारित सो आयोजना चार वर्षभित्र निर्माण गर्ने लक्ष्यका साथ सुरु भएको हो। सरकारले स्वपुँजी २० प्रतिशत भन्दा घटी र विदेशी पुँजी ८० प्रतिशतभन्दा बढी नहुने गरी एक सय मेगावाटभन्दा ठूला आयोजनामा अमेरिकी डलरमै विद्युत् खरिदबिक्री सम्झौता गर्ने निर्देशिका ल्याएको थियो।

सोअनुसार नै लाङटाङ भोटेकोशी आयोजनाका हकमा अधिकतम १० वर्षसम्म अमेरिकी डलरमा भुक्तानी गर्ने र त्यसपछि नेपाली रुपैयाँमै भुक्तानी गर्ने गरी सम्झौता भएको छ।

यसैगरी चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीका रुपमा रहेको रसुवागढी र साञ्जेनले निर्माण गरेका तीन आयोजना अन्तिम चरणमा पुगेका छन्।

कुल १ सय ११ मेगावाट क्षमताको सो आयोजनाले वार्षिकरूपमा ६ सय १३ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन गर्नेछ।

साञ्जेन जलविद्युत् आयोजनाअन्तर्गतको १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन पनि निर्माण भएको छ। यसैगरी रसुवाका आमाछोदिङ्गो गाउँपालिका–५ मा निर्माणाधीन ४२ दशमलव पाँच मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको मुख्य सुरुङमा गत पुस ११ गते बुधबारदेखि पानी भर्ने काम सुरु भएको छ। सो आयोजनाको परीक्षणको काम हाल भइरहेको छ।

यस्तै लाङटाङ खोलामा २० मेगावाट क्षमताको लाङटाङखोला जलविद्युत् आयोजना निर्माणको क्रममा छ।

रसुवामा मात्रै कुल ५ सय ८४ मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन्। त्यसमध्ये २२ मेगावाट क्षमताको चिलिमे २०७१ सालदेखि सञ्चालनमा छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .