चीन र रुसले उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने अमेरिकाको प्रस्ताव रोकेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार पछिल्लो केही समययता उसले निरन्तर गरिरहेको मिसाइल परीक्षणको जवाफमा उत्तर कोरियामाथि प्रतिबन्धको प्रस्ताव गरिएको हो।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकअघि चीन र रुसले तत्कालका लागि उत्तर कोरियामाथि थप प्रतिबन्धको प्रस्ताव रोकेका हुन्।
उत्तर कोरियाले निरन्तर मिसाइल परीक्षण गरिरहेपछि दुई सातामा दोस्रोपटक राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बसेको हो।
बिहीबार बसेको बैठकमा चीन र रुसले अमेरिकाको प्रस्तावलाई ‘होल्ड’मा राखेका थिए।
चीनले यसबारे निर्णय गर्नको लागि थप समय आवश्यक रहेको बताएको छ भने रुसले भने अमेरिकाको प्रस्तावलाई सहयोग गर्न थप प्रमाण आवश्यक रहेको बताएको छ।
राष्ट्रसंघको अहिलेको नियमअनुसार कुनै प्रस्तावलाई ५ महिनासम्म लम्ब्याउन सकिन्छ।
त्यसपछि परिषद्को अर्को सदस्य राष्ट्रले त्यसलाई थप तीन महिना लम्ब्याउन सक्छ। त्यसपछि मात्र उक्त प्रस्ताव स्थायीरुपमा हटाउन सकिन्छ।
Shares
प्रतिक्रिया