बलिउड अभिनेत्री मनिषा कोइरालाले सिक्किमको सौन्दर्य र त्यहाँको विकासलाई लिएर प्रशंसा गरेकी छन्।
गान्तोकमा जारी ग्लोबल फिल्म फेस्टिबलमा सहभागी हुन आइपुगेकी अभिनेत्री कोइरालाले सिक्किम सधैं आफ्नो मुटुको नजिकको रहेको भन्दै प्रशंसा गरेकी हुन्। सिक्किमले जैविक कृषि, शिक्षा र प्रदूषण नियन्त्रणमाथि प्राप्त उपलब्धिको प्रशंसनीय रहेको उनकाे भनाइ थियो।
‘पूर्ण जैविक राज्य, शतप्रतिशत साक्षरता दर र प्रदूषणमुक्त राज्यको रूपमा सिक्किम भारतका अन्य राज्य र नेपालका लागि मात्र होइन, विश्वकै लागि अग्रणी छ’, शुक्रबार ग्लोबल फिल्म फेस्टिबलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मनिषाले भनिनज्, ‘जुन आजको समयमा विश्वकै लागि ज्वलन्त मुद्दाहरू हुन्।’
स्मरण रहोस् सन् २०१६ र २०१८ मा सिक्किमले क्रमशः पूर्ण जैविक राज्य र शतप्रतिशत साक्षरता दरको उपलब्धि प्राप्त गरेको थियो।
त्यसैगरी पछिल्लो २० वर्षमा सिक्किमको वन्य क्षेत्रमा ४ प्रतिशतको वृद्धि भएको छ।
अभिनेत्री कोइरालाले फिल्म सुटिङका लागि सिक्किम ठूलो गन्तव्य बन्ने कुरामा आफू विश्वस्त रहेको पनि बताइन्।
शुक्रबारदेखि शुरु भएको तीनदिने ग्लोबल फिल्म फेस्टिबल आइतबारसम्म चल्नेछ।
सिक्किमका मुख्यमन्त्री पीएस गोलेले यस फेस्टिबलका उद्घाटन गरेका थिए। फेस्टिबलमा सहभागी हुनका लागि अभिनेत्री कोइरालाबाहेक पद्मिनी कोल्हापुरे, छायाँकार विनोद प्रधान, भारतका लागि अजरबैजानका राजदूत अशरफ शिखलियेव लगायतका व्यक्तित्व सिक्किम आइपुगेका छन्।
फिल्म फेडरेसन अफ इन्डिया (एफएफआई) र सिक्किम फिल्म कोअपरेटिभ सोसाइटीले सिक्किम सरकारको सूचना एवं जनसम्पर्क, पर्यटन तथा नागरिक उड्डयन र सांस्कृतिक एवं धरोहर विभागको सहयोगमा सिक्किममा पहिलोपटक ग्लोबल फिल्म फेस्टिबल आयोजन गरेको हो।
यस फेस्टिबलमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी करिब ४० वटा फिल्म प्रदर्शन गरिनेछ। साथै फिल्मसम्बन्धी विभिन्न कार्यशाला पनि सञ्चालन गरिएको छ।
फेस्टिबलको पहिलो दिन शुक्रबार सिक्किम फिल्म नीति पनि लोकार्पण गरिएको छ। यसअवसरमा मुख्यमन्त्री गोलेले प्राकृतिक रूपले सुन्दर सिक्किम विश्वभारका फिल्मका लागि उत्तम स्थान रहेको बताउँदै फिल्म निर्माताहरूलाई सिक्किममा छायाँकनका लागि निम्तोसमेत दिएका थिए।
प्रतिक्रिया