तपाईंलाई थाहा छ शरीरजस्तै मस्तिष्क पनि भोकाउँछ नि! त्यसोभए मस्तिष्कको भोक मेटाउने काम के ले गर्छ त? पुस्तक, नाटक र सिनेमाले! एकैपटक धेरैवटा भान्छामा पकाउनु, खानु अफ्ठ्यारो काम हो। त्यसैले आउनुस्, अहिलेलाई हामी नेपाली सिनेमाको भान्छामा छिरौँ। भर्खरै घर्किएको (वि.सं.) २०८० सालमा नेपाली सिनेमाको चमेनागृहमा मस्तिष्कका लागि के के खानेकुरा पाके त? एकपटक त्यो मेनु पल्टाएर हेरौँ न त।
नेपाली खाना : दाल, भात, तरकारी, अचार
हरेक नेपालीले हरेक दिन आफ्नो मुख्य आहारको रूपमा खाने खाना हो- नेपाली खाना। अर्थात्, दाल, भात, तरकारी र अचारको संयुक्त परिकार।
भात
तरकारी
भातपछि नेपालीले भातसँगै मुछेर मीठो मानेर झण्डै-झण्डै भात जति नै खान्छ- तरकारी। २०८० मा तरकारीजसरी हाम्रो सिनेभान्छामा 'लभस्टोरी' पाक्यो भन्न सकिन्छ। लभस्टोरी सिनेमाको नाम लिँदै गर्दा केही सिनेमाको नाम दोहोरिएर आउलान्। प्रेम आखिर समाजकै अंश हो। त्यसैले लभस्टोरी र सोसल ड्रामा प्राय एकअर्कामा खप्टिएर आउँछन्। भात र तरकारी आखिर मुछेरै खाइने त हो।
तरकारीजस्तै मीठो मानेर नेपाली सिनेमा बजारले यो वर्ष खपत गरेका केही लभस्टोरी हुन्, जारी, परदेशी-२, परस्त्री, बगान, एक भागवत, एक गीता, नाइँ नभन्नु ल- ६, बिहे पास, आदि। यी फिल्महरूमा कतै अविवाहित जोडीको प्रेममा आउने उतारचढाव त कतै विवाहित जोडीको मिलन-वियोगका कथा भनिएका छन्। सोसल ड्रामाजस्तै लभस्टोरी पनि नेपालीहरूले औधी रुचाउने जनरा हो।
दाल
नेपाली खानाको थालीमा नभई नहुने अर्को परिकार हो- दाल। थोरैथोरै दाल हालेर भातलाई भिजाई भिजाई खाँदा मात्र खाना सुपुक्क घाँटीबाट पेटतिर ओर्लिन्छ र जिब्रोलाई पनि स्वाद आउँछ। दालले नभिजेको खाना न जिब्रोलाई मीठो हुन्छ न त घाँटीबाट ओराल्नै सकिन्छ। झोलिलो दालबिना खाना निस्तो हुने भएजस्तै ह्युमरबिनाको सिनेमा पनि दर्शकलाई निस्तो हुन्छ। यस अर्थमा नेपाली सिनेमाको एउटा विशेषता ह्युमर पनि हो। जस्तो कि सोसल ड्रामा र लभस्टोरी सिनेमामै पनि कतै न कतै ह्युमर अवश्य भेटिन्छन्। नेपाली चलनचल्तीका उखान, टुक्का र दैनिक जनजीवनमा चलिआएका ठ्ट्यौलीहरूको प्रयोग गरेर फिल्मलाई रसिलो-झोलिलो बनाउन ह्युमरको प्रयोग गरिएकै पाइन्छ।
कति नेपालीले त भातभन्दा धेरै दाल खान्छन्। उनीहरूको खानाको थाली झण्डै स्विमिङ पुलजस्तै देखिन्छ। कति दालप्रेमीहरू त भात खाइसकेर दाल मात्रै पनि पिउने गर्छन्। कतिलाई सुप पिएजसरी दाल पिउन मीठो लाग्छ।
दालको यसरी महिमागान गर्दैगर्दा विचार गर्नुपर्ने कुरा यो पनि हो कि, यो चिज बढी बाक्लो पाक्यो भने पनि डल्लो परेर खाना निस्तै हुनसक्छ। या फेरि बढी पातलो पाक्यो भने पनि त्यसले सम्पूर्ण थालीकै स्वाद बिगारिदिनसक्छ। तसर्थ, सिनेमामा पनि सन्तुलित ह्युमर मिसाउनु चुनौतीपूर्ण काम हो। त्यसो त नुन र तड्का ठिक्क मिलेको कमेडी सिनेमा पकाउन पनि उत्तिकै चुनौतीको सामना गर्नुपर्ने हुन्छ।
यी फिल्मको मुख्य लक्ष्य भनेकै दर्शकलाई हँसाएर मनोरञ्जनात्मक शैलीमा कथा भन्नु हो। २०८० मा दिमाग खराब, दयारानी, जिग्री, महाजात्रा आदिले दर्शकलाई हसाउँदै कथा भन्ने कोसिस गरेका छन्।
अचार
नेपाली खाना खाँदा सबैभन्दा थोरै खाइने परिकार हो- अचार। पिरो-पिरो, नुनिलो-अमिलो यो चिजलाई औंलाले थोरै लिँदै जिब्रोमा चटाउँदै सीमित मात्रामा खाने हुँदा यसलाई चटनी पनि भन्ने गरिन्छ। नेपाली सिनेमाको भान्छामा पनि अचारजस्तै सीमित मात्रामा बन्ने सिनेखुराक अर्थात् जनरा हुन्- मिस्ट्री, सस्पेन्स, हरर र थ्रिलर। यी जनरामा नेपालमा अति थोरै फिल्म बन्ने गर्छन्, नेपालीको भान्छामा चटनीजस्तै।
मिस्ट्री र सस्पेन्सको कुरा गर्नुपर्दा अन्य जनराकै फिल्ममा पनि आवश्यक ठाउँमा धेरै-थोरै प्रयोग हुँदा फिल्म समग्रमा राम्रो बन्नसक्छन्। तर, नेपालमा अधिकांश सिनेमाको कथानक प्रेडिक्टेबल हुनु तितो सत्य हो। त्यसैले, अमिलो-पिरो अचार अर्थात् सस्पेन्स, थ्रिलर जनरामै सिनेमा बन्नु त अति दुर्लभ कुरा। त्यसो त, अल्छी र गरिबीका कारण कति नेपालीले अचारबिना पनि खाना खाइदिन्छन्। खैर, २०८० मा भने मिस्ट्री जनरामा 'डाकिनी' ‘रातो सुटकेस’, र साइको थ्रिलर जनरामा 'बसेन्जी' जस्ता सिनेमा बन्दा नेपाली खानाको थाली पूर्ण भएको छ।
तर, यसको व्यङ्ग्यात्मक पक्ष के हो भने यी तीनमध्ये दुई सिनेमाका निर्देशक गैर-नेपाली हुन्। नेपाली सिनेमाका दर्शकलाई चटनी बनाएर खुवाउन फिल्ममेकर विदेशदेखि आउनुपरेको छ। अपेक्षा गरौँ, २०८१ साल नेपाली दर्शकका जिब्रोलाई विदेशीले भन्दा पनि नेपाली फिल्ममेकरले नै चटनी चटाउन सकून्!
२०८० को ट्रेन्डिङ मेन्यू
चिया : युवा राजनीति
कफीले बजार खाइसक्नै लागेपछि पुरानो नेपाली पेय, ‘चिया’ लोप हुने खतरा भयो। त्यसपछि कफीप्रति लालायित युवालाई लोकल चियाप्रति नै आकर्षित गराउन भनेर चियाको अपडेटेड भर्सनहरू नेपाली बजारमा निस्किन थाले। मसला चिया, मट्का चिया, रङ कडा हालेको घनश्याम चिया, चिनीको सट्टा सख्खर हालेको सख्खर चिया, नरिवलको धुलो हालेको कोकोनट चिया, उमाल्दा उमाल्दा गरेर बाक्लो पारिएको कटिङ चिया, आदि इत्यादि। नेपाली बजारमा बढ्दो मात्रामा चिया पसल खुले र खुल्ने क्रम जारी छँदैछ। र यो व्यवसायमा धेरैजस्तो युवा नै देखिन्छन्। जसरी कफीको जगजगी रोक्न युवाहरूले चियाको व्यापार व्यापकसँग गरे त्यसरी नै देशको राजनीतिमा पनि युवा पुस्ताले र विशेषगरी स्वतन्त्र युवा पुस्ताले गत साल दरिलो हस्तक्षेप गर्यो। र नेपाली सिनेमामा पनि यो परिवर्तित राजनीतिक परिवेशलाई सिनेकर्मीहरूले उत्साहजनक रूपमा समेटे।
अभिमन्यू निरवीको लेखन र कृषा चौलागाईंको निर्देशनमा बनेको ऐँचोपैँचोले पछिल्लो राजनीतिक परिवेशको कथा भनेको छ। हाम्रोलाई नभएर राम्रोलाई मतदान गर्नुपर्छ भन्ने सन्देशसहितको यो फिल्मले एउटा सचेत युवाले कसरी स्वतन्त्र उम्मेदवारी दिएर पनि स्थानीय तहको चुनावमा वर्षौंदेखि स्थापित भ्रष्ट नेतालाई हराउँछ भन्ने कथा सुनाउँछ।
यस्तै, २०८० को अर्को युवा-राजनीति बोल्ने फिल्म हो- नाङ्गो गाउँ। दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको यस फिल्ममा पनि गाउँ-समाजमा हुने विकृत राजनीतिक अभ्यासलाई नङ्ग्याएर पारदर्शी पार्ने कोसिस भएको देखिन्छ। ऐँचोपैँचोमा स्थापित भ्रष्ट नेतालाई हराउन एउटा स्वतन्त्र युवा सफल भएको थियो भने नाङ्गो गाउँमा त्यस्तै एउटा शिक्षक भने विफल हुन्छ। उता ऐँचोपैँचोले प्रोटागनिस्टलाई जिताइदिएर परिवर्तन सम्भव छ भन्ने सन्देशसहित युवालाई प्रत्यक्ष प्रोत्साहन गर्छ भने यता नाङ्गो गाउँले प्रोटागनिस्टलाई हार्न लगाएर युवाहरूमाथि कटाक्ष गर्छ- किन रोइस् मङ्गले, आफ्नै ढङ्गले! अप्रत्यक्ष रूपमा युवाहरूलाई झकझक्याउँछ- कहिलेसम्म यसैगरी भेडा भइरहने?
गत वर्ष नै धेरैभन्दा धेरै दर्शकले रुचाएको युवा राजनीतिमै आधारित अर्को फिल्म हो- दिमाग खराब। उस्तै कथामा बनेको भए पनि निश्चल बस्नेत निर्देशित यो फिल्ममा त्यसो त चर्चित अनुहारहरूको लर्को नै छ। तर, फिल्मभित्र कथा बलियो भएकै कारण फिल्मले १०० दिन मनाउन सफल भएको हो। अघिल्ला दुई फिल्ममा भन्दा फरक यो फिल्ममा के छ भने यसमा गाउँ र सहरको मिश्रण छ। अरूभन्दा बेग्लै रहेर विकेन्द्रीकृत शैलीमा कथा भन्ने यो फिल्म कुनै एउटा पात्रको वरिपरि मात्र घुम्दैन। सबै पात्रले उत्तिकै स्पेस पाउँदा फिल्म रुचिकर बनेको छ। यो फिल्ममा न त पक्षको जित देखाइएको छ, न त विपक्षको हार नै। तर, फिल्मले परिवर्तनको चाहना र युवा जोसलाई सुरुदेखि अन्त्यसम्मै बरकरार राख्न सकेको छ। क्लाइमेक्स यसरी बुनिएको छ कि त्यसले दर्शकको जोशलाई दुईगुणा बढाइदिन्छ।
ढिँडो : अर्गानिक स्टोरी
२०८० को ट्रेन्डिङ मेन्यूमा अर्को परिकार छ- ढिँडो। अर्थात् नेपालीहरूको अर्गानिक परिकार। कृषिप्रधान देश नेपालमा मकै, गहुँ, फापर, कोदो आदि जस्ता आफ्नै माटोमा फल्ने अन्नलाई नेपालीहरूले खाली पानी हालेर सक्दो प्राकृतिक रूपमा पकाएर खाने परिकार हो ढिँडो। ढिँडोमा न त स्वादका लागि भनेर नुन हालिएको हुन्छ न त रङका लागि भनेर बेसार। न त जिब्रो खुसी पार्न तेल नै राखिन्छ।
ढिँडोजस्तै माटोका कथा अर्थात् स्थानीय कथालाई टपक्क टिपेर शृंगार नगरी सक्दो जस्ताको त्यस्तै पस्किने ट्रेन्ड नेपाली सिनेमामा पछिल्लो समय बढ्दै गएको देखिन्छ। नेपाली भूगोलको मौलिक कथा भन्ने यस्ता सिनेमामा उही भूगोलकै भाषा र जीवनशैलीलाई पनि सक्दो प्राकृतिक रूपमा देखाउने प्रयास गरेको भेटिन्छ।
२०८० मा बनेका केही त्यस्तै अर्गानिक कथा हुन्- हल्कारा, बुलाकी र महानगर। ओस्कार फिल्म फेस्टिवलमा समेत पठाइएको आकाश बराल लिखित एवं विकास सापकोटा निर्देशित हल्काराले पुरानो समयको कथा भन्छ जतिबेला मानिसहरूको सञ्चारको माध्यम भन्नु नै चिठी हुने गर्थ्यो। नेपालका पहाडी भेगहरूमा खिचिएको यस फिल्ममा पात्रको हुलिया, लवज र उनीहरूको जीवनशैलीको समय सान्दर्भिक चित्रण पाइन्छ जसले गर्दा फिल्म नेपाली समाजको फ्ल्यासब्याक वा नोस्टाल्जिया बन्न पुगेको छ।
चिठीयुगमा एउटा हुलाकीको महत्त्व र जिम्मेवारी कति हुने गर्थ्यो र त्यो समय प्रतीक्षा र धैर्यसँग मानिसको सम्बन्ध कति गहिरो थियो? फिल्मले यो महसुस गराउँदै गर्दा दर्शकलाई लोभ्याउनकै लागि भनेर अनावश्यक शृंगार गरेको कतै भेटिँदैन। अमेरिकामा सम्पन्न नऔं एसियन वर्ल्ड फिल्म फेस्टिवलमा समेत हल्काराको प्रदर्शन भएको थियो।
ढिँडोजस्तै प्राकृतिक बनेको २०८० को अर्को नेपाली सिनेमा हो लक्ष्मण सुनार निर्देशित बुलाकी। नेपालको कर्णाली क्षेत्रमा खिचिएको यो फिल्मले पनि नेपालको हिमाली-पहाडी भेगतिरको मौलिक कथा भन्छ। कथासँगै पात्रहरूको भेष र लवजमा नेपाली पहाडी भुगोल झल्कियोस् भन्नेमा विशेष ख्याल गरिएको पाइन्छ।
यस वर्षको अर्को अर्गानिक सिनेमा हो मोहन राई निर्देशित ‘महानगर’। अर्गानिक कथा भन्नेबित्तिकै गाउँको कथा, दुर्गमको कथा भन्ने गलत मानसिकता हामीकहाँ विकास हुँदै गर्दा राई निर्देशित महानगरले नेपाली दर्शकहरूको सिनेमा समझमाथि बौद्धिक हस्तक्षेप गरेको छ। फिल्मले देशको राजधानीमा रहेको महानगरभित्र खिचिएको एक रातको कथा भन्छ। गाउँबाट एउटा सामान्य सपना बोकेर सहर छिरेकी एउटी महिलाले सहरमा स्वाभिमानसहित बाँच्न गरेको संघर्षबीच उथलपुथल भएको उसको मनस्थितिलाई फिल्मले कलात्मक ढंगले प्रस्तुत गरेको छ।
सहरको कथा पनि पोलिस नगरी भन्न सक्ने हो भने अर्गानिक हुनसक्छ भन्ने कुराको उदाहरण महानगरले पेस गरेको छ।
गुन्द्रुक : आदिवासी कथा
बिना नुन, बिना तेल पानीमा मात्रै मस्काएर पकाइएको ढिँडो निस्तै खान सकिँदैन। जसरी भातलाई दालमा भिजाएर लपक्क पारेर खाइन्छ, ढिँडोलाई पनि गुन्द्रुकले भिजाई भिजाई खाने प्रचलन नेपाली समाजमा छ। कुनै पनि भूगोललाई विशेषता दिने काम त्यहाँ बोसोबास गर्ने निश्चित समुदाय र तिनले अभ्यास गर्ने संस्कृतिले गर्छ।
२०८० मा जारी र नीरफूलजस्ता सिनेमाले आदिवासी संस्कृतिका कथा भनेका छन्। कवि उपेन्द्र सुब्बा निर्देशित जारीले पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समाजको संस्कृति झल्किने गरी एक दम्पतीको प्रेम कथा सँगसँगै लिम्बू समाजमा प्रचलित जारी प्रथाको कथा पनि भन्छ। यसरी पत्रपत्रमा कथा भन्ने यो फिल्म निर्देशक सुब्बाको मात्र पहिलो फिल्म नभएर २०८० को पनि पहिलो फिल्म थियो। फिल्मले उत्साहजनक शो, दर्शक र प्रतिक्रिया पाएको थियो।
अर्को फिल्म नीरफूलले भने नेपालको रुबी भ्याली क्षेत्रका तामाङ समुदायको संस्कृतिलाई चित्रण गरेको छ। वि.सं. २०७२ सालमा गएको भूकम्पमा परी शारीरिक र आर्थिक क्षति भएका तामाङ परिवारले तामाङ भएकै कारण भाषाको समस्याका कारण भोग्नुपरेको पीडा र समाजले उनीहरूसँग गरेको ज्यादती र अन्यायको कथालाई फिल्मले देखाउने कोसिस गरेको छ।
पछिल्लो समय भूगोलसँगै त्यहाँका आदिवासीहरूको संस्कार झल्किने कथाहरूमा नेपाली सिनेमा बन्ने क्रम बढेको छ।
डाइट प्लान : सिक्वेल संस्कृति
नेपालीहरूको खानकीको ट्रेन्डमा पछिल्लो समय डाइट प्लान निकै फस्टाएको छ। बिहान नास्तामा के खाने, खानामा के खाने, साँझ र राति के खाने? योजनाबद्ध र शृङ्खलाबद्ध रूपमा नेपालीहरूले पौष्टिक आहार गर्ने परिपाटी बस्दै गर्दा पछिल्लो समय नेपाली सिनेमामा पनि सिक्वेलको ट्रेन्ड फस्टाएको देखिन्छ। त्यसो त वर्षौं अघिदेखि ‘नाइँ नभन्नु ल’ र ‘कबड्डी’जस्ता फिल्मका सिक्वेलहरू बन्दै आएका हुन्। ती फिल्महरूको व्यापारिक सफलता स्पष्ट देखिँदै गर्दा २०८० मा अरू फिल्महरूले पनि भाग २ पस्किएर वा भाग २ को छनक दिएर सिक्वेलको ट्रेन्डलाई पछ्याउन सुरु गरेका छन्।
त्यसको उदाहरणमा छन् ‘परदेशी- २’ र ‘पशुपतिप्रसाद- २ (भष्मेडन)’। खगेन्द्र लामिछानेको लेखन र दीपेन्द्र के खनालको निर्देशनमा ७ वर्षअघि बनेको पशुपतिप्रसाद-१ को कथाबाट लोकप्रिय पात्र भष्मेडनलाई लिएर पशुपतिप्रसाद- २ बनाइएको छ। फिल्मले पशुपतिप्रसाद युनिभर्स नै बनाउने घोषणा गर्दै सिक्वेललाई निरन्तरता दिने उद्घोष समेत गरिसकेको छ।
नारायण रायमाझी निर्देशित पारिवारिक चलचित्र परदेशी- २ ले व्यापारिक सफलता हासिल गरे पनि समीक्षकहरूबाट सोचेजस्तो स्याबासी पाउन भने सकेन। यद्यपि, मास अडियन्सका लागि बनेको यो कमर्सियल फिल्मले वैदेशिक रोजगारीमा युवाहरू विदेशिँदा परिवारिक विग्रहले दिने पीडा र समस्याबारेको कथा सुनाउँछ।
त्यसो त २०८० मा ‘रङ्गेली’, ‘अगस्त्य’, लगायत कतिपय सिनेमाले त पहिलो भाग पस्किँदै गर्दा दोस्रो भागको उद्घोष पनि गरिसकेका छन्। नेपाली फिल्ममेकरहरू मानौँ डाइट प्लानअनुसार दर्शकमाझ सिनेखुराक पस्किरहेका छन्।
कम्प्लिमेन्टरी डिस
घ्यु चिया : स्पिरिचुअल मिस्ट्री
नेपालको हिमाली क्षेत्रमा प्रचलित विशेष प्रकारको चिया हो ‘घ्यु चिया’। तिब्बतबाट सुरु भएर भुटान, भारत, नेपालका हिमाली शृंखलाहरूमा फैलिएको यो चिया तयार गर्ने प्रक्रिया र यसको स्वाद अन्य चियाको भन्दा बिल्कुल फरक छ। विशेषगरी, गाईको दूध राखेर बनाइने यो चियामा, चियापत्तीलाई गाढा हुन्जेल पकाएर घ्युसँग मिसाएर राम्रोसँग फिटिन्छ। अन्य चियामा चिनी, सख्खर, आदि राखिने गरेपनि यो चिया भने नुन राखेर पकाइन्छ।
एसियाका विभिन्न संस्कृतिमाथि सिनेमा बनाउँदै आएका भुटानी फिल्ममेकर खेन्त्से नोर्बु रिन्पोछेले गत वर्ष घ्यु चियाजस्तै लयालु र कोमल नेपाली सिनेमा ल्याए- ‘डाकिनी : लुकिङ फर अ लेडी विथ फ्याङ्स एन्ड मस्टाच’। घ्युजस्तै कोमल भइकन पनि जिब्रोमा भने टाठो महसुस हुने नुनको जस्तै तड्का पनि सिनेमामा भेटिन्छ।
मुख्य पात्र तेन्जिङले बारम्बार नराम्रो सपना देखेपछि त्यसबाट मुक्ति पाउन तान्त्रिकको सल्लाहअनुसार काठमाडौँका गल्लीगल्ली भौँतारिएको कथामा फिल्म बनेको छ। नेपालको काठमाडौँ उपत्यकामा पौराणिक कालदेखि चलिआएको तान्त्रिक अभ्यासलाई फिल्मले पुन: एकपटक ब्युँत्याउने कोसिस गरेको छ भने यही उपक्रममा फिल्मले बोधी सन्देशसमेत पस्किन भ्याएको छ।
अन्य नेपाली सिनेमाभन्दा फरक र सुललित यो किन पनि छ भने यसले कम संवाद गर्छ र दृश्य भाषालाई बृहत् स्पेस दिन्छ। अर्थात् भिजुअल स्टोरिटेलिङमार्फत् कथा सुनाउँछ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फिल्म
पछिल्लो समय नेपालमा तयार पारिएका खाद्यवस्तु विदेश निर्यात हुने क्रम बढ्दै गर्दा नेपाली फिल्महरूले पनि अन्तर्राष्ट्रिय मञ्च पाउने क्रम उत्साहजनक देखिन्छ।
नवीन सुब्बा निर्देशित ‘खाङ्ग्री’ ले आजभन्दा २८ वर्षअघि इटालीको ट्रिन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा कदम राख्दै नेपाली सिनेमालाई पहिलोपटक विश्वबजारमा भित्र्याएको थियो। तिनै निर्देशकको ‘गाउँ आएको बाटो’ यो वर्ष पनि साउथ कोरियाको बुसान, क्यानडाको टोरोन्टो, ब्राजीलको साओ पाउलो, मुम्बइको मामी, स्विडेनका गोटेनबर्ग र एसियाटिस्का लगायतका फिल्म फेस्टिबलमा प्रदर्शन भइसकेको छ। दयाहाङ राई र पशुपति राईको मुख्य भूमिका रहेको यस फिल्मले गाउँमा सडक आएपछिको एउटा परिवारको कथा भन्छ। यो फिल्म यही वर्ष २०८१ मा नेपाली हलहरूमा समेत लाग्ने योजनामा छ।
यस्तै, ओस्कार मनोनित फिल्म ‘कालोपोथी’बाट सिनेमा निर्देशनमा हात हालेका मीनबहादुर भामको पछिल्लो फिल्म ‘शाम्बाला’ पनि यो वर्ष जर्मनीको बर्लिन फिल्म फेस्टिबलमा प्रतिस्पर्धाको लागि छानिएको छ। बर्लिनमा यसअघि कुनै पनि नेपाली फिल्म प्रतिस्पर्धाका लागि पुगेका थिएनन्। थिन्ले ल्हामो र सोनाम तोप्देनको मुख्य भूमिका रहेको यस फिल्ममा गर्भवती महिला र उनको पतिबीचको जटिल प्रेमकथा र नेपालको हिमाली भूगोलमा उनीहरूले बाँचेको उस्तै जटिल जीवनको चित्रण गरिएको छ।
विश्वबजारमा यो वर्ष उल्लेख्य सहभागिता देखाउने अन्य नेपाली सिनेमाहरूमा ‘द विटनेस ट्री’, ‘गुराँस’, ‘द रेड सुट्केस’, ‘ढोरपाटन’, ‘डाइभर्सिटी प्लाजा’ लगायत रहेका छन्।
र, २०८१ मा 'बोक्सीको घर'
भर्खरै बिदा भएर गएको २०८० सालले झण्डै ५० भन्दा बढी नेपाली सिनेमाहरू चखाएर जाँदै गर्दा तीमध्ये व्यापारिक र समीक्षात्मक दुवै सफलता उत्तिकै र एकसाथ पाउन सफल सिनेमा भने अति न्यून छन्। ढिँडो र गुन्द्रुकजस्तै अर्गानिक स्वाद बोकेको आदिवासी कथा भन्ने सोसल ड्रामा-जारी र युवा राजनीतिमा आधारित कथा भन्ने ह्युमरस सिनेमा ‘दिमाग खराब’ ले व्यापारिक र समीक्षात्मक दुवै पाटोमा उत्तिकै सफलता हात पारेका छन्।
खैर, व्यापारिक सफलता औसत गरेको भए पनि सिनेम्याटिक सौन्दर्यको हकमा घ्यु चियाजस्तै सुललित बगेको ‘डाकिनी’ सर्वप्रिय देखिन्छ भने (वि.सं.) २०७९ सालमा सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’लाई जस्तै दर्शकहरूको सर्वाधिक प्रेम भने २०८० मा विकास सापकोटाको ‘हल्कारा’ ले पाएको छ।
यो मेन्यू हेर्दा गत वर्ष नेपाली सिनेमाले थरीथरीका जनरामा स्वादस्वादका कथा पस्किएको छ। नयाँ वर्ष २०८१ को सिनेभान्छा त खुल्न भ्याइसकेको छैन। तर, अनुमान गर्न सकिन्छ, यो वर्ष पनि युवा राजनीतिमा आधारित र आदिवासी संस्कृतिसम्बन्धित कथामा बनेका सिनेमा उल्लेख्य सङ्ख्यामा पस्किइनेछन्।
र २०८१ मा नेपाली सिनेमाका दर्शकलाई सम्भवतः सुलक्षण भारतीको 'बोक्सीको घर'ले स्वागत गर्नेछ।
Shares
प्रतिक्रिया