ad ad

कला


सनई फुकेर संस्कृति संरक्षणमा जुटेका ‘कलाघर सिन्धुली’का छोरीहरू

‘पहिले कुरा काट्नेहरू अहिले प्रशंसा गर्छन्’
सनई फुकेर संस्कृति संरक्षणमा जुटेका ‘कलाघर सिन्धुली’का छोरीहरू

सुनिता विष्ट
जेठ १, २०८१ मंगलबार १३:२४, हेटौँडा

हरियो रङका चोली र लुंगी। सुनौलो रङका बुट्टेदार च्यादर। गलामा पहेँलो रङका पोते। धपक्क बलेका अनुहार! काँधमा नरसिंहा, हातमा दमाहा, सनईलगायत पञ्चेबाजा। १७ देखि २९ वर्षसम्मका किशोरी र युवती। 

जसले स्वदेशमा मात्रै होइन, विदेशमा समेत नेपाली कला, संस्कृति र रीतिरिवाज फैलाइरहेका छन्। उनीहरूजस्तै सुन्दर छन्- उनीहरूका कला र गला पनि। 

सेतो सेतो हे माया कमेरो माटो

झल्को आउँछ हे माया नहिँड यो बाटो...

पञ्चेबाजाका साथ गुन्जिरहेको थियो यो गीत- शुक्रबार (वैशाख २८ गते) बागमती प्रदेश युवा परिषद्‌द्वारा आयोजित युवा सम्मेलनमा। 

जहाँ अतिथिको आसनमा रहेका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, मन्त्रीहरूलाई समेत त्यो गीत र धुनले कुर्सीबाट उठ्न बाध्य बनायो। 

ननाचौँ भन्दा पनि स्वत:स्फूर्त उचालिएका गोडा। नहासौँ भन्दा पनि आफैँ मुस्कुराइरहेका ओठ!

सबैलाई मोहित पार्ने त्यो सा‌ंगीतिक समूहकी एउटी पात्र हुन्- गंगा ठटाल।

सिन्धुलीको कमलामाई नगरपालिका-३ की गंगा भर्खर १७ वर्षकी भइन्। तर उनले बजाउने बाजाको धुनले जो कोहीलाई मन्त्रमुग्ध बनाइदिन्छ।

कक्षा ९ मा पढ्दै गर्दा पञ्चेबाजाको लत लागेकी गंगा अहिले तालिमप्राप्त भएकी छन्। यसपालि मात्रै कक्षा १२ को परीक्षा दिएकी उनले पढाइसँगै कलाक्षेत्रमा रुचि देखाइन्।

यता प्लस टुसम्मको पढाइ लगभग सकाइन्। उता सनई मज्जाले फुक्न सक्ने भइन्। 

१४ वर्षकै उमेरमा मुस्किलले घर परिवारसँग अनुमति लिएर बाजा छुन पाएकी गंगा अहिले सिन्धुलीकै उदाहरणीय छोरी बनेकी छन्।

निम्ता आएका हरेक कार्यक्रम/समारोहमा गंगाले गाला फुलाएर सनई फुकेको एकटंकारले हेर्नेको कमी हुँदैन। त्यति मात्रै होइन, सनईसँगै उनले पञ्चेबाजाका सबै बाजा सजिलै बजाउँछिन्।

उनकै समूहकी २४ वर्षीया पवित्रा रम्तेल र २१ वर्षीया सञ्चिता थापामगर नरसिंहा मज्जाले फुक्छन्। रीता थिङ, सिर्जना गोले तामाङलगायतले अन्य बाजा समाउँछन्, अनि सुरु हुन्छ- पञ्चेबाजाको गडगडाहट धुन। बीचबीचमा सुमन थापामगरलगायत कालाकारले गाउन थालेपछि माहोल बन्छ बेग्लै। 

त्यसैले त देशदेखि विदेशसम्म चिनिएको छ- ‘कलाघर सिन्धुली’। अनि सबैको मनमा बसेका छन्- यसमा आबद्ध युवा कलाकार। त्यसमा पनि महिला बढी।

०००

२१ वर्षकी रीताले कलाघरमा आबद्ध भएर बाजा बजाउनेदेखि नाच्ने, नाटक खेल्नेसम्म गर्न थालेको ५ वर्ष भयो। 

सानैदेखि लोकगीत गुनगुनाउने उनको मन कलाघरका दिदीहरूले कार्यक्रममा प्रस्तुत गरेको कलाले लोभ्याइसकेको थियो।

कक्षा ७ पढ्दै गर्दा रीताले बाँसुरी बजाउन सिकिन्। सुरुमा परिवारले कुनै रोकटोक गरेन।

तर जब समाजले उनीमाथि औँला उठाउन सुरु गर्‍यो, तब परिवारले पनि बाजा बजाउने काम अन्य जातिको भएको भन्दै रोक्न खोज्यो।

‘हाम्रो समाजले जति ठूला कुरा गरे पनि परिवर्तन स्वीकार्ने आँट गर्नै सक्दैन’, विगतका पल स्मरण गर्दै उनी भन्छिन्, ‘एकताका त गाउँका मान्छेहरू मलगायत मसँग बाजा बजाउन सिक्न जाने सबैसँग बोल्नसमेत छाडे। घरमा आउने आमाबालाई अनेक कुरा सुनाएर राख्दिने गर्न थाले। कलाकार बनेपछि छोरी बिग्रिन्छे भन्ने त्रास मनमा पसेपछि आमाबुवाले रोक्ने कुरा गर्न थाल्नुभयो।’

उनी थप्छिन्, ‘तर सन्तानको रहरमा अभिभावकले लगाम लगाउन सक्नुहुन्न रहेछ। मेरो इच्छा देखेर जे होस् होस् भनेर आमाबुवाले अनुमति दिनुभयो।’

रीताको जस्तै चुनौती कलाघरमा आबद्ध सबै छोरीले भोग्नुपरेको पवित्रा रम्लेत बताउँछिन्।

‘केटी मान्छे भएर गीत गाउने, बाजा बजाउने! छाडा भए फलानाका छोरीहरू भन्दै गाउँभरि कुरा काटिए। तर, हामीले सिकेर राम्रो परिचय बनाउन थालेपछि भने कुरा काट्नेहरू नै अहिले तारिफ गर्न थालेका छन्’, पवित्रा भन्छिन्।

‘जो कोहीको सफलताको पछाडि अनेक चुनौती हुन्छन्। त्यसलाई पन्छाएर अघि बढ्ने आँट गरे सफलता हात पर्छ। नत्र मनमै गुम्सिन्छन् रहरहरू। उनीहले पनि आफ्नो रहर गुम्स्याएरै राखे भए कहाँ बन्थ्यो र कलाघर? कसले चिन्थ्यो र पवित्रा, रीताजस्ता सिर्जनशील कलाकार’, ‘कलाघर सिन्धुली’का अध्यक्ष सुमन थापामगर उतिबेलाका दिन सम्झिन्छन्।

उनी थप्छन्, ‘पहिले त हामी ३/४ जना मात्रै थियौँ। देउसीभैलोमा आफ्नो कला प्रस्तुत गर्थ्यौं। गाउँघरमै भएका केही कार्यक्रममा सहभागिता जनाउँथ्यौँ। तर अहिले कलाघर बिस्तारै झाँगिएको छ। तर यसलाई अझै तीन तहका सरकारले मलजल गरिदिए कला मर्न पाउँदैनथ्यो।’

उनका अनुसार हिजो छि: भन्नेहरू अहिले उनीहरूले फुकेको सनईको धुन सुन्न आतुर हुन्छन्। घरपरिवारको त झन् कुरै नगरौँ। छोरीहरूको कलाले मक्ख छन् आमाबुवा। गाउँभरि उनीहरूकै प्रशंसा हुने गरेको छ।

२३ वर्षीया सिर्जना गोले तामाङ भन्छिन्, ‘पहिले हामीलाई गर्ने व्यवहार र अहिले गर्ने व्यवहार त आकाश-पातालको फरक भएको छ। अवसर पाए छोरीहरूले पनि संस्कृति जगेर्ना गर्न सक्छन् भन्ने उदाहरण नै बनेका छौँ।’

उनी थप्छिन्, ‘हामीलाई आजभोलि विदेशबाट पनि निम्ता आउन थालेको छ। केही महिनाअघि हङकङ गएर आयौँ। इन्डिया पनि गयौँ। बिस्तारै चिनिँदैछौँ।’

संस्थागत विकासमा एकजुट

‘कलाघर सिन्धुली’का यी कलाकार, जो व्यक्तिगत कुनै आशा नराखी संस्थालाई बलियो बनाउन हरदम जुटिरहेका छन्।

वि‍. सं २०७६ मा स्थापना भएको ‘कलाघर सिन्धुली’को यात्राले ५ वर्ष पार गर्दै छ। यो अवधिमा कलाघरले ३० जनाभन्दा बढी कलाकार जन्माइसकेको अध्यक्ष सुमन थापामगर सुनाउँछन्। 

कलाकारहरू सोही घरमा बस्छन्। त्यहीँ सिक्छन्। त्यहीँबाट पढ्न जान्छन्। कार्यक्रमहरूमा पालैपालो सहभागी हुन्छन्। तर त्यसबापत प्राप्त हुने रकम कहिले व्यक्तिगत खल्तीमा राख्दैनन्। संस्थाको कोषमा राख्छन्। उपचार, पढाइ लगायतका खर्च कलाघरले नै बेहोर्ने गरेको छ।

‘हामी त अहिले कमाउनेभन्दा पनि कलाघरलाई जमाउने अभियानमा जुटेका हौँ’, ‘कलाघर सिन्धुली’की उपाध्यक्षसमेत रहेकी पवित्रा भन्छिन्, ‘हाम्रो गुरुयोजना भनेको राष्ट्रिय कला संग्रहालय स्थापना गर्ने हो। सिन्धुलीमै यो स्थापना गर्न हामी जुटिरहेका छौँ। सरोकारवाला निकायसमक्ष पनि हात फैलाइरहेका छौँ। १२ करोड बराबरको योजनामा हालसम्म लगभग २ करोडको काम सकाइसकेका छौँ। त्यही अभियान पूरा गर्न जुटेका हामीले आफ्नो खल्ती भराउने सपना टाढै राखेका छौँ।’

कलाघरका अध्यक्ष सुमन आफूहरूको अभियानमा सरकारको साथ र सहयोगको अपेक्षा गर्छन्। 

‘हामीमा कुनै व्यक्तिगत स्वार्थ छैन। मौलिक कला-संस्कृति जगेर्ना गर्न लागिपरेका हामीलाई सरकारले थोरै भए पनि ढाढस देओस् भन्ने अपेक्षा छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .