पानीजहाज कर्मचारीले पत्रमा सन्देश लेखेर बोतलभित्र बिर्को लगाएर समुन्द्रमा फ्याँकेका थिए। उक्त बोतल अमेरिकामा ५० वर्षपछि भेटिएको हो।
अलस्काका नागरिक टेलर इभानअफले उक्त बोतल समुन्द्रको किनारमा भेटेका थिए। रुसी भाषामा लेखिएको पत्र उनले हालै फेसबुकमा पोस्ट गरेका थिए। त्यसको अनुवाद के होला भनेर उनले प्रश्न गरेका थिए।
रुसी भाषाको उक्त पत्रले रुसमा निकै चर्चा पायो। रुसी संचारमाध्यमका अनुसार उक्त पत्र जुन २० सन् १९६९ मा लेखिएको रहेछ।
रुसको सुलाक जहाजका क्याप्टेन एनाटोली बोटसानेन्कोले उक्त पत्र लेखेका रहेछन्।
बीबीसीका अनुसार उक्त पत्रमा लेखिएको छ,‘रुसको सुदुरपूर्व मोदर सिप भीआरएक्सएफ सुलाकको तर्फबाट अभिवादन, यो बोतल र यस भित्रको सन्देश कसले फेला पार्नुहुन्छ, म तपाइँलाई हाम्रो ठेगाना भ्लादिभोस्तोक–४३ मा खबर गर्न आग्रह गर्दछु। हामी जहाजका सबै कर्मचारी तपाइको स्वास्थ्य र दिर्घायुको कामना गर्दछौं, २० जुन सन् १९६९।’
उक्त पत्र लेख्ने क्याप्टेन बोटसानेन्को यतिबेला ८६ वर्ष पुगेका छन्। ५० वर्ष अगाडि लेखेको सन्देश फेला परेको समाचारसँगै उनी निकै भावुक भएको बताइएको छ।
रुसको टेलिभिजन च्यानल रोसिया १ सँग बोल्दे उनले भने,‘हो यो मेरै अक्षर हो।’ बोटसानेन्कोले सन् १९६६ देखि १९७० सम्म पानीजहामा काम गरेका थिए।
प्रतिक्रिया