स्वीडेनको सशस्त्र बलले सुडानमा आफ्नो उद्धार कार्य सम्पन्न गरेको छ। प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले बिहीबार सो बारे जानकारी गराएका हुन्।
स्वीडेनको सशस्त्र बलद्वारा सञ्चालित सात उडानमा ६० स्विडेनी नागरिकसहित १६० जनालाई द्वन्द्वग्रस्त देशबाट बाहिर निकालिएको क्रिस्टर्सनले पत्रकार सम्मेलनमा बताएका हुन्।
साथै केही स्विडेनी नागरिकहरूले अन्य देशहरूद्वारा सञ्चालित उडानहरूमा सुडान छोडेका थिए।
अप्रिल १५ मा सुडानी सशस्त्र बल र र्यापिड सपोर्ट फोर्सबीच सुडानको राजधानी खार्तुम र अन्य ठाउँहरूमा हिंसात्मक झडप भएको थियो। दुवै पक्षले मङ्गलबार ७२ घण्टाको युद्धविराममा सहमति जनाएका थिए।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार अशान्ति शुरु भएदेखि अहिलेसम्म ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने तीन हजारभन्दा बढी घाइते भएका छन्।
अप्रिल १९ मा स्विडेनी सरकारले खार्तुममा रहेको स्विडेनी दूतावासलाई सहयोग सशस्त्र सेना परिचालन गर्ने निर्णय गरेको थियो। (रासस-सिन्ह्वा)
Shares
प्रतिक्रिया