ad ad

कला


वरिष्ठ अधिवक्ता उप्रेतीको गीति–अवतार

वरिष्ठ अधिवक्ता उप्रेतीको गीति–अवतार

आफैले लेखेको गीतमा अभियन गर्दै वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती। तस्बिर : म्युजिक भिडिओबाट


नेपालखबर
जेठ २४, २०८१ बिहिबार १६:१९, काठमाडौँ

हरिप्रसाद उप्रेती पेसाले वरिष्ठ अधिवक्ता हुन्। केही समय उनले सरकारी सेवामा पनि बिताए। निजामती सेवामा छँदा उनले विश्वनाथ उपाध्याय नेतृत्वको २०४७ को संविधान मसौदा आयोगको सचिवालयमा रहेर पनि काम गरे।

स्वतन्त्रता र सन्तुष्टिको खोजीमा उनले सरकारी जागिर छाडेर कानुन व्यवसाय अपनाए। देशभरका कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको उपाध्यक्षसम्म भए। राजनीतिक दल र दलभित्रैका नेताहरूबीच पनि अंशबन्डा नहुने भए उनी सर्वोच्च अदालतको न्यायाधीश भइसक्थे। न्यायाधीश हुनै लाग्दा उनी केही व्यक्तिको छिर्केदाउमा परे। अर्थात्, दलीय नेताहरूसँग उनको हिसाब मिलेन।

त्यसपछि उनले बाटो बदले। देशाटन, सामाजिक सेवा र लेखनमा आफूलाई बढी क्रियाशील बनाए। हुँदाहुँदा उनले गीत लेखेर त्यसैको भिडिओमा अभिनयसमेत गर्न भ्याएका छन्।

हालै मात्र उनको गीत ‘आँसु बरर’ युट्युबमा सार्वजनिक भएको छ। श्रमका लागि विदेशिने नेपालीको पारिवारिक जीवन, त्यसमा पनि कलकलाउँदो उमेरमा रोजीरोटीका लागि विदेशिनुपर्दाको अनुभूति उनले गीतमा समेटेका छन्। त्यहीँभित्र प्रेमकथा रचेका छन्।

परदेशको भूमिबाट प्रेमी भन्छन्–
धेरै भयो भेट्दिनँ सञ्जालमा 
सन्चै छौ कि फसेछौ जञ्जालमा
मनै हरर
प्यारीलाई सम्झिँदा मनै हरर
भेट हुन नपाउँदा आँसु बरर 

अनि यता देशबाट प्रेमिका भन्छिन्–
के गर्नु र सझिन्छु दिनरात
पैसाभन्दा खाँचो छ तिम्रो साथ
मनै हरर
प्यारालाई सम्झिँदा मनै हरर
भेट हुन नपाउँदा आँसु बरर 

परदेशको बाध्यताको बसाइ, स्वदेशमा प्रेयसीको व्यग्र पर्खाइ, समाजको संकुचित नजर र कष्टपूर्ण जीवन भोगाइका बीच हुने भावनात्मक उतारचढाव सुन्दर शब्दमा उनले उनेका छन्। उनले शब्दमा पोखेका संवेदनाका बान्कीहरूलाई खुमन अधिकारीले सांगीतिक धुनमा ढालेका छन्।

स्वदेशमा रोजगारी नपाउनु, पाए पनि त्यसले जीविका नधान्नु र विदेश जानैपर्ने बाध्यतामा फस्नु आजका युवाको टार्नै नसकिने नियति बन्न पुगेको छ। त्यही विषयवस्तु उप्रेतीले गीतमा टिपेका छन्। खुमन अधिकारी र शान्तिश्री परियारको लोकलयमा खारिएको सुन्दर अनि सुपरिचित स्वरले जोकोहीलाई भावनाको गहिराइमा पुर्‍याउँछ।

यता एक्लै घरव्यवहार धानिरहेकी श्रीमतीलाई विदेशबाट केटाले सम्झाउँछन्-
साथीभाइ नि यही बेला भाँडिन्छन्
दुःख पर्दा आफ्ना नि टाढिन्छन्


श्रीमती घरव्यवहारभन्दा आफ्नो बढी ख्याल गर्न श्रीमानलाई भन्छिन्-
जसोतसो धानेई छु घर
सत्तुर बैरी चिनेर काम गर

गीतमा व्यक्त कथा र व्यथामा गीतकार उप्रेतीले संवेदनाको जुन गहिराइ पक्रेका छन्, अभिनयमा भने विदेशमा नेपालीलाई काम लगाउने साहुको कठोर व्यक्तित्वका रूपमा प्रस्तुत भएका छन्।

त्यो कोमल कवि कसरी यस्तो कठोर भूमिकामा देखियो त? 

‘मेरो असली भावना गीतमा व्यक्त भएको छ,’ उप्रेती अर्थ्याउँछन्, ‘अभिनय त कथाले मागेअनुसार गरेको हो।’

नियात्रादेखि आख्यान, कवितादेखि गीतसम्मका रचनामा व्यस्त उनी आफ्ना कृति बजारको खपतका लागि नभई आत्मसन्तुष्टिका लागि रहेको बताउँछन्। ‘पेसागत क्षेत्रमा जुन इमान र निष्ठाका साथ काम गरियो, त्यसअनुसारको सन्तुष्टि बिरलै पाइयो,’ उप्रेती भन्छन्, ‘तर, सिर्जनामा सन्तुष्टि छ। यो आत्मिक सन्तुष्टिको आनन्द पनि बेग्लै छ।’

युट्युबमा हेर्नुहोस् पूरा गीत-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .