दिनेश राउतको निर्देशन रहेको फिल्म ‘पुजार सार्की’ को छायाङ्कन सुरु भएको छ।
मंगलबार कास्की जिल्लाको कास्कीकोटमा शुभ मुहूर्तसँगै फिल्मको सुटिङ सुरु गरिएको हो।
यस फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेका हुन्।
अभिनेत्रीद्वय अन्जना बराइली र परीक्षा लिम्बु पनि फिल्ममा प्रमुख भूमिकामा देखिनेछन्।
निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताए। फिल्मको कथा विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले प्रकाशमा सहकार्य गरेका थिए।
फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ।
चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन्। एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गर्न लागेका हुन्।
राजेश श्रेष्ठको खिचिरहेको फिल्मलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनिरहेको फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ।
Shares
प्रतिक्रिया