माया- आकाश कति टाढा छ है! छुन मिल्ने भा भए नि है!
रूपा- छुन सक्छौँ हामीले।
माया- कसरी?
मायाको पेटमा काउकुती लगाउँदै रूपाले जवाफ दिन्छिन्- यसरी।
त्यसपछि दुवैजना एकअर्कालाई काउकुती लगाउँदै जिस्किन्छन्। भुइँमा पल्टिएर खुला आकाश नियालिरहेका माया र रूपा निस्फिक्री हाँस्छन्।
लघु चलचित्र ‘सनई’ हेर्दै गर्दा यो दृश्यले धेरैलाई आफ्नो किशोरकालमा फर्काइदिन सक्छ। माया र रूपा आकांक्षा कार्की निर्देशित १४ मिनेट लामो ‘सनई’ का पात्र हुन्। दुई किशोरीबीचको मित्रतावरिपरि घुमेको फिल्मको केन्द्रमा छ, जातीय विभेदको कथा ।
माया कथित उपल्लो जातकी हुन्छिन् भने रूपा कथित दलित। एउटै कक्षामा पढ्ने दुवैजना एकअर्काको साथ मन पराउँछन् । एकअर्कासँग खेल्न र समय कटाउन हुरुक्कै हुन्छन्। तर, उनीहरुको यो आत्मीय सम्बन्धमा जातले तगारो हाल्छ।
जातकै कारण रूपासँगको संगत मायाको परिवारलाई पच्दैन। गाउँलेले पनि मायालाई रूपासँग खेलेको सुहाउँदैन भन्दै कुरा काट्न थाल्छन्। तर मित्रता र प्रेमलाई परिवार, जात र समाजले छेक्ला त?
सनईमा रुपा र मायाबीचको मित्रता, प्रेम र यसको बीचमा आउने अवरोधको कथालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ।
केही समयअघि यो फिल्म नेपाल-युरोपियन फिल्म फेस्टिबलमा देखाइएको थियो। यस फेस्टिबलमा लघु चलचित्र विधामा छनोट भएको यो फिल्म मानव अधिकार चलचित्र महोत्सवमा उत्कृष्ट फिल्मको रुपमा पुरस्कृत भइसकेको छ। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसहित विदेशमा समेत प्रदर्शन भइसकेको छ।
‘सनई’ को कथा रंगकर्मी सुदाम सिकेले लेखेका हुन्। सुदाम नाटकमा नयाँ शैली प्रयोग गर्न मन पराउँछन्। यस फिल्ममा पनि उनले कथाकारका रूपमा सनईलाई विम्बको रुपमा प्रयोग गरेका छन्। र, दुई केटी साथीको मित्रतामार्फत जातीय विभेददेखि पितृसत्ताको मुद्दालाई बलियो ढङ्गले उठाएका छन्।
धेरैजसो फिल्ममा पुरुष पात्रको मित्रताको कथाले स्थान पाइरहेका हुन्छन्। तर, सनईमा महिलाको मित्रतादेखि मनोविज्ञानलाई देख्न पाइन्छ। जुन यस फिल्मको सुन्दर पक्ष हो।
फिल्ममा सुरुदेखि अन्त्यसम्म ‘सनई’ देखिन्छ। रूपाका बुवाले सनई बजाएको दृश्यसँगै फिल्म सुरु हुन्छ। मायाका घरमा काकाको बिहे हुन्छ। जहाँ रूपाका बुवालगायतले सनई बजाएको देखेर मायालाई रहर लाग्छ। उनी सनई बजाउन खोज्छिन्। तर, मायाकी आमाले बजाउन त के सनई छुन समेत दिँदिनन्।
कथा अघि बढ्दै जाँदा मायाले रूपाबाट सनई छुन पाउँछिन्। रूपाबाट सनई बजाउन समेत सिक्छिन्।
बिहेमा बेहुलाबेहुली नाचिरहेको बेला मायाले सनई फुक्छिन्। त्यो पनि आमाकै मुखतिर। कस्तो शक्तिशाली दृश्य! मायाको यो विद्रोहले जातप्रथा र पितृसत्तामाथि गतिलो झापड हानेको छ।
सनईमा समस्या मात्रै देखाइएको छैन। कथाको विस्तारसँगै समाधानको बाटो पनि खोजिएको छ। महिलाको समूहले बाजा बजाइरहेको दृश्यसँगै कथा अन्त्य हुन्छ जुन अर्थपूर्ण छ। हिजो एक जनाले सनई बजाउँदा आपत्ति जनाउने समाजमा आज सामूहिक रुपमा महिलाले बाजा बजाउने कामलाई स्विकारिएको छ। सनई यहाँनेर आइपुग्दा समाज परिवर्तन र रूपान्तरणको कथा पनि बनेको छ। पहिले र अहिलेको अवस्थालाई पर्दामा उर्तान आकांक्षा सफल छिन्।
रंगकर्ममा सक्रिय आकांक्षाले पहिलोपटक फिल्म निर्देशन गरेकी हुन्। उनले निर्देशन गरेका नाटकहरुमा जस्तै ‘सनई’मा पनि नारी संवेदना र मनोविज्ञानका कुरा समेटिएको छ। साथमा छ, विभेद र विद्रोहको चित्रण पनि ।
परिवार र समाजले मायाको रूपासँगको दोस्ती मन पराउँदैन। तर, माया आफ्नो मित्रताको लागि विद्रोह गर्छिन्। आफूले लगाएको जामा रूपालाई लगाउन दिन्छिन्। रूपाको लुगा आफू लगाउँछिन्। मित्रता बचाउन उनीहरुले गरेको संघर्ष हेर्दा दर्शक पनि रोमाञ्चित हुन्छन्।
डेब्यु फिल्मबाटै उनले रंगमञ्चमा जस्तै सिनेमामा पनि महिलाका भोगाइका कथा भन्ने संकेत गरेकी छिन्।
यौनिक तथा अल्पसंख्यक समुदायको विषयवस्तुलाई पनि यस फिल्मले छुस्स छोएको छ। एकठाउँमा माया र रूपाले कमिलाको लागि चकलेट राखिदिन्छन्। जसरी कमिलाहरु मिठोमा लोभिन्छन्, त्यसैगरी दुवैलाई प्रेमको डोरीले तानिरहेको महसुस हुन्छ। हुन पनि माया र रूपा एकअर्कासँग हुँदा निकै खुसी देखिन्छन्।
बेहुलीबेहुली नाचेको हेरिरहँदा पनि माया र रूपा आफूलाई कल्पिन थाल्छन्। छुँदा होस् वा अंगालो हाल्दा। उनीहरूबीच मित्रताभन्दा पनि प्रेम भाव बढी झल्किन्छ। एकअर्काप्रति बिस्तारै आकर्षित हुँदा यो समलिङ्गी महिलाको कथा हो कि भन्ने भान हुन्छ।
धादिङमा छायाङ्कन गरिएको फिल्मको कथाअनुसार लोकेसन सुहाउँदो छ। फिल्मका मुख्य पात्रहरू माया (मनिषा रोका) र रूपा (रूपा नेपाली) ले राम्रो अभिनय गरेका छन्। दुवैको अभिनय र संवाद जीवन्त लाग्छ।
वास्तविक जीवनमा पनि मनिषा रोका र रूपा नेपाली साथी हुन्। पर्दामा पनि उनीहरुको सम्बन्ध बलियो देखिन्छ।
प्राविधिक पाटोबाट हेर्दा फिल्म कमजोर पनि लाग्न सक्ला। तर, त्यसले आँखालाई भने बिझाउँदैन। समग्रमा सनई मित्रताको माध्यमबाट जातीय र लैंगिक विभेदको कथा भन्ने सुन्दर र सार्थक फिल्म हो। सनईले परिवर्तनको झिल्कोको आभास दिलाउँछ।
Shares
प्रतिक्रिया