प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ ले दश करोड १४ लाखको व्यापार गरेको छ। देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले दुई सातामा दश करोड १४ लाख ग्रस कलेक्सन गरेको हो।
गत चैत ९ गतेबाट रिलिज भएको महाजात्रा आजबाट तेस्रो सातामा प्रवेश गरेको छ। पहिलोसाता ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको फिल्मले पछिल्लो साता तीन करोड ९० लाख ग्रस कलेक्सन गरेको हो। योसँगै ‘महाजात्रा’ २०८० सालको धेरै कमाउने दोस्रो फिल्म बन्न सफल भएको छ। यसैवर्ष वैशाख १ गते रिलिज भएको उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ १७ करोड १७ लाख ग्रस कलेक्सन गरेको थियो।
निर्माता म्याक्स दीपेश खत्रीले फिल्मले सम्पूर्ण परिवारलाई दर्शक बनाएर हलसम्म ल्याउन सफल भएको बताए।
‘फिल्म हेर्न तीन पुस्ता नै हल आउनुभएको पाएँ। उहाँहरू आउँदा जति खुसी हुनुहुन्थ्यो, फर्किदा झनै खुसी देखिनुहुन्थ्यो । दर्शकलाई सन्तुष्ट पार्नु नै हाम्रो सफलता हो। हामीले नेपालसँगै विदेशमा पनि उस्तै व्यवसाय भएको विवरण प्राप्त गरेका छौँ । प्रवासमा आयोजित शोहरू सोल्ड आउट भएको देख्दा हर्षित भएका छौँ।’
भारत बाहेकको फिल्म वितरणको अधिकार प्राप्त एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामा दुईसातामा ५७ शो भएको छ। यस्तै, अमेरिकामा ५० शो, न्युजिल्यान्डमा १२ शो, युरोप अन्तर्गतका देशमा ३५ शो, क्यानडामा १० शो, जापानमा १० शो र दक्षिण कोरियामा १० शो भईसकेको छ। यी सबै शो सोल्ड आउट भएका थिए।
मध्यपूर्व अन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ। मलेसियामा ६० शो भईसकेको छ भने युनाइटेड अरब इमिरेस्टमा दैनिक २० शो भइरहेको छ। नेपाल झैँ मध्यपूर्वका ठूला सिनेमा चेनहरु भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म विदेशी झैँ नियमित प्रदर्शन भइरहेको छ ।
निर्देशक प्रदीपकै कथा रहेको यस फिल्ममा विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, हरिवंश आचार्य, दिव्य देव, पुष्कर गुरुङ, शिशिर वाङ्देल, रवीन्द्र सिंह बानियाँलगायतको अभिनय छ।
बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्। यो हिट फिल्म जात्रा र जात्रैजात्राको तेसो सिक्वेल हो।आपत्कालीन अवस्थामा पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई महाजात्रामा रोचक शैलीमा प्रस्तुत गरिएको छ।
Shares
प्रतिक्रिया