बलिउडका ‘शो म्यान’अभिनेता तथा निर्माता राज कपुरको चेम्बुर बंगला बिक्री भएको छ। उनको बंगला गोदरेज ग्रुपले भारु १०० करोडमा किनेको हो। अब यो बंगलाको ठाउँमा प्रिमियम आवासीय परियोजना बनाइनेछ। झन्डै एक एकडमा फैलिएको यो बंगलाअघि सन् २०१९ मा प्रसिद्ध आरके स्टुडियो पनि गोदरेज समूहले किनेको थियो।
बंगला बिक्रीपछि राज कपुरका छोरा रणधीर कपुरले भने, ‘यो बंगलाबाट हामीसँग धेरै सम्झना छन्। यसले हाम्रो परिवारका लागि धेरै अर्थ राख्छ। हामी गोदरेज परिवारले यो समृद्ध विरासतलाई अगाडि बढाउने आशा गर्दछौं।’
राज कपुरले धेरै सम्पत्ति जोडेका थिए। त्यसमध्ये चेम्बुरको आरके स्टुडियो र बंगला निकै चर्चित थिए। आरके स्टुडियो चार वर्ष पहिले बेचिएको थियो।
अहिले उनको प्रतिष्ठित बंगला पनि गोदरेज परिवारलाई बेचिएको हो।
हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार, गोदरेज प्रोपर्टिजका कार्यकारी अध्यक्ष पिरोजशा गोदरेजले भने, ‘जमिन जम्मा एक एकडमा फैलिएको छ। हामी यो जग्गामा प्रिमियम आवासीय परियोजना विकास गर्नेछौं।’
यस परियोजनाको अनुमानित मूल्य झन्डै भारु ५ सय करोड हुनेछ। राज कपुरको यो बंगला देवनार फार्म रोडमा टाटा इन्स्टिच्युट अफ सोसल साइन्स (टीआईएसएस) को छेउमा छ।
Shares
प्रतिक्रिया