ad ad

ग्लोबल


बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा आयकर विभागको छापा, पत्रकारको फोनसमेत खोसियो

बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा आयकर विभागको छापा, पत्रकारको फोनसमेत खोसियो

नेपालखबर
फागुन २, २०७९ मंगलबार १४:१७, काठमाडौँ

बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा भारतस्थित आयकर विभाग (आईटी) को टोलीले छापा मारेको छ। 

समाचार अनुसार आईटीका ६० देखि ७० जना सदस्यले बीबीसीको कार्यालयमा छापामारेका हुन्। 

समाचारअनुसार यो छापाका क्रममा सबै पत्रकार र कर्मचारीको फोन खोसेर बन्द गरिएको थियो। 

साथै छापाका क्रममा कार्यालय परिसरमा कसैलाई आउन जान पनि निषेध गरिएको थियो। बीबीसी इन्डिया व्यस्थापनले छापा मारिएको सूचना लण्डनस्थित केन्द्रीय कार्यालयमा दिएको छ। 

आयकर विभाग सुत्रका अनुसार, बीबीसीमाथि अन्तराष्ट्रिय कारोबारका क्रममा करमा गडबडी गरेको आरोप छ। यसलाई लिएर त्यहाँ छापा मारिएको हो। 

तर पनि आयकर विभाग र बीबीसीकोतर्फबाट यस छापामारीबारे आधिकारिक कु्नै जानकारी दिइएको छैन। यता प्रमुख प्रतिपक्षी कांग्रेसले ट्वीट गर्दै सरकारको यो कदमलाई आपत्तिजनक भनेको छ। 

बीबीसीको कार्यालयमा छापा मारिएपछि कांग्रेस महासचिव जयराम रमेश अडानी मामिला छाडेर नरेन्द्र मोदी नेतृत्वको सरकार बीबीसीको पछि लागेको आरोप लगाएका छन्। 

'यहाँ हामी अडानी मामिलामा जाँचको माग गरिरहेका छौँ। उता सरकार बीबीसीको पछि लागेको छ। विनाशकाले विपरीत बुद्धि', उनले भनेका छन्। 

रमेशले मंगलवार केन्द्र सरकार अडाणी-हिन्डनबर्ग मामिलामा जाँच गर्नबाट भागिरहेको बताएका छन्। 

बीबीसीको कार्यालयमा आयकर विभागको छापालाई लिएर त्रिणमूल कांग्रेसका सांसद महुआ मोइत्राले चकित पार्ने खबर भनेका छन्। 

यसअघि बीबीसीले मोदी सरकारमाथि गम्भीर आरोप लगाउँदै एउटा डकुमेन्ट्री बनाएको थियो।

सन् २००२ को गुजराँत दंगाका क्रममा प्रधानमन्त्री मोदीको नेतृत्वलाई लिएर प्रश्न उठाउँदै केही महिनाअघि बीबीसीले डकुमेन्ट्री ल्याएको थियो।

यो डकुमेन्ट्रीका कारण आक्रोशित मोदी सरकारले त्यसको प्रसारणमा पनि रोक लगाइसकेको छ। मोदी सरकारले डकुमेन्ट्रीको कुनै क्लिप पनि सामाजिक सञ्जालमा सेयर गर्न दिएको थिएन।

उक्त डकुमेन्ट्रीले गुजरात दंगामा मोदीको भूमिकाको चर्को आलोचना गरेको थियो।

सूचना तथा प्रसारण मन्त्रालयले बीबीसी डकुमेन्ट्री ‘इण्डिया : द मोदी क्वेसन’को पहिलो भागका युट्युब भिडियो र उक्त भिडिओ लिंक गरिएका ५० भन्दा बढी ट्वीट हटाउन निर्देशन दिएको थियो। 

ती साम्रगीलाई सन् २०२१ को आईटी नियमअन्तर्गत आपतकालीन शक्तिको प्रयोग गरेर ब्लक गर्न भनिएको थियो। 

गत जनवरी १७ मा प्रसारित दुई भागको शृंखलाको वृत्तचित्रको पहिलो भागले राजनीतिज्ञका रूपमा मोदीको प्रारम्भिक वर्ष र सत्ताधारी हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (बीजेपी)मार्फत उनको उदयबारे व्याख्या गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .