ad ad

कला


एउटै फिल्ममा यी दुई धारका नेता- सहजै तयार भए नेपाल, स्क्रिप्ट नै सच्याए ओलीले

एउटै फिल्ममा यी दुई धारका नेता- सहजै तयार भए नेपाल, स्क्रिप्ट नै सच्याए ओलीले

लक्ष्मी बलायर
साउन २२, २०८१ मंगलबार २१:५१, काठमाडौँ

रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’ भदौ ७ गतेबाट प्रदर्शन हुँदै छ। रमित ढुंगानाको निर्माण र निर्देशनमा बनेको यो फिल्म तेजाब आक्रमणमा परेका ३३ जना पीडितहरूको वास्तविक घटनामा आधारित छ।

फिल्ममा एसिड सर्भाइवर मुस्कान खातुन, सुरवीर पण्डित, सिम्रन खड्कासहित १ सय २५ जना कलाकारको अभिनय छ। रमाइलो कुरा त फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि अभिनय गरेका छन्। त्यसैगरी, सांसदद्वय ज्ञानेन्द्र शाही र देवेन्द्र पौडेलको भूमिका पनि देख्न सकिन्छ। यी सबैले सुटिङसहित डबिङ (स्वरांकन) पनि गराइसकेका छन्।

वास्तविक घटना भएकाले यस फिल्मलाई ढुंगाना रियालिस्टिक बनाउन चाहन्थे। जसकारण पनि फिल्ममा वास्तविक पात्रलाई नै अभिनय गर्न लगाएको सुनाउँछन् ढुंगाना।

वास्तविक पात्र खोज्ने क्रममा उनी एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसम्म पुगे, जसले २०७७ सालमा एसिड पीडितहरूका लागि एक अध्यादेश ल्याएका थिए। त्यसबेलाको घटनालाई जोडिएका कारण ओली फिल्ममा पनि प्रधानमन्त्रीकै भूमिकामा देखिएका छन्।

पूर्वप्रधानमन्त्री नेपालले पनि एसिड पीडितको प्रदर्शन र जुलुसताका साथ र समर्थन जनाएका थिए।

‘विभिन्न समयमा एसिड भएपछि प्रदर्शन तथा जुलुस भएको थियो। त्यहाँ प्रधानमन्त्रीसहित नेताहरूले गर्नुभएको के भूमिका थियो? त्यस घटनाको बारेमा उहाँहरूले जे राम्रो काम गर्नुभएको थियो, त्यही भूमिकालाई फिल्ममा ल्याइएको हो,’ ढुंगाना भन्छन्।

फिल्ममा कुनै वास्तविक घटना समेट्दा पूराना फुटेजहरू राखिन्छ। तर, रमितले भने नेतादेखि प्रहरीसम्मलाई समेटेर नौलो अभ्यास सुरू गरेका छन्। भन्छन्, ‘हुन त युट्युबबाट भिडिओ तानेर फिल्ममा राख्न सकिन्थ्यो। तर, त्यसरी फुटेज राख्दा क्वालिटी हुँदैन। जसकारण उहाँहरूलाई नै पर्दामा कैद गरिएको हो।’

उनका अनुसार, फिल्ममा धेरै नयाँ प्रतिभाहरूलाई ठाउँ दिइएको छ। ३/४ सय प्रहरी आफैँले अभिनय गरेका छन्। ढुंगानाको बुझाइ छ, ‘कलाकारभन्दा सम्बन्धित व्यक्तिले गर्दा कथामा असली भाव आउँछ। चलचित्र अझै रियालिस्टिक बन्ला भनेर उहाँहरुलाई लिएका हौं। नेतादेखि प्रहरीहरुले यो अभियानमा साथ दिनुभएको छ। फिल्ममा ६ जनाको बायोपिक छ। यो पहिलो पार्ट हो, अरू बिस्तारै आउँछन्।’

यसअघि रमितले फिल्म ‘बुद्ध बर्न इन नेपाल’ फिल्म बनाएका थिए।त्यो फिल्म हेरेर ओलीदेखि माधव नेपालले बोलाएर बधाई दिएका थिए। पहिले भेट भएका कारण कास्ट गर्न सहज भएको अनुभव सुनाउँछन् उनी।

‘त्यसअघि त म कसैलाई पनि चिन्दिनथेँ,’ उनले भने, ‘उहाँहरूलाई अफर गर्दा तपाईंहरू हाम्रो अभिभावक हुनुहुन्छ, पीडितले पनि आफूलाई साथ दिएको महसुस गर्नुहुन्छ भनेर कुरा गरेँ। यदि कर्मसियल र एक्सन फिल्म भए मैले उहाँहरूलाई भन्न मिल्दैनथ्यो। तर,एसिड प्रहारविरुद्धको अभियान भएकाले पनि उहाँहरूले साथ दिनुभएको लाग्छ।’

ओली र नेपालले यस फिल्ममार्फत सिनेमामा डेब्यु गर्दै छन्। तर, उनीहरूले फिल्मभित्र राम्रो अभिनय गरेको उनको दाबी छ।

‘म आफैँ अचम्ममा छु। उहाँहरू सबैले राम्रो अभिनय गर्नुभएको छ। हामीले जुन संवाद लेखेका थियौं, त्यो संवादलाई राम्रो तरिकाले अझ डाइलग मिलाएर बोलिदिनुभयो। प्रधानमन्त्रीज्यूले त २ मिनेटमै डाइलग रिराइट गर्नुभयो। र, निकै सजिलो तरिकाले काम गर्नुभएको छ।’

फिल्मको सेटमा पनि प्रधानमन्त्री ओलीले आठ-नौ घण्टा समय दिएको उनको भनाइ छ। उनका अनुसार च्यासलको एमाले पार्टी कार्यालयमा सुटिङ चलेको थियो। जहाँ ओलीले आफ्नो सुटिङ सकेर पनि अरूलाई ‘मोटिभेट’ गर्न घण्टौं बसेको सुनाउँछन् उनी।

राजनीतिमा ओली र नेपाल दुई धारमा बाँडिएका छन्, सत्ता र प्रतिपक्ष। जीवनको लामो कालखण्ड एउटै पार्टीमा बिताए पनि अहिले भिन्न मात्र भएका छैनन्, व्यवहारमै तिक्तता प्रदर्शन गरिरहेका छन्। कतिसम्म भने एकले अर्काको नाम लिँदा मुखै कुल्ला गर्नेसम्मका अभिव्यक्ति दिएका थिए। तर, फिल्म खेल्दा दुवैले एकअर्काप्रति कुनै आपत्ति नजनाएको ढुंगानाको भनाइ छ।

‘उहाँहरूले केही पनि भन्नुभएन। किनकि दुवैलाई थाहा थियो, यो एसिड आक्रमणविरुद्धको अभियान हो भनेर। उहाँहरू सेटमा हुँदा निकै रमाइलो भयो। सबै जनालाई एक किसिमको मोटिभेट गर्नुभयो। यो ठूलो कुरा हो।’

नेपालमा वास्तविक घटना र जीवनमाथि कमै फिल्म बनेका छन्। किनकि, यसका लागि धेरै पक्षमा ठूलै तयारी आवश्यक पर्छ। अध्ययनदेखि लगानीका हिसाबले पनि महँगो पर्न जान्छ। जसकारण निर्माताहरू हत्तपत्त कसैको जीवनमाथि फिल्म बनाउन तयार हुँदैनन्। तर, ढुंगानाले भने हिम्मत लिएर यो फिल्म बनाएका छन्।

भन्छन्, ‘मलाई पहिल्यैदेखि देशकै कानुन बदल्ने विषयमा काम गर्न मन थियो। एसिड प्रहारसम्बन्धी अध्यादेश मात्र आएको छ। त्यो आएपछि पनि आठ जनामाथि एसिड आक्रमण भइसकेको छ। कानुन नै ल्याउनुपर्छ भनेर एउटा यस्तो फिल्म बनाऔँ, जहाँ पीडितले न्याय पनि पाउँछन् र अपराधीहरूले सजाय। यस्तो अपराध फेरि नहोस्।’

शिवम अधिकारीले यस फिल्मको स्क्रिप्ट ३ वर्ष लगाएर लेखेका हुन्। सुरुमा मुस्कानको बायोपिक बनाउने भनिएको थियो। तर, पछि धेरैजना एसिड सर्भाइवरको कथालाई फिल्ममा समेटिएको उनले सुनाएँ।

एसिड पीडितको वास्तविक भोगाइमा बनेको यो फिल्म एउटा जीवन्त दस्तावेज भएको दाबी ढुंगानाको छ। र, नयाँ कलाकारहरूले निकै मेहनत गरेको र फिल्मले जनमानसमा प्रभावकारी सन्देश दिने विश्वास पनि उनले लिएका छन्।

भन्छन्, ‘यसमा १२५ जना नयाँ कलाकार हुनुहुन्छ। मलाई नयाँलाई अवसर दिनुपर्छजस्तो लाग्छ। साँच्चै उहाँहरूले निकै मेहनत गर्नुभएको छ, जसले फिल्म निकै राम्रो बनेको छ। यसले ठूलो सन्देश दिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .