ad ad

कला


आईएमई नेपाल लिटरेचर फेस्टिभलमा शुभारम्भ साँझ

आईएमई नेपाल लिटरेचर फेस्टिभलमा शुभारम्भ साँझ

नेपालखबर
पुस १३, २०७७ सोमबार १४:३०,

छुरा धस्नेलाई पनि अवसर आइरहनुपर्छ
मैले यसर्थ पिठ्युँ त फर्काइरहनुपर्छ
बास्ना त तिमीले चपाएको चुइगम हो
तीतो हुँदै जान्छ एकछिन चपाइरहनुपर्छ ।

प्रस्तुत सेयर हुन् गजलकार प्रदीप रोदनका।

आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करणका अवसरमा सोमबार आयोजित शुभारम्भ साँझमा रोदनले गजल वाचन गरिरहँदा फेस्टिभलको माहोल तात्दै थियो। सराङकोटस्थित सराङकोट माउन्टेन रिसोर्टमा आयोजित शुभारम्भ साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल जम्यो।

मंगलबार सुरु हुने फेस्टिभलको औपचारिक उद्घाटनअघि गजल मेहफिलको कार्यक्रम राखिएको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ। रोदनले सुवेदीसँग संवादसँगै १० भन्दा बढी गजल वाचन गरे। साहित्य साधना प्रतिष्ठान गोरखाका महासचिव प्रदीप रोदन दमदार गजल र प्रस्तुतिले चर्चित छन्। नेपाली गजलमा हस्तक्षेपकारी उपस्थिति देखाइरहेका उनले फेस्टिभलमा प्रेमदेखि राजनीतिक एवम् समसामयिक विषयका विविध गजल सुनाए।

कार्यक्रममा र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले पोखरालाई साहित्यका माध्यमबाट चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए। सांस्कृतिक एवं पर्यटकीय सहर पोखरालाई साहित्यका माध्यमबाट पनि चिनाउनुपर्छ भनेर आफूहरुले फेस्टिभल आयोजना गरेको बताए। यसमा सहयोग गर्ने गण्डकी प्रदेश एवम् आईएमईलगायत विभिन्न सङ्घसंस्थाप्रति पनि उनले आभार प्रकट गरे।

‘पोखरा माछापुच्छ्रेले चिनिन्छ। फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ। फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो।’

फेस्टिभलको यो संस्करणमा १५ भन्दा बढी सेसन र करिब ५० जना वक्ता छन्। भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति छैन। फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण भइरहेको छ। साथै डिसहोमको सरोकार टिभीबाट पनि फेस्टिभलका सबै सत्र हेर्न सकिनेछ। नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा छन्।

ime-festival1.JPG

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको लिटरेचर फेस्टिभल नवौं संस्करणसम्म आइपुग्दा यसले ठूलो उचाइ हासिल गरिसकेको छ।
‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजक बताउँछन्। यस प्रकारको सामाजिक बहस र विमर्शले सर्जक र पदासीन व्यक्तित्वलाई जवाफदेही बनाउन, विचार मन्थन गरी समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन मद्दत पु¥याउने विश्वास गरिएको छ।

साहित्य र संवादलाई एकैसाथ प्रवद्र्धन गरिरहेको महोत्सवले पोखरामा पर्यटनको सम्भावनालाई समेत ऊर्जा दिइरहेको छ। नीति तथा कार्यक्रममा पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको गण्डकी प्रदेशका लागि पनि फेस्टिभलले टेवा पुर्‍याउने विश्वास गरिएको छ।

दुई वर्षदेखि फेस्टिभललाई व्यावसायिक ग्रुप आइएमईले प्रायोजन गरेसँगै महोत्सवको नाम आईएमई नेपाल लिटरेचर फेस्टिभल राखिएको छ।

बुकवर्म फाउन्डेसन
शब्दहरूको संसारमा प्रतिबद्ध बुकवर्म फाउन्डेसन एक गैरनाफामूलक संस्था हो। प्रकाशक, पत्रकार र लेखक जो किताबको सास फेर्छन्, खान्छन् र सुत्छन्, उनीहरू नै यस संस्थाका सदस्य हुन्। साहित्य र समाजबीच खुला बहस गनु, पठन संस्कृतिमा वृद्धि गर्न र आलोचनात्मक चेतलाई अभिवृद्धि गर्नु नै यस फाउन्डेसनको प्रमुख उद्देश्य हो।

आइएमई ग्रुप
सन् २००१ मा स्थापित आईएमई ग्रुप नेपालको एक उल्लेखीय र चर्चित व्यावसायिक संस्था हो। रेमिटेन्स, बैकिङ, वित्तीय कारोबारलगायत अटोमोबाइल्स, ऊर्जा उद्योग, सञ्चार प्रविधि, पर्यटन जस्ता क्षेत्रमा यस संस्थाले नाम कमाएको छ। सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्दै आएको यस संस्थाले गैरनाफामूलक क्षेत्रमा पनि योगदान दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .