ad ad

कला


सरुभक्तको सातौं उपन्यास ‘प्रतिगन्ध’ सार्वजनिक

सरुभक्तको सातौं उपन्यास ‘प्रतिगन्ध’ सार्वजनिक

वाशुदेव मिश्र
असोज १३, २०७६ सोमबार ४:२०,

अक्सर सर्जक र खेलाडी आफैंले बनाएका ‘मानक’ भत्काउन लालायित हुन्छन्। र, कहिलेकाहीं आफ्नै सिर्जनाको भारले थिचिन्छन् पनि।

प्रख्यात साहित्यकार सरुभक्तको जीवनमा पनि यो सन्दर्भ जोडिएर आउँछ। २०४८ सालमा पागलबस्तीमार्फत मदन पुरस्कार पाएका उनी निरन्तर लेखनमा छन्। सिर्जनाका दृष्टिले उनका सबै कृति अब्बल छन्, प्रयोगवादी आँखाबाट लोभलाग्दा छन्, तर सरुभक्त र पागलबस्ती पर्याय बनिदिए।

उनै सरुभक्त दसैंको छेकोमा आफ्नो सातौं उपन्यास ‘प्रतिगन्ध’ लिएर पाठकमाझ आएका छन्। उनको यो उपन्यास गृहनगर पोखरामा अनुज पुस्ताका तीन स्रष्टा तीर्थ गुरुङ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले लोकापर्ण गरे।

तीर्थ पाठशाला, गनेस पैताला र सरस्वती नथिया उपन्यासका सर्जक हुन्। सरुभक्तले चुली उपन्यास प्रकाशनको १४ वर्षपछि प्रतिगन्ध सार्वजनिक गरेका हुन्।

सरुभक्तले आफ्नो सातौं औपन्यासिक कृतिलाई ‘लाहुरेको डायस्पोरा’का रूपमा अर्थ्याए। यो कृति अमेरिकामा रहेका आप्रवासी नेपालीको दुःख, वेदना र उनीहरूको असंगत जीवनमा आधारित छ।

करिब १ लाख शब्द खर्चेका सरुभक्तले यो उपन्यास आफूले एक हप्ता अमेरिका बस्दा देखेका नेपालीहरूको कथा भएको बताए। उपन्यासमा भएको प्रमुख पात्र अमर प्रधानको वरपर घुम्ने उपन्यासमा अरू पुरक कथाहरू पनि मिसिएका छन्।

‘म २०६१ सालतिर अमेरिका गएको थिएँ, त्यहाँ म करिब ३ महिना बसें, खासगरी भर्जिनिया र मेरिल्याडमा’, सरुभक्तले भने,‘ एकहप्ता न्यूयोर्कमा पाहुना भएर बस्दा यो कथा लेखौं भन्ने लाग्यो र लेखेको हुँ।’

उनले आफू अल्छी मान्न जाँगर चलाउने लेखक भएको बताउँदै अल्छी मान्न जाँगर नलागेको पछिल्लो ४ वर्षमा उपन्यास तयार भएको जानकारी दिए। सुरुमा २ लाख शब्द भएको उपन्यासलाई आफैंले सम्पादन गरेर १ लाख शब्दमा झारेको पनि उनले सुनाए।

पुस्तक लोकापर्ण कार्यक्रममा बोल्दै सरुभक्तका समकालीन कवि तीर्थ श्रेष्ठले प्रतिगन्ध सरुभक्तको जीवनको अर्को महत्वपूर्ण कृति हुने ठोकुवा गरे। पूर्णकालीन लेखक सरुभक्तबारे उनले अगाडि भने, ‘अक्सर मान्छेहरू उमेरमै सबै उपलब्धि हासिल गर्छन्, सरुभक्तको हकमा त्यो लागू हुँदैन।’

पुस्तक लोकार्पणपछि समीक्षात्मक टिप्पणी गर्दै साहित्यकार तीर्थ गुरुङले फेरिएको लाहुरेको कथा बुनिएको यो उपन्यास विदेशिएका नेपालीको साझा कथा भएको बताए। ‘यो काका र मामा दुवैलाई अंकल भन्ने पुस्ताको कथा हो, यो हाम्रो कथा हो र न्युयोर्कमा लेखिएकाले अन्तर्राष्ट्रिय कथा हो’, उनले भने, ‘परिवार विघटन हुँदै गरेको र संस्कारविहीन भएको कथा पनि हो यो।’

अर्का साहित्यकार गनेस पौडेलले सरुभक्तको प्रतिगन्ध दुस्साहसपूर्ण रूपले लेखिएको विश्वस्तरको कृति भएको बताए। उपन्यासमा जादूयी यथार्थवाद प्रयोग भएको बताउँदै उनले प्रयोगका हिसाबले सरुभक्त आफैं यो कृतिमा ‘रिबर्थ’ भएको टिप्पणी गरे। सरस्वती प्रतीक्षाले प्रतिगन्ध अवसान र सुस्केराहरूको कथा भएको बताइन्।

‘उपपन्यासमा ऐठन नै ऐठन छ, दुखाइ नै दुखाइ छ’, उनले भनिन्,‘ यहाँ घृणा, प्रेम, स्वार्थ सबै छ।’

बुकहिल पब्लिकेसनबाट प्रकाशित यो उपन्यासको मूल्य ६ सय रुपैयाँ छ। पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पुस्तक लोकापर्ण भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .