गतवर्ष बालुवाटारको सरकारी जग्गा भू–माफियाहरुले विभिन्न व्यक्तिको नाममा किनबेच गरेपछि निकै ठूलो हलचल मच्चिएको थियो।
सोही प्रकरणमा सत्तारुढ नेकपाका विष्णु पौडेल पनि मुछिए। बालुवाटारको सरकारी जग्गामध्ये ८ आना जग्गा पौडेलका छोरा नवीनको नाममा पनि भेटिएपछि सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म यसबारे टिकाटिप्पणी भएको थियो।
चर्चामा रहेको त्यही विषयलाई टपक्क टिपेर हास्यव्यंग्यमार्फत् प्रस्तुत गरेपछि रातारात हिट भएका थिए, सुमन कोइराला उर्फ दले दाइ।
टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनमा जग्गा दलालका रुपमा उनले यस्तो मजाक सुनाएका थिएः
‘एकदिन केपी बा कहाँ जग्गाको प्रस्ताव लिएर गएको थिएँ। केपी बा, चार रोपनी खेत छ, ल मारौं न बैना भनेँ। उहाँले त हुँदैन, म बाहिरका दलालबाट काम गराउँदिनँ, मेरो काम त विष्णु भाइले हेर्छ भन्नुभयो।’
उनको यो प्रस्तुति सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो। युट्युबमा लाखौं पटक हेरिएको उनको सो प्रस्तुतिलाई हजारौँले टिकटकमा समेत प्रयोग गरे।
शीर्ष १० बाट बाहिरिसकेका कोइरालालाई सोही प्रस्तुतिले ‘वाइल्ड कार्ड’ मार्फत पुनः कमेडी च्याम्पियनमा फर्कायो। पछि उनी ‘दले दाइ’ नामले चिनिँदै शीर्ष तीनसम्मको यात्रा तय गर्न सफल भए।
गाइजात्रालाई हास्यकलाकारहरुले विकृतिविरुद्ध व्यंग्य गर्ने अवसरका रुपमा प्रयोग गर्दै आएका छन्। गाईजात्रामा यी कोइरालाको प्रस्तुति चाहिँ कस्तो होला भन्ने धेरैलाई चासो छ।
पहिलो पटक राष्ट्रियस्तरको गाईजात्रा कार्यक्रममा सहभागी हुन लागेका उनी ‘कोइरालासँग कालो चिया’ शीर्षकको व्यंग्यात्मक कार्यक्रम लिएर आउँदैछन्।
‘लकडाउनका कारण दर्शकसँग स्टेजमा कार्यक्रम गर्न सम्भव भएन,’ कोइरालाले नेपालखबरसँग भने, ‘त्यसो भएपछि हामीले भर्चुअल रुपमै गाईजात्रा देखाउने योजना बनाएका छौं। कार्यक्रमको सुटिङ सकेर प्रसारणको तयारीमा छौं।’
कोरोनाभाइरस महामारी आइनपरेको भए यतिबेला उनी विश्वभ्रमणमा हुन्थे। कमेडी च्याम्पियनले शीर्ष तीनमा परेकालाई विश्वभ्रमण गराउने भनेको थियो। तर, त्यो रद्द भइसकेको छ।
लकडाउनमा तीन महिना लगातार घरभित्रै बसेपछि उनले केही गर्नुपर्छ भनेर हास्यव्यंग्य कलाकारहरु मनोज गजुरेल, सीताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’सँगै गाईजात्रामा सहभागी हुन लागेका हुन्।
बिहीबारबाट उनीहरुको कार्यक्रम ‘२०७७ को गाईजात्रा’ एपीवान टेलिभिजनबाट प्रसारण हुँदैछ। साउन २२ सम्म प्रत्येक दिन बेलुका प्रसारण हुने कार्यक्रममै कोइरालाको ‘कोइरालासँग कालो चिया’ कार्यक्रम समेटिएको छ।
‘छोटो समय थियो। त्यहीँपनि नयाँ हो, जे परे पर्ला भनेर आँटियो,’ उनले भने, ‘गर्दै जाने हो कुनै राम्रो हुन्छ, कुनै नराम्रो हुन्छ। नयाँ त थाल्नैपर्छ भनेर मैले यसमा हिस्सा लिएको हुँ।’
‘कोइरालासँग कालो चिया’ एक अन्तर्वार्तामूलक कार्यक्रम हुनेछ। जसमा कोइराला सञ्चालक र अतिथिको दोहोरो भुमिकामा हुनेछन्। युट्युबमा आफूलाई विज्ञ, विश्लेषक भनेर चिनाइरहने र दोहोरिरहने पात्र र प्रवृत्तिप्रति व्यंग्य गर्ने आफ्नो मनसाय रहेको उनले बताए।
‘मैले कसैलाई जज भने गरेको छैन,’ उनले भने, ‘तर वास्तविक अवस्था के छ भन्ने देखाइदिएको छु।’
यतिबेला भने उनी एक वेब सिरिजको सुटिङमा व्यस्त छन।
Shares
प्रतिक्रिया