१५ वर्ष सानो/ठूलो पर्दापछाडि काम गरेको अनुभव। त्यही अनुभव सँगाल्दै प्रदीप भट्टराईले सात वर्षअघि 'जात्रा' बनाए। पहिलो फिल्म अनि फरक कथा भन्ने हुटहुटी। जात्रामा देखिएका पात्र हिरोको दायराभित्र पर्दैनथे। एउटा कमर्सियल सिनेमामा किताब पसले हिरो हुन्छ भन्ने थुप्रै मानिसको सोचबाहिरको कुरा थियो। जसकारण प्रदीपलाई 'जात्रा' हिट हुन्छ भन्ने आशा थिएन। सिक्वेल त परको कुरा।
तर, 'जात्रा' रिलिजपछि प्रदीप एकाएक 'स्टार' निर्देशक बने। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको स्कुलिङमा हुर्केका उनको निर्देशनसहित लेखनको प्रशंसा भयो। 'एउटा सामान्य कथालाई पनि यसरी भन्न सकिँदो रहेछ' भन्दै धेरैबाट तारिफ बटुले। २०७३ सालमा रिलिज भएको 'जात्रा' बक्सअफिसमा हिट साबित भएको थियो।
डेब्युमै हिट फिल्म दिएका भट्टराईले २०७५ सालमा महसञ्चारबाट बनेको 'शत्रुगते' निर्देशन गरे। समीक्षात्मक हिसाबले राम्रो नहुँदा पनि यो फिल्म पनि व्यfवसायिक हिसाबले सफल भयो। त्यसपछि भट्टराईले जात्राको सिक्वेल 'जात्रै जात्रा' बनाए। त्यसलाई पनि दर्शकले निकै रुचाए।
गतवर्ष हरिवंशलाई लिएर 'महापुरुष' बनाएर दर्शकको मन जितेका प्रदीप यसपटक 'महाजात्रा' लिएर आएका छन्, जुन शुक्रबार (चैत ९ गते) रिलिज हुँदै छ। यो उनकै फिल्म जात्रा र जात्रैजात्राको तेस्रो सिक्वेल हो।
तेस्रो भागसम्म आए तापनि आफूले सुरुमा सिक्वेलको कल्पना समेत नगरेको निर्देशक भट्टराई बताउँछन्। भन्छन्, 'जात्रा बनाउँदा सिक्वेल बनाउँला भन्ने सोचेकै थिइनँ। एक त सिक्वेल बन्न नाम हुनुपर्छ। राम्रो नाम भएपछि बल्ल भाग खोज्छ। जात्रा बनाउँदाखेरि नाम निसान नै हुँदैन भन्ने लागेको थियो। किनकि जात्रामा त्यो बेलाको परिस्थितिको कथा नै थिएन। त्यो बेला त्यस्तो सिनेमा बन्दैनथे। झन् कमेडी सिनेमाको त ढाँचै अर्कै थियो।'
पीडा पोख्न फिल्म
१५ वर्षजति प्रदीपले स्क्रिप्ट लेखनदेखि निर्देशनसम्मका काम गरे। तर, ती अनुभवभन्दा जात्राको अनुभव ठ्याक्कै फरक थियो। किनकि जात्राको कथा उनले भोगेको जीवननजिक थियो।
'महसञ्चारमा काम गर्दाखेरी हरेक खालका सिनहरु गरेको छु। तर, जात्रा बनाउँदा मेरो अनुभवभन्दा फरक थियो। म जस्तो रहेछ जात्रा। पहिले मेरो कथामा सिनेमा बन्छ, लागेको थिएन। सिनेमा भनेको हिरो हुन्छ। त्यस्तो स्क्रिप्ट लेखेर फालेको पनि थिएँ,' प्रदीपले पुराना दिन सम्झँदै भने, 'जात्रा मेरो जीवनजस्तो थियो। मलाई खुसी लागेको थियो कि मैले मज्जाले आफ्नो पीडा पोख्न पाएँ। तीनैजना पात्रले मेरो प्रतिनिधित्व गर्नु भएको थियो। त्यत्रो वर्षदेखि गुम्सेको पीडा पोखेको थिएँ। त्यो सबै मैले भोगेको जीवन हो। पैसा नहुँदा समाजले गर्ने व्यवहार मलाई थाहा छ।'
आफ्नो कथा भन्ने भएपछि उनी फिल्म निर्माणमा कस्सिए। जसको लागि आफूले श्रीमतीको गहना बैंकमा राखेको सम्झन्छन् उनी।
भट्टराईले भने, 'श्रीमतीको गहना राखेर पैसा हालेको थिएँ। रवीन्द्रजीले परिवारको गहना राखेर पैसा निकाल्नुभएको थियो। त्योबेलामा प्रचारसहित ७१ लाख लागेको थियो। त्योबेला अरुले डकुमेन्ट्री भन्थे। सिनेमा रिलिज भएपछि त्यो खालका अडियन्स पनि रहेछन् भन्ने भयो। सिनेमालाई सिनेमा नभई जीवन पनि सिनेमा हो भनेर हेर्ने रहेछन् लाग्यो।'
अनि सुरु भयो सिक्वेल यात्रा
जात्रामा मुख्य पात्र फणिन्द्र (विपिन कार्की) ले बैंकबाट लुटिएको २ करोड ८० लाख रुपैयाँ भेट्छन्। त्यो पैसा देखेपछि विपिनमा लोभ पलाउँछ। साथीहरु मुन्ना (रवीन्द्र झा) र जोएस (रवीन्द्र सिंह बानियाँ)लाई पैसा पाएको कुरा सुनाउँछन्। त्यसपछि सुरु हुन्छ उनीहरुको पैसा लुकाउने संघर्ष। अन्त्यमा पैसा तीनैजनाको हातबाट उम्किन्छ। जसले दर्शकहरुमा एउटा प्रश्न पैदा गराउँछ: आखिर २ करोड ८० लाख रुपैयाँ कसले खायो? साथी/आफन्तबाट यसै प्रश्नको सामना गरे प्रदीपले पनि।
'त्यो बनाउँदा सिक्वेलको मतलब नै भएन। तर, जात्रा हेरेपछि तीन करोड कसले लग्यो भन्थे। जबकि मलाई थाहै छैन। सबैले यसलाई चाहिँ थाहा छ, हामीलाई नभन्या हो भन्थे। २ करोड ८० लाख कसले खाएको मलाई कहाँ थाहा हुनु? जति लेखेको हो त्यति थाहा हुने त हो। २ करोड ८० लाख खोजी भएपछि जात्रै जात्रा बनेको हो।'
प्रदीप फिल्मलाई मनोरञ्जनबाहेक समाजलाई प्रभाव पार्ने एक सशक्त माध्यम पनि मान्छन्। तर, नेपालमा भने अझै सिनेमाको प्रभाव बुझ्न नसकेको सुनाउँछन् उनी।
'फिल्मको पावर एकदमै ठूलो छ। एकै समयमा धेरै मानिसले हेर्ने र सुन्ने भनेको सिनेमाबाहेक केही छैन। सिनेमाले मानिसलाई यति चाँडो मोटिभेट गर्छ। संसारका धेरैले यसको पावर प्रयोग नै गरिसके। शासकहरुले चुनाव जित्नेदेखि भोट म्यानुपुलेट गरेर जनता आफ्नो पक्षमा राख्नेसम्म गरेका छन्। हाम्रो शासकहरुले सिनेमा प्रयोग गर्न जानेकै छैनन्। न राष्ट्रियताको सवालमा न विकासकै कुरामा। तर, पावर थाहा नपाए पनि सेन्सर गर्न भने लगाउँछन्,' उनी भन्छन्।
त्यसैले प्रदीप कथा लेख्दा मनोरञ्जनसहित अर्को चिज पनि पुगोस् भन्ने सोच्छन्। गतवर्षको माघ महिनातिर प्रदीपलाई एउटा कथाको आइडिया क्लिक भयो। जुन सिक्वेलबारे भने थिएन। बरु युवाहरूको पीडाबारे थियो। देशमा पीडित भएका उनीहरु विदेश पलायन भइरहेका छन्। गएका पनि फर्किन मानिरहेका छैनन्। भएका युवाहरु पनि भ्रष्ट मान्छेको गल्ती र कमजोरी लुकाउने साधन बनेका छन्। युवाहरुको समस्यालाई बुन्दै जाँदा फिल्मको कथा लेखिएको प्रदीपले सुनाए।
'नेपालमा कोही पीडित छन् भने युवाहरु छन्। अहिलेका भाइबहिनीहरूमा नेपाललाई लिएर यति धेरै निराशा छ। गएपछि फर्किन मानिरहेका छैनन्। सचेत नहुने मान्छे मिसयुज भइरहेका छन्। केही न केही तरिकाबाट तिनको कथा भन्नुपर्छ भनेर बुन्दै गएँ,' उनले भने, 'लेखेपछि जात्राको सिक्वेलमा जोडौँ न भन्ने भयो। यो कथा त्यो लुकाउन माहिर भएका तीन युवाहरुको कथा हो। जो लोभले कारणले लुकाउँथे। यसपालि जागिरको कारणले लुकाउँदा के हुन्छ भन्ने नटमा ठ्याक्कै फिट भयो।
सजिलो कि गाह्रो?
फिल्मको सिक्वेल बनाउँदा पहिलो भागलाई मेरुदण्ड बनाएर कथा अघि बढ्छ। कतिपयले सिक्वेलको नाममा जबरजस्ती कथा तन्काएका पनि हुन्छन्। तर, प्रदीपले भने आफूसँग स्पष्ट कथा भएकाले तन्काउन नपरेको सुनाए।
'तन्काउनु भनेको तपाईंसँग भन्ने कुरा नभएपछि पहिलेको कुरालाई तन्काउनु हो। तर, तपाईंसँग स्पष्ट केही कथा छ भने पात्र जे पनि प्रयोग गर्न पाइन्छ। त्यो हिसाबले स्पष्ट कथा भएपछि सिक्वेललाई तन्काउनै पर्दैन। मैले महाजात्राको सवालमा सिनेमालाई तन्काएको छैन। एउटा छुट्टै कथा आएको छ,' उनले भने।
सिक्वेल बनाउँदा निर्देशक र लेखकलाई गाह्रो हुने र निर्मातालाई सजिलो हुने उनको अनुभव छ।
'नयाँ परिस्थितिमा नयाँ पात्र आएपछि त्यो सबै नयाँ हुन्छ। तर, परिस्थिति नयाँ भए पनि पात्र पुरानै हुँदा कतिपय घटनाहरु अलिअलि एकै हुन खोज्छ। किनभने उसले रियाक्ट गर्ने तरिका उस्तै हुन्छ। सिक्वेल बनाउँदा निर्देशक र लेखकलाई गाह्रो हुन्छ,' उनी भन्छन्, 'प्रोड्युसरलाई सिक्वेल बनाउँदा सजिलो छ। हाम्रोजस्तो सीमित लगानी र सानो बजार भएको ठाउँमा प्रचारप्रचारको लागि सिक्वेल निकै राम्रो हुन्छ। सिक्वेलमा थोरै प्रचारप्रसार हुँदा पुग्छ। नयाँ सिनेमा बनाउँदा चिनाउनै समय लाग्छ।'
तर सिक्वेलका नाममा ब्याज खानुसम्म ठिकै भए पनि मिटरब्याज खान उचित नहुने उनको तर्क छ।
'सिक्वेल बेच्न निकै सजिलो हुन्छ। तर, बेच्ने नाममा ब्याज खानुपर्छ, मिटरब्याज चाहिँ खानुहुँदैन,' भट्टराई भन्छन्।
सिक्वेल भएपछि पुरानै कथा होला भन्दै कतिपय दर्शकहरुले कमेन्ट गरिरहेका हुन्छन्। जसले सिक्वेलमा नयाँपन ल्याउने चुनौती पनि त्यत्तिकै हुने उनी औँल्याउँछन्।
'लेखनमा रिपिटेसन सबैभन्दा ठूलो भाइरस हो। सिक्वेलमा झन् डरलाग्दो कुरा। जसले हरेक चिजमा ख्याल गर्नुपर्छ। तर, ख्याल गर्दागर्दै कहीँकतै आउँछ पनि। त्यसको सौन्दर्य नै बनिदिन्छ। महाजात्रामा हामीले ख्याल गरेका छौँ,' उनी भन्छन्।
जात्राको तेस्रो भागसम्म आइपुग्दा पुराना पात्रहरुमा परिवर्तन आए होलान्। बच्चाहरु ठूलो हुँदा तन्नेरीहरु बुढो भए। अनि कोही मोटाए त कोही दुब्लाए होलान् पनि। यस्ता परिवर्तनले सिक्वेलको कथामा खासै फरक नपार्ने उनी बताउँछन्।
'मान्छे सधैँ एउटै हुँदैन। हरेक कुराले परिवर्तन हुँदै जान्छ। म चाहिँ जुन बेलामा सुटिङ गर्छु, त्यही बेलाको कथा भन्छु। जात्राबाट जात्रै जात्रामा आउँदा २ वर्षको ग्याप राखेर कथा भनेको थिएँ। महाजात्रासम्म आउँदा साढे पाँचवर्षको ग्याप छ। समयअनुसार यसमा अहिलेकै कथा छ,' उनले सुनाए, 'जस्तो पहिले फणिन्द्रको छोरा सानो थियो। अहिले १५ वर्षको भइसक्या छ। म परिस्थिति र समयअनुसार कथालाई पनि बगाइदिन्छु। त्यसले उनीहरुको जीवन यसरी चलिरहेको थियो भन्ने देखाउँछ।'
कलाकारहरु हिट/फ्लप हुँदा सिक्वेलको पात्रलाई प्रभाव नपार्ने उनको तर्क छ। 'एउटा डारेक्टर र लेखकलाई खासै प्रभाव पार्दैन। किनकि उसले त एउटा पात्र लिएको हो नि। पात्रलाई अरु सिनेमामा मन पराएको वा नपराएको कारणले खासै फरक पार्दैन। त्यो पात्रमा निभाउने भूमिकामा कमजोरी देखियो भने फरक पार्ला। नभए पनि उसको स्टारडम घट्दा फरक पार्दैन।'
रिलिज मिति नजिकिँदै गर्दा फिल्मलाई लिएर निकै विश्वस्त देखिए प्रदीप। रिलिजको बेला डराउनुभन्दा स्क्रिप्ट लेख्दा ध्यान दिने सुनाए उनले। 'मलाई फिल्म रिलिज हुने भन्दा पनि बनाउनअघि एकदमै गाह्रो हुन्छ। अहिले त त्यस्तो लाग्दैन।'
पछिल्लो समय नेपालमा राजनीतिक कथामा फिल्म बन्ने ट्रेन्ड बढिरहेको छ। फिल्मको ट्रेलर हेर्दा महाजात्रामा पनि राजनीतिक कथाको छनक आउँछ। के उनले त्यही ट्रेन्ड पछ्याएका हुन्?
जवाफमा प्रदीपले भने, 'महाजात्रामा राजनीतिक कथा होइन। हामीले यसमा जात्रा नै देखाएका हौँ। तीनवटा केटाहरुबाट देखिएको राजनीतिक संसार। जात्राको सबैभन्दा रमाइलो पक्ष नै एउटा सामान्य मान्छेले क्राइमको संसार देख्नु हो। सामान्य मान्छे क्राइमको संसारमा जाँदा के हुन्छ भन्ने हो। जात्रा मन पराउनुको कारण पनि त्यही हो। यसपालि चाहिँ ती सामान्य पात्रहरुले तस्करीको संसार देख्नेछन्। महाजात्रा सरप्राइजिङ छ, फिल्म हेरेपछि दर्शकहरु मज्जाले खुसी भएर निस्किनुहुन्छ। जात्रा मनपराउने दर्शकलाई त्यो रमाइलो मनोरञ्जनको प्याकेज त छँदैछ। त्योबाहेक यो पात्रले यसो पनि गर्न सक्छ है भन्ने हुन्छ।'
Shares
प्रतिक्रिया