प्रियजनको बिदाइमा भक्कानिएका मन, रसाएका आँखा र मलिन अनुहार देखिनु पशुपति आर्यघाटको नियमित दृश्य हो।
तर, मंगलबार दिउँसो केही फरक दृश्य पनि देखियो।
आर्यघाटको ब्रम्हनालमा प्रसिद्ध गायक भक्तराज को शव लडिरहेको थियो। जहाँ प्रशंसकहरूको भिड थियो। त्यही भिड छिचोल्दै एउटा संन्यासीको समूह आइपुग्यो।
गेरूवस्त्रधारीको त्यो समूह पनि उत्तिकै भावविह्वल देखिन्थ्यो, जति स्वर्गीय आचार्यको परिवार थियो।
उनीहरू शवको नजिकै पुगे। भक्तराज आचार्यका खुट्टामा जल अर्पण गरे। केही जल मुखमा पनि चढाए। र, शवलाई ढोग्दै जयजयकार गरे।
यस दृश्यले पनि दर्शाउँथ्यो, भक्तराज आचार्यको लोकप्रियताको आयाम।
हुन त आचार्यले गाउन छाडेको ३० वर्ष भयो। यो तीन दशकमा उनका धेरै समकालीनले धर्ती छाडिसकेका छन्। भएका पनि आर्यघाटमा आउन सकेनन् होला ! जो आर्यघाटमा उपस्थित थिए, उनीहरू पछिल्ला पुस्ताका थिए।
तीस वर्ष गीतमा स्वर नभरे पनि उनको लोकप्रियता र सम्मान उस्तै झल्किन्थ्यो। त्यसैले त त्यहाँ उपस्थितमध्ये धेरैले भनिरहेका थिए, गायक भक्तराज आचार्यको अन्तिम बिदाइमा पुग्नैपर्छ आएको।
हिजो (सोमबार) दिउँसो भजन शिरोमणि भक्तराजले अन्तिम सास फेरे। उनको पार्थिव शरीरलाई आज बिहान नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा राखिएको थियो। जहाँ संगीतकर्मीलगायतको बाक्लो उपस्थिति थियो। उनको शवनजिकै छोराहरू सत्य र स्वरुप बसेका थिए।
त्यहाँ पुगेकाले आचार्यको शवमा फूलमाला चढाउँदै श्रद्धाञ्जली दिए। र, धेरैजसो संगीतकर्मीले सत्य र स्वरूपलाई अँगालो हाल्दै सान्त्वना। बुवाको मृत्युले टुटेका उनीहरू पनि केहीबेर अँगालोमा बसिरहे।
प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत थुप्रै राजनीतिक नेता तथा विशिष्ट पदाधिकारी पनि आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्न पुगेका थिए।
आचार्यको सम्मानमा संगीतकार संघ नेपालले सांगीतिक कार्यक्रमसमेत राखेको थियो। जहाँ सुरुमा भजन शिरोमणिको चर्चित भजन गुञ्जियो:
तन मन वचनले प्रभु नाम गाऊँ
हरे राम हरे कृष्ण भन्दै रमाऊँ
तन मन वचनले...
त्यसपछि उनकै कालजयी गीत 'जहाँ छन् बुद्धका आँखा' गुन्गुनाए। यो गीत सुन्दा सत्य र स्वरूपले आफूलाई थाम्न सकेनन्। दाजुभाइले पालैपालो गीत गाएर बुवालाई श्रद्धा अर्पण गरे। गायकद्वय सत्य र स्वरूपले गीत गाउँदा त्यहाँको माहोल भावुक बनेको थियो। तर, पनि मलिन स्वरमा उपस्थित सबैले पूरै गीत गाए।
प्रधानमन्त्रीसहित नेताहरूको सामुन्ने अर्को गीत गुञ्जियो। जुन कालजयी गीत थियो:
हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहरजस्तो फेरि भएर आउँछ
हजार सपनाहरूको माया लागेर आउँछ
मैले बाँचेको परिवेश सानो त्यति थिएन
परदेशीजस्तो कोही एक्लो पनि थिएन
अल्झेँ कहीँ त के भो बाटो भुलेको छैन
भाँचिसकेको विश्वास फेरि भएर आउँछ
हजार सपनाहरूको माया लागेर आउँछ
भक्तराजका पनि कयौं सपना थिए होलान्! विसं १९९९ असोज १६ गते धनकुटामा जन्मेका उनी एक वर्षको छँदा परिवार नै बसाइ सरेर भारतको डुवर्स पुगेको थियो। डुवर्समै हुर्केका उनको सानैदेखि संगीतप्रति रुचि थियो।
२०२० सालमा भक्तराज भारतबाट नेपाल फर्किए। विष्णुप्रसादको रचना र आफ्नै स्वर तथा संगीतमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरे। तर, उनलाई रेडियोमा गीत रेकर्ड गर्न भने दिइएन। त्यसपछि उनी डुवर्स नै फर्किए।
२०३० सालताका उनी पहिलो गीत रेकर्ड गराएपछि नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरे। डेढ दशक उनले चर्चित भजन र कालजयी गीतहरू दिन सफल रहे।
उनी करिअरको उत्तरार्द्धतिर थिए। तर, २०४६ मंसिर १९ को मध्यरात बौद्धमा उनीमाथि केही व्यक्तिहरूले सांघातिक आक्रमण गरे। जसले उनको टाउको गम्भीर चोट लाग्यो। लामो उपचारपछि स्वास्थ्यमा केही सुधार आयो। तर, पूर्णतः निको हुन सकेनन् उनी।
उक्त घटनाको पाँच वर्षपछि भक्तराजको जिब्रोमा समस्या आयो। क्यान्सरका कारण जिब्रो नै काट्नुपरेको थियो।
एउटा गायकको लागि स्वर गुमाउनुजस्तो अरू पीडा के हुन सक्छ र! त्यसपछि भक्तराजको जीवनभर गीत गाउने चाहना सपनामै सीमित रह्यो।
प्रतिष्ठान परिसरमै थिए, संगीतकार सुरेश अधिकारी। उनी भक्तराजले जिब्रो गुमाउँदाको पीडादायी घटनाको साक्षी बन्नुपर्दाको अनुभव सुनाइरहेका थिए।
बनेपाको अस्पतालमा बुवासँगै उनी पनि सान्त्वना दिन गएका रहेछन्। ‘मेरो बुवाले भक्तराज बुवा र सुशीला आमालाई भन्नुभएको थियो, ’ अधिकारीले भने, ‘भगवानले तपाईंबाट यति भजनहरू सुन्नुभयो कि अब योभन्दा ठूलो वरदान दिन सक्दैन भनेर यस्तो भएको हो। अब नगाऊ भनेर भगवानले भनेको भन्दै मेरो बुवाले सम्झाउनुभएको थियो। मलाई पनि त्यही नै लाग्छ।’
‘साधनाले खारिँदैखारिँदै जब मान्छे एउटा चरम क्षमतामा पुग्छ, एउटा उर्बर समयमा भएको बेला उहाँले जिब्रो गुमाउनुपर्यो,’ भावुक हुँदै उनी सुनाउँछन्, ‘त्यो पीडा मैले त्यतिखेर देखेको थिएँ। सरस्वतीको पुत्रलाई अब नबोल भनेर दिएको पीडा के हुन सक्छ?'
भक्तराज आचार्य संगीतमा छाएको समय नेपाली संगीतको स्वर्णिम युग थियो। नारायण गोपाल, गोपाल योन्जन, अम्बर गुरूङ, बच्चु कैलाश, प्रेमध्वज प्रधान, नातिकाजी, फत्तेमान राजभण्डारीलगायत मूर्धन्य प्रतिभा समकालीन थिए। त्यही समयका एउटा स्वर्ण खम्बा ढलेको महसुस भएको छ यतिखेर, नेपाली सांगीतिक क्षेत्रमा।
अधिकारी भन्छन्, ‘उहाँका जति पनि सिर्जनाहरु छन्, तिनले नेपाली संगीतको स्वर्ण युग निर्माणमा ठूलो योगदान दिएको छ। उहाँले आफ्नो गायन साधनालाई निरन्तरता दिन असमर्थ भए पनि छोराहरूलाई नेपाली संगीत क्षेत्रको रत्नको रूपमा हामीलाई दिनुभएको छ।'
'हजार सपनाहरुको माया लागेर आउँछ' गीतको अन्त्यसँगै भक्तराज आचार्यलाई पशुपति आर्यघाटतर्फ लगियो। जहाँ उनको चितालाई फूलैफूलले सजाउन लागिएको थियो। केही समय ब्रम्हनालको काम गरियो। त्यसपछि छोराहरूले बुवाको शवलाई चितातर्फ लगे।
श्रीमानको निधनले सुशीला भावविह्वल नै थिइन्। आँखाअगाडि श्रीमानको शव देख्दा उनी आफूलाई सम्हाल्न सकिरहेकी थिइनन्। तर, पनि आफूले लगाएको चुरापोते श्रीमानको छातीमा राखिन्। र, खुट्टा ढोग्दै अन्तिम बिदाइ गरिन्। त्यो दृश्य देख्दा सत्य र स्वरूप बेस्सरी भक्कानिए।
अन्त्येष्टिअघि आर्यघाटमा पुगेका संगीतकर्मीले आचार्यकै कालजयी गीत फेरि स्वस्फूर्त गुन्जियो–
'जहाँ छन् बुद्धका आँखा...'
आर्यघाटमा उपस्थित संगीतप्रेमीले 'भजन शिरोमणि भक्तराज आचार्यको जय होस्' भन्दै बिदा गरे। राष्ट्रिय सलामी दिइयो। सत्य र स्वरूपले दागबत्ती दिए। र, अमर स्रष्टा भक्तराज आचार्यको भौतिक शरीर सदाका लागि अलप भयो।
Shares
प्रतिक्रिया