केही दिनअघि दिनेश राउत निर्देशित फिल्म 'पुजार सार्की' को फस्टलुक पोस्टर सार्वजनिक भयो।
आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह फिचर्ड गरिएको पोस्टरले केही चर्चा पनि बटुल्यो। तिनैजना कलाकार फरक लुक र गेटअपमा देखिएको भन्दै दर्शकहरूले निकै तारिफ गरे।
तर, चर्चासँगै यो फिल्म विवादमा परेको छ।
निर्देशक राउतले यस फिल्मलाई जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा भनेका छन्। तर, पोस्टरमा देखिएका कलाकारहरू सबै कथित उपल्ला जातका भएपछि फिल्मको आलोचना हुन थालेको हो।
निर्देशक शान्ति नेपालीले फेसबुकमा फिल्मको पोस्टर सेयर गर्दै पुजार सार्की टिमप्रति आपत्ति जनाएकी छन्।
'केही कथित उच्च वर्ग/जातका मानिसहरूले हाम्रा कथाहरू लेख्छन् र सुनाउँछन्। हाम्रो चित्रणलाई आकार दिन्छन्। तर, सम्बन्धित फिल्ममा हाम्रो समुदायबाट कुनै सहकार्य वा अग्रणी रचनात्मक कलाकार र टिम (लेखन, निर्देशन र उत्पादन) देख्दिनँ। यो हाम्रो कथा होइन। यो हाम्रो कथा हो, जुन तिमीहरूको नजरबाट देखिन्छ,' उनले लेखेकी छन्।
त्यस्तै, रंगकर्मी हीरा नेपालीले 'पुजार सार्की' टिमप्रति फेसबुकमार्फत् आक्रोश व्यक्त गरेका छन्। उनले गैरदलितले दलितको मर्म नबुझ्ने भनेर टिप्पणी गरेका छन्।
नेपाली लेख्छन्, 'न ऊ दलित हो। न उसले दलित आन्दोलनको मर्मलाई बुझ्छ। न दलित साहित्यको बारेमा ज्ञान छ उसलाई। न कहिले एक मिनेट दलित जिन्दगी जिएको छ। न दलितमाथिको हजारौँ वर्षदेखि उत्पीडनमाथि समानुभूति राख्छ। केवल दलितको नांगो छाती र भोको पेट पुँजीको बजारमा बेचेर रातो कार किन्न हतार छ उसलाई। दलित जीवनलाई कौडीको भाउमा बेचेर गिज्याउनु छ उसलाई। उसलाई फेरि पनि जुठे, प्रकाश र पुजार सार्की बनाइरहनु छ र कमाइरहनु छ।'
हीरा नेपालीको टिप्पणीमा धेरैले समर्थन जनाउँदै बहसको विषय बनाउनुपर्ने प्रतिक्रिया दिएका छन्।
हाल छायांकनमा रहेको पुजार सार्कीमा आर्यन, प्रदीप र पलसहित अञ्जना बराइली, परीक्षा लिम्बूलगायतको अभिनय छ।
सुभास भुसाल निर्माता रहेको यस फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्। यसअघि राउत र विकासले 'प्रकाश' मा पनि सहकार्य गरेका थिए। जुन फिल्म पनि जातीय भेदभावमा आधारित थियो।
Shares
प्रतिक्रिया