नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिकर्मीले आफैं विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताएका छन्।
बुधवार काठमाडौंमा चलचित्र बोक्सीको घर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले समाज आफैं बदलिन्छ भनेर सन्तोष मानेर बस्न नहुने बताए। उनले राजनीतिक कार्यकर्ताहरूले समाज विकासको गति बढाउन आवश्यक रहेको बताए।
उनले भने, ‘हामीले सन्तोष मान्नु हुँदैन। किन मान्नु हुँदैन भने समाज आफैँ बदलिरहेको छ, बदलिरहन्छ, बिस्तारै हुँदै जान्छ भनेर मात्रै हुँदैन। १० वर्षमा हुन्छ भनेर छोड्यौँ भने त हामी जस्तो राजनीतिक कार्यकर्ता किन चाहियो। यसको गति बढाउने काम हाम्रो हो।’
चलचित्र बोक्सीको घरले समाज विकासका लागि ठूलो भूमिका खेलेको बताए। उनले नेपाली समाज अझै बदलिन नसकेको र बदल्न आवश्यक रहेको बताए।
उनले भने, ‘यसमा केकी अधिकारीको चलचित्रले ठूलो भुमिका खेल्छ। यति धेरै महिलाहरुले सेक्सुहल ह्यारिसमेण्ट आफ्नो जीवनमा व्यहोर्नुपरेको छ। आफ्ना नातागोताहरुबाट। यसलाई बाहिर बताउन सकेका छैनौँ। नेपाली समाज धेरै बदलिएको छैन, बदल्नुपर्नेछ। यो फिल्मले आधार दिएको छ।’
कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले चलचित्रलाई देशभित्र र बाहिर पनि दर्शकले उच्च साथ दिएको बताइन्। चलचित्रले समाजमा रहेको विकृति र विसंगतिको बारेमा आवाज उठाएको उनको भनाई छ।
अभिनेत्री अधिकारीले चलचित्र बोक्सीको घरलाई चलचित्रमा मात्रै सिमित नगरी चलचित्रले उठाएका आवाजका बारेमा बहस हुन जरुरी रहेको बताइन्।
Shares
प्रतिक्रिया