अमेरिकापछि ल्याटिन अमेरिकामा पनि चीनको जासुसी बेलुन देखापरेको छ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपी र एसोसिएटेड प्रेसले यो जानकारी दिएको हो।
राइडरले चीनको दोस्रो जासुसी बेलुन ल्याटिन अमेरिकामा देखिएको दाबी गरेका छन्। तर उनले बेलुनको सही स्थान भनेनन्।
यसै क्रममा अमेरिकामा भेटिएको पहिलो जासुसी बेलुनमा चीनको आधिकारिक मिडिया ग्लोबल टाइम्सको प्रतिक्रिया आएको छ।
चीनले के भन्यो?
अमेरिकाको पछिल्लो दाबीपछि यस विषयमा चीनको जवाफ आएको छ। चीनको आधिकारिक मिडिया संगठन ग्लोबल टाइम्सले यसबारे केही ट्विट गरेको छ।
एउटा ट्विटमा ग्लोबल टाइम्सले लेखेको छ, ‘चीनबाट एउटा मानवरहित हवाई जहाज अमेरिकी आकाशमा अप्रत्याशित घटनाका कारण प्रवेश गरेको छ। चीनले घटनाको पुष्टि गर्दै अमेरिकालाई जवाफ दिएको छ।’
यसस अनुसार, ‘चीनको विदेश मन्त्रालयका प्रवक्ताले शनिबार जारी गरेको विज्ञप्तिमा अप्रत्याशित परिस्थितिका कारण घटना भएको बताएको छ।’
अर्को ट्विटमा ग्लोबल टाइम्सले लेखेको छ, ‘चीनले सधैं अन्तर्राष्ट्रिय कानुन र अन्य देशको सार्वभौमसत्ता र अखण्डतालाई उच्च सम्मान गरेको छ। कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशको भूभाग वा हवाई क्षेत्रको उल्लङ्घन गर्ने कुनै उद्देश्य छैन। हामी यस घटनाको आडमा केही अमेरिकी नेता र मिडियाले चीनको बदनाम गरेकाप्रति विरोध गर्छाैं।’
यसअघि अमेरिकामा देखिएको थियो ‘जासुसी’ बेलुन
यसअघि बुधबार पश्चिमी अमेरिकी राज्य मोन्टानामा यस्तै एउटा बेलुन आकाशमा देखिएको थियो।
त्यसपछि अमेरिकाले चीनले संवेदनशील ठाउँमा जासुसी गरेको आरोप लगाएको थियो। अधिकारीहरूले भनेका छन्– यो बेलुन पछिल्ला दिनहरूमा संवेदनशील ठाउँहरूमा उडिरहेको थियो र यो एक जासुसी उपकरण हो।
यी घटनाक्रमका बीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।
यद्यपि चीनको विदेश मन्त्रालयले अमेरिकाको आरोपको खण्डन गर्दै यो ‘सिभिलियन एयरसिप’ भएको बताएको छ।
अमेरिकाको आकाशमा यस्तो बेलुन आएकोमा चीनले दुःख व्यक्त गरेको थियो। यस बेलुनको उद्देश्य मौसमविज्ञानको जानकारी सङ्कलन गर्नु रहेको चीनको भनाइ छ। बीबीसी
Shares
प्रतिक्रिया