झन्डै एक दसकदेखि गुमनाम गायिका पारु राईले भर्खरै ‘तिम्रो तृष्णा’ शीर्षकको म्युजिक भिडिओ सार्वजनिक गरेकी छन्।
बेलायत निवासी गायिका पारु र भोइस अफ नेपाल सिजन–२ का फाइनलिस्ट विकास लिम्बूको युगल स्वर रहेको म्युजिक भिडिओ विकास लिम्बूको अफिसियल युट्युब च्यालनबाट गत आइतबार सार्वजनिक गरिएको हो।
करिब एक दसक अगाडि ‘प्यास’ नामको गीतिसंग्रह निकालेकी पारुको यो तेस्रो म्युजिक भिडिओ हो।
अहिले सार्वजनिक ‘तिम्रो तृष्णा’ म्युजिक भिडिओमा शब्द गायिका पारुकै हो भने संगीत ताराप्रसाद लिम्बूले भरेका हुन्।
सविन लिम्बूको एरेन्ज रहेको म्युजिक भिडिओको सम्पादन तथा निर्देशन कुशल श्रेष्ठ र सुरज तामाङले गरेका हुन्।
बेलायत र काठमाडौंमा रेकर्डिङ गरिएको म्युजिक भिडिओको छायांकन पनि दुवै देशमा गरिएको हो।
गीतको भिडिओमा गायिका पारु, बेलायती सेनामा कार्यरत मोडल मण्डल थेबे लिम्बू, विकास गुरुङ र वृक्षा लिम्बूले अभिनय गरेका छन्।
म्युजिक भिडिओ निर्माता गायिका पारु आफैं हुन्।
निकै रोमान्टिक र प्रेमिल म्युजिक भिडिओको छायांकन बेलायत र नेपालका रमणीय स्थानमा गरिएको गायिका पारुले बताइन्।
झन्डै ५ वर्ष शास्त्रीत संगीतको प्रशिक्षण गायिका पारुसँग रेडियो जक्कीको समेत अनुभव छ।
‘पारिवारिक परिस्थितिका कारण संगीतसँगको छुटेपछि एक्लो अनुभव भयो, त्यो एकांकीपनबाट मुक्ति पाउन पुनः सांगीतिक दुनियाँमा फर्केकी हुँ,’ नेपालखबरसँग उनले भनिन्।
सांगीतिक यात्रालाई निरन्तरता दिन ३ वर्षदेखि लन्डन कलेज अफ म्युजिकमा क्लासिकल पियानो प्रशिक्षण लिइरहेको जानकारी पनि उनले दिइन्।
प्रवासमा रहे पनि नेपाली गीत/संगीतका माध्यमबाट नेपाली भाषा, कला र संस्कृतिको सम्वर्द्धनमा लागिरहने प्रतिबद्धता उनले जनाइन्।
प्रतिक्रिया