निर्देशक मीनबहादुर भामले आफूलाई सिनेमा सेन्सर हुने देशको नागरिकका रूपमा कल्पना गर्न नसक्ने बताएका छन्। शनिबार सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बोल्दै भामले नेपालमा चलचित्र सेन्सरको अभ्यासप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
बाँसुली, कालोपोथी र साम्बाला जस्ता अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त फिल्म निर्देशन गरेका भामसँग पत्रकार वसन्त बस्नेतले कुराकानी गरेका थिए।
आजको समयमा पनि सिनेमामा सेन्सर हुनु दुःखद कुरा रहेको बताउँदै भामले भने, ‘हरेक कुशल शासकले यस्ता परिबन्ध खुकुलो पार्दै जान्छ। शासकहरुको डिक्टेटरसिप बढी भएको छनकको रुपमा र शासन सत्ता सर्जकसँग डराएको रुपमा म लिन्छु । जुन देशमा बस्यो त्यो देशको कानुन मान्दिनँ भन्नुपर्दा दुःख लाग्छ। तर, सर्जकको सिर्जनामाथि कैँची चलाएर शासन सत्तामा भएका मान्छेले नेपाली सिनेमाको विश्व बजारीकरण गर्नुपर्छ भन्नुहुन्छ।’
‘सेन्सर नगरी सिनेमा प्रदर्शन गर्ने मेरो इच्छा जहिल्यै छ। सिनेमा सेन्सर हुने देशको म कल्पना नै गर्न सक्दिनँ। म त्यस्तो देशको फिल्ममेकर हुँ, जहाँ सिनेमा सेन्सर हुँदैन भन्ने दिन कहिले आउला इन्टरनेसनल फोरममा?’ उनले थपे।
उनले कर तिरेर बेच्न, खान पाइने रक्सी चुरोट सेवन गरेको दृश्य सिनेमामा राख्नको लागि अर्को सर्त मान्नुपर्ने व्यवस्था गरेको भन्दै राज्यले दोहोरो कानुन लगाएकोमा समेत आपत्ति जनाए।
विश्व सिनेमामा मौलिकताको बहसका बारेमा बोल्दै विश्वभरका सबै सिनेमाको एउटै भाषा दृश्यभाषा रहेको भामले बताए। ‘नेपालमा बसेर इरानको फिल्म अंग्रेजी सबटाइटलमा हेर्न पाउनु मेरो विश्व सिनेमासँगको साक्षात्कार हो।’
कस्ता सिनेमालाई विश्व सिनेमा भन्ने प्रसंगमा उनले भने, ‘मेरो लागि एउटा फिल्म तब वर्ल्ड सिनेमा हुन्छ, जब त्यसको कथ्य शैलीमा मेरो पनि कथा भेटिन्छ। घटना मेरो जीवनमा नघटेको भए पनि सामाजिक चेत, राजनीतिक परिदृश्यमा, पात्रमा, कथामा, बनोटमा जहाँ भए मैले मेरो जीवन जगतलाई हेर्ने धारणा त्यसमा भेट्छु, तब त्यो वर्ल्ड सिनेमा हुन्छ।’
विश्वमा मौलिक सिनेमाको बहस लामो समयदेखि हुँदै आए पनि नेपालमा यो नौलो रहेको उनले बताए। ‘एसियामा सबैभन्दा पहिले जापानले मौलिक फिल्म बनाउन सुरु गरेको जस्तो लाग्छ। कुरुसोवाले बनाएका फिल्म संसारभरिका दर्शकका लागि जहिले हेरे पनि बासी लाग्दैनन् । मौलिकताको बहस कोरिया, इरान हुँदै अहिले भियतनामपछि नेपालमा छिरेको छ।’
मौलिकपन पनि दुई खालको हुने कुरा उनले उल्लेख गर्दै उनले भने, ‘मौलिकपन देखिने र नदेखिने, वस्तुगत र विषयगत हुन्छ। मौलिकपनमा देखाउनेतिर मात्रै बहस भयो, भित्र जान सकिएन।’ त्यसो हुनुको कारण दृश्य साक्षरता कम हुनु पनि रहेको उनले जनाए।
आफै पनि सुरुवाती चरणमा देखिने मौलिकतामा भुलेको बताउँदै उनले भने, ‘देखिने र नदेखिने मौलिकताको भेद के हो मलाई नै थाहा थिएन । कालोपोथीपछि मैले आफैलाई प्रश्न गर्न थालेँ। त्यसपछि म पनि देखिने मौलिकतामा दौडिएछु भन्ने मलाई रिअलाइजेसन भयो । त्यसपछि नदेखिने मौलिकपन खोज्ने प्रयास गरेँ। अक्षरमा व्यक्त गर्न नसकिने कुरा मान्छेको हाउभाउमा सिनेमामा देखाउन सकिँदो रहेछ। जसले एउटा सिर्जना लोकल भएर पनि ग्लोबल हुन जाँदो रहेछ।’
आफ्ना लागि काम नै साधना, कर्म र पेसा रहेको र कामले नै आफूलाई परिपक्व बनाउँदै लगेको कुरा पनि भामले बताए।
‘ग्लोबल प्लाटफर्ममा जाँदा सिनेमामा मौलिक कथालाई अलिकति तन्काएर, फुलबुट्टा भर्नु नराम्रो कुरा हो जस्तो मलाई लाग्दैन। मौलिक स्वाद पस्किने भनेर राम्रोसँग नपाकेको रोटी दिँदा कस्तो होला?’ उनले भने, ‘एउटा सर्जकको रुपमा आफ्नो सिनेमा सकेसम्म धेरैले हेरिदियोस् लाग्नु स्वाभाविक हो। उत्कृष्ट प्लाटफर्मको सवालमा फेस्टिभलको कुरा सोच्छु। त्यो बाहेक बाहिर देखाउँला, तामझाम गरौँला भन्ने म सोच्दिनँ।’
समयसँगै आफ्ना लागि अभिनयको परिभाषा पनि फेरिएको भामले बताए।
‘पहिले मलाई जे देखिन्छ त्यो अभिनय हो जस्तो लाग्थ्यो, अहिले जे देखिन्छ त्यो अभिनय होइन जस्तो लाग्छ। अहिले मेरा लागि एउटा कुशल अभिनेता त्यो हो जसले जसले केही गरी आफूले भित्र सोचेको कुरा पर बसेको मान्छेसम्म पुर्याउन सक्छ। त्यसैले अनुभव भएको कलाकारसँग काम गरे पनि नभएको कलाकारसँग काम गरे पनि रोटी बनाउनुअघि पिठो मुछेजस्तो प्रक्रियामा जानैपर्छ। त्यसैले नयाँ या पुरानो कलाकारसँग काम गर्दा खासै फरक लाग्दैन।’
साथै एउटा निर्देशकको काम स्टारलाई चम्काउने मात्र नभएर अँध्यारोमा लुकेको स्टारलाई बाहिर ल्याउने पनि रहेको उनले बताए।
साहित्य, सिनेमा, कलाप्रति राज्य तथा अन्य समर्थ व्यक्तिहरुले चासो नदेखाएका कारण कला क्षेत्रले स्वाभाविक गति लिन नसकेको उनले जनाए। राज्यले कलाकार गहना हुन् मात्रै भनेर नहुने त्यसमा लगानी पनि गर्नुपर्नेमा उनले जोड दिए।
Shares
प्रतिक्रिया