कास्की प्रहरीले पोखरामा कास्कीमा मोडिफाइ (स्वरुप परिवर्तन) गरी चलाएका ६ सय ८१ मोटरसाइकल नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले संयुक्त रुपमा स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै ध्वनी प्रदुषण गर्ने, साइलेन्सर पाइपबाट आगो निकाल्ने बनाइएका मोटरसाइकलहरु नियन्त्रणमा लिएको हो।
प्रहरीले भदौ २५ गतेदेखि आइतबारसम्म गरी सात महिनाको अवधिमा सो संख्यामा मोटरसाइकल नियन्त्रणमा लिएको हो। यस्तै, कारबाहीमा परेको ती मोटरसाइकलहरुबाट ७ लाख ४२ हजार ७ सय रुपैयाँ जरिवाना संकलन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।
उनका अनुसार फागुन १७ देखि २० गतेसम्म कडाइका साथ चेकजाँच गर्दा ५९ वटा मोटरसाइकल मोडिफाइ गरेको भेटिएको थियो।
प्रहरी प्रमुख थापाका अनुसार पहिलोपटक मोडिफाइ भएका मोटरसाइकललाई सामानहरु फेर्न लगाएर पहिलेको जस्तै बनाउन लगाई ट्राफिक नियम उल्लंघनमा जरिवाना गरी अभिभावकको जिम्मा लगाइनेछ। तर, यसअघिसमेत कारबाहीमा परेकालाई भने यातायात कार्यालयमा थप कारबाहीका लागि पठाउने थापाले बताए।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन, पार्टपुर्जा थप्न घटाउन रंग परिवर्तन गर्ने नपाइने व्यवस्था छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने वर्कसपको निगरानी, पहिचान गर्ने र उक्त वर्कसपका सञ्चालकहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्ने जनाएको छ।
मोटरसाइकल मोडिफाइ गराउने वर्कसपलाई वान्टेडको सूचीमा राख्ने तयारी पनि भइरहेको छ।
Shares
प्रतिक्रिया