चीनले नयाँ रक्षामन्त्री नियुक्त गरेको छ। ली साङ्फु नयाँ रक्षामन्त्री बनेका छन्। तर, उनीमाथि यसअघि नै अमेरिकाले प्रतिबन्ध लगाएको छ।
यसले दुई मुलुकबीच भूराजनीतिक तनाव चर्किरहेका बेला सैन्य संवाद अघि बढाउन थप कठिनाइ हुने विश्लेषण गरिएको छ।
ली एरोस्पेस इन्जिनियर हुन्। उनलाई अन्तर्राष्ट्रिय जगतले अत्यन्त कम चिनेको छ। तर, आइतबार चीनको जनकंग्रेसले उनैलाई शीर्ष सैन्य कूटनीतिज्ञ, अर्थात् रक्षामन्त्री चयन गर्यो।
गत अक्टोबरको महाधिवेशनले उनलाई चीनको शक्तिशाली केन्द्रीय सैन्य आयोगको सदस्य बनाएको थियो।
अमेरिकाले सन् २०१८ मा लीमाथि प्रतिबन्ध लगाएको थियो। रुसको सैन्य र गुप्तचर निकायसँग कारोबार गर्नेहरुलाई प्रतिबन्ध लगाउने क्रममा उनीमाथि सो प्रतिबन्ध लागेको थियो।
त्यतिबेला ली चिनियाँ सेनाको त्यो एजेन्सीका निर्देशक थिए, जसले जनमुक्ति सेनाका लागि हतियार खरिद तथा विकास गर्ने गर्छ।
रुसबाट एसयू–३५ विमान र एस–४०० हवाई प्रतिरोधी क्षेप्यास्त्र प्रणाली खरिद गरेको भन्दै उनीमाथि प्रतिबन्ध लगाइएको थियो।
चीनमा रक्षामन्त्रीको शक्ति तुलनात्मक रुपमा सीमित हुन्छ। यद्यपि, अन्य मुलुकसँगको सैन्य सम्बन्धमा भने रक्षामन्त्री अग्रभागमा हुने गर्छन्।
पछिल्लो समय बेलुन काण्डपछि अमेरिका र चीनबीच सैन्य सम्पर्क गडबड भएको छ। जसका कारण अमेरिकी विदेशमन्त्रीले चीन भ्रमण रद्द गरेका थिए भने तत्कालीन चिनियाँ रक्षामन्त्रीले अमेरिकी समकक्षीसँग फोन वार्ता गर्न अस्वीकार गरेका थिए।
बेलुन काण्डमा द्विपक्षीय रक्षा हटलाइनकमा सम्पर्क भए पनि न्यान्सी पेलोसीको ताइवान भ्रमणदेखि नै त्यसबाहेकका दुई मुलुकका सेनाबीचको सबै सम्पर्क माध्यम बन्द छन्।
अमेरिकाले प्रतिबन्ध लगाएको हुनाले लीसँग अमेरिकाले सिधा संवाद र सम्झौता गर्न सक्दैन। उनीमाथिको प्रतिबन्ध हटाउन पनि अमेरिकालाई कठिन हुने विश्लेषकहरु बताउँछन्।
‘उनीमाथि प्रतिबन्ध लागेको हुँदा चीन र अमेरिका दुवै अप्ठेरोमा परेका छन्। मलाई लाग्छ, चीनले उनलाई प्रतिबन्ध भए पनि छुट दिनुपर्ने हुन्छ। तर, त्यो राजनीतिक रुपले अमेरिकामा कठिन काम हो,’ एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका अध्येता लाइल मोरिस भन्छन्।
लीका बुबा चिनियाँ गृहयुद्धका बेला एक आर्मी कमान्डर थिए।
Shares
प्रतिक्रिया