ad ad

गण्डकी


२३ वर्षपछि पोखरामा बाघजात्रा निकालिँदै

२३ वर्षपछि पोखरामा बाघजात्रा निकालिँदै

नेपालखबर
भदौ १४, २०८० बिहिबार १८:५०, पोखरा

नेवारी संस्कृतिमा बाघजात्रालाई जात्राहरुको पनि जात्राको रुपमा लिइन्छ, यो जात्राको इतिहास बाघ र मान्छेबीचको द्वन्द्वसँग जोडिन्छ।

प्राचीन समयमा बाघ बस्ती पसेछ। मान्छेको रगत खान पल्केको बाघको आक्रमणबाट नागरिकहरु आजित भएछन्। उनीहरुले राजासामु बाघ मार्न बिन्ती चढाएछन्। राजाले बाजागाजासहित  सैनिक लगाएर नरभक्षी बाघ मारेछन्।

राजाले बाघ मारेको स्मरणमा जात्रा सुरु भएको संस्कृतिविदहरु बताउँछन्। बाघजात्रामा राजा–रानी,प्रधान सेनापति, सेनापति, बाघ,शिकारी,पहलमान,वैद्य,नर्तक तथा हाँस्यकलाकारहरुको सहभागिता रहन्छ। भक्तपुरसहित देशका विभिन्न ठाउँका नेवार बस्तीहरुमा बाघजात्रा निकालिन्छ।

यो पटक पोखरामा पनि २३ वर्षपछि बाघजात्रा निकालिने भएको छ। नेवाःखल कास्की र पोखरा महानगरपालिकाको संरक्षकत्वमा यही भदौ १८ देखि २० गतेसम्म जात्रा निकालिन लागिएको बाघजात्रा आयोजक समिति संयोजक जवाहरलाल श्रेष्ठले जानकारी दिए।

उनका अनुसार यहाँका प्रमुख नेवारी बस्तीहरुमा जात्रा देखाइने छ भने भदौ २० गते बाघ मारेपछि जात्रा सकिने छ। जात्रामा मुस्ताङका पूर्व राजारानी अर्थात् आलंकारिक राजारानीको पनि सहभागिता रहने उनले जानकारी दिए। बाघजात्रालाई सिन्दुरजात्रा समेत भनेर मनाइने गरिन्छ। बाघ मारेपछि गरिने सिन्दुरजात्रासँगै यो जात्रा सकिने उनको भनाइ छ।

संस्कृतिका अध्येता सुनिल उलकका अनुसार जात्रामा बाघको डमीलाई जालमा पारिने छ भने बाघलाई मोहित बनाउने धुन बजाइने छ।

‘पहिला–पहिला जंगल अतिक्रमण गरी मानिसले घर बनाउने गर्थे। त्यो बेला बाघले मानिसलाई निकै दुःख दिने गरेको कारण राजालाई बाघ मार्न नागरिकले बिन्ती चढाएपछि यो मेला सुरु भएको भनिन्छ,’उनले थपे।

उनका अनुसार पोखरामा २००६ सालदेखि बाघजात्रा मनाइदै आइएको पाइन्छ। २०५७ सालपछि भने बाघजात्रा मनाउन छाडिएको थियो। बाघजात्राका लागि बाजाको ताल जान्ने दुई व्यक्ति रहेको र उनीहरुले युवाहरुलाई बाजा सिकाएको उलकले बताए।

मोहनबहादुर ताम्राकार र कृष्णदेव प्रधानाङ्गले मात्र बाघजात्राको बाजा बजाउन जानेका छन्। बाघ जात्राकै क्रममा लाखेनाच, तायाः मचा नाच, हनुमाननाच पनि प्रदर्शन गरिने छ।

यस्तै, उपत्यकाको भक्तपुरबाट त्यहाँको स्थानीय जात्रा घिन्ताघिसीको ५० जनाको टोली पोखरा आउने भएको छ। जात्रामा बागलुङबाट हनुमान नाच आउने संभावना रहेको समितिले जनाएको छ।

बाघजात्राको संरक्षक संस्था नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बाघजात्रालाई महोत्सवको रुपमा लिनुपर्ने र पर्यटनसंग जोडेर लैजान आवश्यक भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .