चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’ बाट बाहिरिएपछि मेनुका पौडेल नेपाल आइपुगेकी छन्। सोमबार पूर्वको मेचीपुल हुँदै नेपाल आइपुगेकी मेनुकालाई भव्य स्वागत गरिएको छ।
भारत सीमावर्ती काँकडभिट्टामा उनलाई नेपालीहरुले अबिर र फूलमालासहित स्वागत गरे। झाँकी र र्यालीसहित मेनुकालाई गाडीमा चढाएर काँकडभिट्टा नगर परिक्रमा गराइएको थियो।
गृहनगर झापाको चारआलीमा आयोजित कार्यक्रममा पनि मेनुकालाई स्वागतसहित सम्मान गरिएको छ। स्थानीयहरूको भव्य स्वागत पाएकी मेनुकाले सबैलाई धन्यवाद समेत दिइन्।
मेनुकाले मिडियासँगको कुराकानीमा इन्डियन आइडलमा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताइन्।
‘एकदमै खुसी लागिरहेको थियो। इन्डियन आइडलको अडिसनमा गाउन पाउनु नै ठूलो कुरा हो। यहाँसम्म आएर मैले गरेको मिहिनेत र दर्शकहरूको आर्शिवाद लागिरहेको छ। एकदमै खुसी छु’, उनले भनिन्।
आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै उनले ‘सलार’ मा समावेश गीत समेत गाएकी थिइन्।
इन्डियन आइडल सिजन १४ को सुरुवाती अडिसनबाट नै मेनुका चर्चामा थिइन्।
लगातार दमदार प्रस्तुति दिँदै मेनुकाले जजहरुसहित दर्शकहरूको मन जित्दै आएकी थिइन्। तर, आइतबार प्रसारित एपिसोडबाट उनी शीर्ष १० बाट आउट भइन्।
Shares
प्रतिक्रिया