देशभर अस्वभाविक मनसुनी वर्षा हुने भएकाले नदी जलाधार क्षेत्रको मानवबस्तीमा सतर्कता (फोर्स इभ्याकुएसन) अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।
बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्युनचापीय प्रणालीको प्रभावको कारण बिहीबार दिउँसोदेखि आइतबारसम्म मेघ गर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले वर्षा सम्बन्धी जानकारी आफ्नो वेबसाइटमा राखिसकेको छ। वर्षाको यो पूर्वानुमानलाई विज्ञले सामान्य मनसुनी वर्षा भन्दा फरक चरित्रको रहेको भन्दै उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका हुन्।
विशेषगरी नदी जलाधार क्षेत्रमा मुसलधारे वर्षा हुनसक्ने भएकाले जलाधार तटिय क्षेत्र र आसपासका राजमार्गमा पनि फोर्स इभ्याकुएसन (सरकारी निकायले हानी नोक्सानी रोक्न बल प्रयोग गरेर बस्ती खाली गर्ने वा यातायात सञ्चालनमा रोक लगाउने गर्नुपर्ने अवस्था) सम्म गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत र सतर्क रहन विज्ञले सुझाव दिएका छन्।
साथै, धान भित्र्याउने समय पनि भएकाले काटिसकेको धान बिहीबार दिउँसोसम्म थन्क्याउन र नकाटेको धानलाई आइतबारसम्म यथास्थितिमा नै राख्न पनि सुझाव दिएका छन्।
त्यसैगरी, अत्यावश्यक बाहेकको लामो यात्रा नगर्न पनी विज्ञले सुझाव दिएका छन्।
जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले भारी वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने भएकाले यसबाट हुनसक्ने हानी नोक्सानी कम गर्न सरोकारवाला निकायसँगै सर्वसाधरण पनि सचेत हुनुपर्नेमा जोड दिए।
‘बंगालको खाडीमा उत्पन्न भएको पानी पार्ने प्रणाली उत्तरतिर सर्दै आएको छ। यो कोसी प्रदेशबाट सक्रिय हुने देखिन्छ। कोसी प्रदेशमा बिहीबार दिउँसोदेखि वर्षा हुने र शुक्रवारको बिहानदेखि पूर्वदेखि काठमाडौँ हुँदै गण्डकी, लुम्बिनी कर्णाली हुदै सुदूरपश्चिमसम्म पुग्ने देखिन्छ,’ उनले भने, ‘अनि यो फेरि आइतबार फर्केर लुम्बिनी प्रदेशमा मात्रै केन्द्रित हुने देखिन्छ। केही स्थानमा मेघ गर्जन सहितको मुसलधारे वर्षा हुने देखिन्छ। धान भित्र्याउने समयमा ठूलो वर्षा हुने अवस्था भएकाले धान काटिसकेको भए भित्र्याउने र बाँकी धान खेतीहरू आइतबारसम्म नकाटेर हामीले धान खेतीको क्षति कम गर्नसक्छौँ।’
मौसम विज्ञान विभागले ५६ वटा जिल्लामा वर्षाको रेड अर्लड जारी गरेको छ। भारी वर्षाले बाढी, पहिरो र डुबान हुने भएकाले सम्बन्धी निकायसँगै आम नागरिक पनि सचेत हुनुपर्ने अवस्था छ।
जमिनमा पानीको मात्रा (सेचुरेसन) पुगिसकेको अवस्थामा ठूलो पानी पर्यो भने ठूलो पहिरो जानसक्ने, त्यसले नदी थुनिन सक्ने, ड्याम बन्नसक्ने र ड्याम फुट्दा तल्लो तटिय क्षेत्रमा असर पुग्नसक्छ।
जल तथा मौसम विज्ञान विभागसँग १०/१० मिनेटमा कुन ठाउँमा कति पानी पर्यो भन्ने तथ्यांक हुन्छ। यदी लगातार ६ घण्टामा पानीको मात्रा बढ्दै गयो भने नदी तटिय क्षेत्रमा फोर्स इभ्याकुएन गर्नुपर्ने अवस्था पनि आउनसक्छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १ सय मिलिमिटर, १२ घण्टामा १ सय २० मिलिमिटर र २४ घण्टामा १ सय ४० मिलिमिटर भन्दा बढी वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ।
Shares
प्रतिक्रिया