ad ad

कला


‘रङ्गेली’को प्रिमियरमा रुकुमदेखि आए दया र मिरुना

‘रङ्गेली’को प्रिमियरमा रुकुमदेखि आए दया र मिरुना

नेपालखबर
फागुन २४, २०८० बिहिबार ११:५७, काठमाडौँ

फिल्म ‘रङ्गेली’को प्रिमियर शो गरिएको छ। बुधवार बेलुकी काठमाडौंमा गरिएको प्रिमियरमा कलाकारहरुको बाक्लो उपस्थिति थियो।

फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर प्रिमियरको लागि रातारात रुकुमको तक्सेराबाट काठमाडौं आइपुगेका थिए। त्यहाँ फिल्म ‘घरज्वाईं’ को छायाङ्कन चलिरहेको छ। कलाकारसहित छायाकार सुशन प्रजापति पनि प्रिमियरको लागि रुकुमबाट आएका थिए।

दयाहाङले भने,‘हामी मङ्गलवार राती ११ बजेतिर मात्र रुकुमबाट हिँडेका थियौँ। मिरुना २ दिनदेखि बिरामी थिइन्। बाटोमा विभिन्न समस्याहरू झेल्दै प्रिमियरकै लागि भनेर अनिदो अवस्थामा आइपुगेका छौँ। यो चलचित्रबाट निकै आशा छ।’

एउटै भूमिकामा देख्दै आएका दर्शकले आफूमा नयाँ चरित्र देख्ने बताउँदै दयाले आफूले सधैँ पात्रको इमोशन र दर्शकलाई ‘कनेक्ट’ गराउने प्रयास गर्ने गरेको बताए। प्रिमियर पछि चलचित्रमा दयाको ग्याङस्टर चरित्र र मिरुनाको अप्रत्याशित भूमिकाको तारिफ भएको थियो।

अर्जुन सुवेदीले पहिलो पटक लेखन तथा निर्देशन गरेको यो चलचित्रबाट उनले नेपाली चलचित्र उद्योगले गतिलो निर्देशक पाएको भन्दै प्रशंसा बटुले। बिरामी र अनिद्रामा रहेकी मिरुनाले चलचित्र हेर्न थालेपछि निद्रा सबै हराएको प्रतिक्रिया दिइन्।

फिल्म हेरिसकेपछि मिरुनाले दयालाई फरक भूमिकामा हेर्दा गज्जब लागेको बताइन्। दयाको प्रसंसा गर्दैँ मिरुनाले भनिन्,‘उहाँले गहिरो रूपमा पात्रलाई केलाएर अभिनय गर्नुहुन्छ। उहाँले यसमा ग्रे जोनमा बस्ने पात्रको अभिनय गरेर एकदम राम्रो काम गर्नुभएको छ।’

उनले शालीन जुनकिरी (मिरुना) बाट शक्तिशाली जुनकिरी बन्दै जाने यो फिल्मको स्क्रिप्ट पढ्ने बित्तिकै काम गर्न उत्साहित भएको स्मरण गरिन्। निर्धारित समयभन्दा केही ढिलो प्रिमियर प्रदर्शन सुरु भएता पनि पत्रकार तथा चलचित्रकर्मीसहित झन्डै चार सय पाहुनाले राती ११ बजेसम्म बसेर ‘रङ्गेली’ हेरेका थिए।

चलचित्रका निर्देशक सुवेदीले आफूले चलचित्रमा भन्न खोजेको विषयलाई इमानदारीताका साथ ‘रङ्गेली’मा प्रस्तुत गरेको बताए। प्रिमियरमा हेर्नेहरूबाट प्राप्त प्रतिक्रियाबाट आम दर्शकको रोजाइमा यो चलचित्र पर्छ भन्नेमा विश्वास रहेको उनको भनाई थियो।

‘रङ्गेली’ मा अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको छ। यस फिल्ममा दयाहाङ र मिरुनाको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .