श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाय राजपाक्ष स्वदेश फर्किएका छन्।
गत जुलाईमा मुलुकमा भएको व्यापक प्रदर्शनपछि देश छाडेर भागेका उनी स्वदेश फर्किएका हुन्। अस्थायी भिसामा थाइल्याण्डमा रहेका उनी सिंगापुर हुँदै स्वदेश फर्किएको बीबीसीले उल्लेख गरेको छ।
केही श्रीलंकाली मन्त्रीहरुले उनीसँग भेटवार्ता गरेको बताएका छन्। श्रीलंकाका मानिसहरुले उनको सरकारकै कारण मुलुकमा आर्थिक संकट उत्पन्न भएको आरोप लगाउँदै आएका छन्।
श्रीलंकामा विदेशी मुद्रा सञ्चितिको अभावको कारण खानेकुरा र इन्धनको भाउ आकाशिएको थियो।
गत जुलाईमा आन्दोलनकारीहरु राष्ट्रपति निवासमा प्रवेश गरेपछि राजपाक्ष सेनाको विमानबाट माल्दिभ्स पुगेका थिए र त्यहाँबाट सिंगापुर पुगेर राजीनामा पठाएका थिए।
राजपाक्षको स्वदेश फिर्ती नयाँ सरकारको लागि संवेदनशील विषय हो।
नयाँ सरकार अब मुलुकमा थप आन्दोलन नहोस् भन्ने चाहन्छ भने राजपाक्षको सुरक्षा व्यवस्था मिलाउने चुनौती पनि यो सरकारलाई छ।
Shares
प्रतिक्रिया