अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगिसकेको फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौँमा आयोजित कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा एक व्यक्तिले रातो सुटकेट काठमाडौंबाट घिसार्दै बेयुलसम्म लगेको परिवेश देखाइएको छ। ती रहस्यमय व्यक्ति र रातो सुटकेस वरिपरि ट्रेलर घुमेको छ। वैदेशिक रोजगारीको कथासहित जनताको सरकारप्रति चरम निराशालाई समेटेको ट्रेलर अर्थपुर्ण बनेको छ।
फिल्मका मुख्य कलाकारहरूले ट्रेलरमा स्थान पाएका छन्। फिडेल देवकोटाको लेखन र निर्देशनमा बनेको फिल्ममा सहित सौगात मल्ल, सृष्टि श्रेष्ठ, विपिन कार्की र प्रवीण खतिवडा मुख्य भूमिकामा छन्।
यस फिल्मले भेनिसमा मेन्सन अवार्ड जितेको थियो। साथै भेनिसमै स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु निर्देशकको रुपमा देवकोटालाई बेस्ट फिचर फिल्मको अवार्ड समेत प्रदान गरेको थियो। थुप्रै फेस्टिभलमा छनोट भएको फिल्मले विभिन्न अवार्ड जितिसकेको छ।
सुशन प्रजापतिले खिचेको फिल्मको निर्माता निर्देशक देवकोटासहित रामकृष्ण पोखरेल र सोभा थापा हुन्। यो फिल्म चैत ३० गतेबाट रिलिज हुँदैछ।
Shares
प्रतिक्रिया