हामीमध्ये धेरै बुवाछोरीबीचको सम्बन्धलाई आदर्श मान्छौँ। तर सधैँ त्यसो नहुन सक्छ। यो सम्बन्धमा माया, प्रेम, आत्मीयताको साटो घृणा, द्वेष र तिक्तता पनि पलाउने रहेछ।
रोमानियाली सिनेमा मिकाडो बुबाछोरीबीचको यस्तै जटिल परिस्थितिको कथामा बनेको छ।
बुवा (क्रिस्टी) र छोरी (माग्डा) एउटै कारमा घर जाँदै हुन्छन्। माग्डा रिसाउँदै बुवालाई भन्छिन्, 'म तिमीलाई घृणा गर्छु।'
'मलाई थाहा थिएन।'
माग्डा फेरि भन्छिन्, 'मलाई बाल छैन। म तिमीलाई घृणा गर्छु। तिमीले धम्की दिन्छौ। तिमी मलाई कहिल्यै विश्वास गर्दैनौ।'
क्रिस्टी ठूलो स्वरमा थर्काउँछन्, 'चिच्याउन छोड।'
बुवाको बोली सुनेर माग्डा झन कराउँछिन्। र, भन्छिन्, 'मलाई मन लागेसम्म म चिच्याउँछु। तिमी जनावर हौ। सिधै नर्क जाऊ।'
त्यसपछि दुवै शान्त हुन्छन्। र, क्यामेराले अर्को दृश्यतर्फ लैजान्छ। आखिर माग्डालाई किन आफ्ना बुवाप्रति यति धेरै घृणा छ? र, के कारणले बाबुछोरीको सम्बन्धमा दरार आयो? १ घण्टा ३६ मिनेट लामो इम्यानुएल पार्भु निर्देशित फिल्म ‘मिकाडो’भित्र यी प्रश्नहरूको जवाफ भेटिन्छ।
नेपाल-युरोपियन युनियनमा फेस्टिबलको १३ औँ संस्करणमा प्रदर्शन भएको फिल्म ‘मिकाडो’ अभिभावक र सन्तानको आँखाबाट भनिएको सम्बन्धको कठिनाइको कथा हो।
माग्डाको जन्मदिनको दृश्यसँगै फिल्म सुरू हुन्छ। उनलाई बुवाआमाले महंगो सिक्री उपहार दिन्छन्। त्यसपछि उनी जन्मदिन मनाउन क्यान्सर अस्पताल जान्छिन्।
अस्पतालमा माग्डाका प्रेमी युलिआन काम गर्छन्। जहाँ उनी जादुगर बनेर क्यान्सर बिरामीलाई मनोरञ्जन दिन्छन्। माग्डा वार्डमा पुग्दा रमाइलो माहोल छाउँछ। त्यसैदिन क्यान्सर बिरामी लुइजाको पनि जन्मदिन हुन्छ। माग्डाले बुवाले दिएको उपहार लुइजालाई दिन्छिन्।
साँझतिर माग्डाको पार्क घुमेको तस्बिरहरू सामाजिक सञ्जालमा आउँछन्। सौतेनी आमा (मारिया) सहित क्रिस्टीले फोटो हेर्छन्। तर, क्रिस्टीले छोरीको गलामा सिक्री देख्दैनन्। त्यसपछि उनी सिक्रीको खोजीमा सुतिसकेकी छोरीको कोठामा पुग्छन्। तर, भेट्टाउँदैनन्।
बिहान छोरीलाई सिक्रीबारे सोध्छन्। माग्डाले आफूले त्यो हार लुइजालाई उपहार दिएको जवाफ फर्काउँछिन्। तर, क्रिस्टी छोरीको कुरा पत्याउन तयार छैनन्। बेचेको होला भन्दै छोरीप्रति शंका गर्छन्।
हारबारे पत्ता लगाउन उनी अस्पतालसम्म पुग्छन्। लुइजाले सिक्रीबारे केही जवाफ नदिँदा छोरीलाई कराउँछन्। अन्त्यमा अस्पतालकै स्टाफ रोडिकासँग सिक्री हुन्छ। आफूले फेला पारेर राखेको भन्दै उनले फिर्ता गर्छिन्। तर, क्रिस्टीले भने रोडिकालाई चोरीको आरोप लगाउँछन्। रिसाउँदै रोडिकालाई जागिरबाट निकाल्न भन्छन्। ननिकालेको खण्डमा प्रहरीकोमा जाने समेत धम्की दिन्छन्। त्यतिखेर छोरी निर्दोष प्रमाणित हुन्छिन्। जसमा क्रिस्टीले लज्जित महसुस गर्छन्। तर आफू गलत भएको स्वीकार गर्न सक्दैनन्।
यो घटना साम्य पार्न रोडिकालाई बिदामा बस्न भनिन्छ। तर, एकदुई दिनमा रोडिकाको मृत्युको खबर आउँछ। त्यसपछि कथाले नयाँ मोड लिन्छ। यसले पात्रहरूको जीवनमा ल्याउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको छ।
‘मिकाडो’ले उठान गरेको पारिवारिक कथावस्तु सामान्य लाग्छ। कथा सामान्य लागे पनि यसले दिएको सन्देश गम्भिर र सान्दर्भिक छ।
हरेक कुराको दुइटा पाटा हुन्छन्। तर, कहिलेकाँही हामीहरू आफ्नो तरिकाबाट मात्रै सोचिरहेका हुन्छौँ। आफ्नै किसिमको धारणा बनाइहाल्छौँ। जुन वास्तवमा सत्य नहुन पनि सक्छ। कुनै घटनालाई एकतर्फबाट हेर्दा आउने परिणाम जटिल हुन्छ भन्ने कुरा फिल्मले देखाउँछ।
मिकाडो निर्देशकको रूपमा अभिनेता इमानुएल पर्वुको दोस्रो फिचर हो। जो सम्बन्धलाई बुवा र छोरी दुवैको आँखाबाट देखाउन सफल छन्।
किशोरावस्थामा हुन्छिन् माग्डा। ड्रग्समा लागिसकेकी छोरीको बुवालाई निकै चिन्ता लाग्छ। त्यसैले उनी माग्डालाई नियन्त्रणमा राख्न खोज्छन्। कुलतमा फेरि नलागोस् भनेर निगरानी गर्छन्। तर, माग्डालाई भने बुवाको हस्तक्षेप मन पर्दैन। उनी आफ्नो तरिकाले जीवन बाँच्न चाहन्छिन्।
दुवैतर्फबाट हेर्दा बुवा र छोरी आ-आफ्नो ठाउँबाट सही लाग्छन्।
यस पारिवारिक ड्रामाको अर्को सुन्दर पक्ष अब्बल अभिनय हो। सर्बान पावलु, एना इन्ड्रिकाउ, ट्युडर कुकु डुमिट्रेस्कु, एमिलिया पोपेस्कु लगायतका कलाकारहरूले आफ्नो पात्रमा प्राण भरेका छन्। निर्देशक पर्वुसहित अलेक्जान्ड्राको पटकथाले पनि ध्यान खिच्छ। फिल्मका संवादहरू चोटिला र अर्थपूर्ण लाग्छन्। सिल्भिउ स्टाभिलाको सिनेमाटोग्राफी पनि फिल्मको बलियो पक्ष हो। क्यामेराले पात्रहरूको अवस्था र भावलाई देखाउन सफल भएको छ।
यस फिल्मले एउटा सानो घटनालाई पछ्याउँछ। तर, बिस्तारै त्यो घटनाले जटिल अवस्था सिर्जना गर्छ। र, फिल्म जहाँ सकिन्छ त्यो क्लाइमेक्सले दर्शकलाई सरप्राइज दिन्छ ।
फिल्मभरि समस्या र निराशा बढी छ, तर यसको विषयले यसलाई उत्कृष्ट फिल्म बन्नबाट रोकेको छैन । मन र मस्तिष्कमा एकैपटक झड्का दिने मिकाडो शक्तिशाली फिल्म हो।
Shares
प्रतिक्रिया