चीन र संयुक्त राज्य अमेरिकासहित दुई दर्जन बढी देशका गुप्तचर प्रमुखबीच सिंगापुरमा गोप्य बैठक भएको छ।
बैठकमा अमेरिकाका राष्ट्रिय गुप्तचर निर्देशक एभरिल हेन्स, भारतका रिसर्ज एण्ड एनलाइसिस विङ (रअ)का प्रमुख सामन्त गोयल, चिनियाँ गुप्तचर निकायका प्रतिनिधिलगायत सहभागी रहेको बताइएको छ।
गुप्तचर निकायको गोप्य बैठकमा बेलायत, क्यानडा, अष्ट्रेलिया र न्यूजील्याण्डलगायतका गुप्तचर प्रमुखको पनि उपस्थिति रहेको दाबी गरिएको छ।
जुन २ देखि ४ सम्म सिंगापुरमा ४१ देशका प्रतिनिधिको उपस्थितिमा २०औँ सांग्रिला डायलग भएको थियो। सोही बैठकका दौरान गुप्तचर एजेन्सीहरूले गोप्य वार्ता गरेको पुष्टि भएको दाबी समाचार एजेन्सी रोयटर्सले गरेको छ। सहभागी पाँच जना स्रोतले सिंगापुर गुप्तचर प्रमुखबीच गोप्य वार्ता भएको पुष्टि गरेको उल्लेख गरेको छ।
बैठक द्वन्द्वात्मक नभई अन्तरदेशीय सहकार्यका विषयमा छलफल भएको बताइएको छ।
यस प्रकारको बैठक सिंगापुरले सुरक्षा शिखर सम्मेलनका साथ छुट्टै स्थानमा गोप्य बैठकको आयोजना गराउँदै आएको समाचारमा दाबी गरिएको छ। तर यसअघि यस्ता बैठक सार्वजनिक हुने गरेका थिएनन्।
सिंगापुरस्थित अमेरिकी दूतावासले भने बैठकको बारेमा कुनै जानकारी नभएको बताएको छ। चिनियाँ र भारतीय दूतावासले पनि बैठकबारे टिप्पणी गर्न अस्वीकार गरेको दाबी रोयटर्सले गरेको छ।
Shares
प्रतिक्रिया