झरनामा इन्स्टाग्राम रिल्स बनाउने क्रममा चिप्लिएर लड्दा चर्चित भारतीय ट्राभल इन्फ्लुएन्सर आन्भी कामदारको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतको महराष्ट्रस्थित रायगढ जिल्लाको प्रसिद्ध कुम्भे झरनामा यही जुलाई १६ तारिख (मंगलबार) का दिन रिल्स बनाउन सुटिङ गर्ने क्रममा आन्भी ३०० फिट तल खसेकी हुन्।
उद्धार गरी उनलाई अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको हो।
मुम्बई निवासी आन्भी कामदार जुलाई १६ को बिहान आफ्ना ७ साथीसँग कुम्भे झरना पुगेकी थिइन्। उनले पानी परिरहेका बेला बेला भिडिओ खिचिरहेकी थिइन्।
त्यही क्रममा उनी चिप्लिएर ३ सय फिट तल खाल्डोमा खसकी थिइन्।
साथीहरूले प्रहरी र उद्धार टोलीलाई खबर गरेपछि उनलाई नजिकैको सरकारी अस्पताल लगिएको थियो।
तर उपचारकै क्रममा आन्भीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
इन्स्टाग्राममा दुई लाख ६० हजार बढी फलोअर भएकी कामदार विशेषगरी पर्यटन प्रवर्द्धन गर्ने इन्फ्लुएन्सरका रूपमा परिचित थिइन्। त्यसबाहेक उनी डेलोइट नामक प्रविधि कम्पनीमा चार्टर अकाउन्टेन्टको काम गर्थिन्।
Shares
प्रतिक्रिया