यी हात्तीहरुले गत वर्षदेखि हालसम्म ५ हजार किलोमिटरको यात्रा तय गरिसकेका छन्। रोचक के भने यी हात्तीहरु कहाँ हिँडेको भनेर हालसम्म पत्ता लाग्न सकेको छैन।
१५ महिनाको हिँडाइपछि सोमबार हात्तीहरुले आराम गरेको चिनियाँ संचारमाध्यमले जनाएका छन्। हाल हात्तीहरलाई २४ घण्टा नै निगरानी गरिएको छ।
यी हात्तीहरुले सियाङको गाउँ वरपर आराम गरेको बताइएको छ। हात्तीलाई बस्तीमा पस्न नदिन तथा तिनीहरुको निगरानी गर्न ४१० मानिसहरु, ३७४ सवारी साधन र १४ वटा ड्रोन खटाइएको छ।
सीसीटीभीका अनुसार मंगलबार बिहानदेखि हात्तीहरुले फेरि यात्रा सुरुवात गरेका छन्। सीसीटीभीका अनुसार ड्रोनले खिचेका तस्बिरमा हात्तीहरुले आराम गरेको र यात्रामा निस्किएको देखिएको छ।
यी हात्तीहरुलाई मानवबस्तीमा पस्न नदिनको लागि निगरानीका लागि खटेका मानिसहरुले पर्याप्त खाना हात्ती नजिक छाड्ने गरेका छन्।
सिन्ह्वाका अनुसार गतवर्ष १६ हात्तीले बासस्थान छाडेर हिँडेका थिए। सो क्रममा एउटा हात्तीले एक छावालाई जन्म दिएको थियो।
१७ मध्ये फेरि दुई हात्ती जंगल नै फर्किएपछि यतिबेला १५ हात्तीले मात्र गन्तव्यविहीन यात्रा गरिरहेका हुन्।
सोमबार एउटा नर हात्ती समूहबाट टाढिएको थियो। तर यतिबेला त्यो हात्ती समूहमै फर्किएको छ।
हाल चिनियाँ हात्तीहरुकाे यस गन्तव्यविहीन यात्राकाे विषय अन्तराष्ट्रिय चासाे बनिसकेकाे छ।
प्रतिक्रिया