ad ad

ग्लोबल


राष्ट्रिय सेनाविरुद्ध किन उत्रिए ‘पुटिनका भान्से’?

राष्ट्रिय सेनाविरुद्ध किन उत्रिए ‘पुटिनका भान्से’?

नेपालखबर
असार ९, २०८० शनिबार १४:३७,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकै सहयोगमा यव्गेनी प्रिगोजिनले वाग्नर नामक भाडाको निजी सैनिक समूह खडा गरेका थिए। अहिले सो समूह मुलुकको राष्ट्रिय सेनाविरुद्ध विद्रोहमा उत्रिएको छ।

सो समूहले रुसको दक्षिणपूर्वी सहर रोस्तोव अन दोन कब्जा गरेको खबर छ। जुन युक्रेनको सीमानजिक पर्छ। 

वाग्नरले लडाइँमा महत्वपूर्ण भूमिका खेले पनि अनुशासन तथा नियमकानुन पालना भने गर्दै आएको छैन। युद्धभर पुटिनबाहेक कसैप्रति पनि यो समूहका नाइकेहरुले वफादारी देखाएनन्। 

क्रेमलिन र रुसी सेनाको तर्फबाट क्याटरिङ ठेक्का पाउने गरेको प्रिगोजिनलाई कुनै समय ‘पुटिनको भान्से’ भनेर पनि चिनिन्थ्यो। तर, अहिले उनी पुटिनविरुद्ध नै खडा भएका छन्।

प्रिगोजिनले किन मुलुकको सेनाविरुद्ध आफ्नो फौज उतारे त?

यो विद्रोह शुक्रबार साँझ अचानक सुरु भए पनि यसको आधार भने लामो समयदेखि तयार भइरहेको थियो। महिनौँ अघिदेखि प्रिगोजिनले रुसको सैन्य नेतृत्वविरुद्ध विभिन्न आरोप लगाउँदै आएका थिए। खासगरी रक्षामन्त्री सेर्गेइ सोइगु र जर्नेल गेरासिमोवलाई लक्षित गरी उनले वक्तव्य दिँदै आएका थिए।

शुक्रबार क्रुद्ध प्रिगोजिनले विभिन्न अडिओ र भिडिओ अनलाइनमा पोस्ट गर्दै रक्षामन्त्री सोइगुले युक्रेनमा लडिरहेको आफ्नो समूहविरुद्ध रकेट आक्रमण गराएको दाबी गरे। 

त्यसपछि सोइगुलाई पदबाट हटाउने घोषणा गर्दै उनले बाटो नछेक्न रुसी सेनालाई आग्रह गरे।

‘यो सैन्य कू होइन, न्यायको यात्रा हो,’ उनले भने।

रुसी रक्षा मन्त्रालयले भने त्यस्तो आक्रमण नगरिएको बतायो।

लगत्तै रुसको सुरक्षा एजेन्सी एफएसबीले सशस्त्र विद्रोहका लागि आह्वान गरेको भन्दै प्रिगोजिनमाथि अनुसन्धान सुरु गर्‍यो।

राजधानी मस्कोको सडकमा दंगा प्रहरी र नेसनल गार्ड तैनाथ गरिए।

पछिल्लो समय लामो र रक्तपातपूर्ण लडाइँ चलेको दोनेस्क क्षेत्र कब्जा गर्नमा वाग्नरले प्रमुख भूमिका खेलेको थियो। प्रिगोजिनले बाखमुत मात्र होइन, दोनेस्क क्षेत्रकै कब्जा आफूहरुले गरेको दाबी गरेका थिए।

लडाइँ चलिरहँदा रुसी सेनाले आवश्यका गोलाबारुद आफूहरुलाई नदिएको आरोप पनि उनले लगाएका थिए। लडाइँ जितेपछि भने रुसी रक्षा मन्त्रालयले सम्पूर्ण जस लिन खोजेको उनको भनाइ थियो।

खासगरी उनले  रुसी सेनाका कमान्डर जर्नेल भेलेरी गेरासिमोव र रक्षामन्त्री सोइगुलाई पदबाट हटाउनुपर्ने बताउँदै आएका छन्। उनीहरु पदका लागि उपयुक्त नभएको उनको आरोप छ।

उनले सिधै पुटिनको विरोध गरेका छैनन्। तर, रुसी सेनाको अक्षमतामा पनि सन्तुष्ट भएर बसेका ‘हजुरबा’ भन्दै पुटिनको खिल्ली भने उडाएका थिए।

तर, शनिबार राष्ट्रपति पुटिनले यो विद्रोहलाई देशद्रोहको संज्ञा दिँदै कठोर जवाफ दिने बताएका छन्। प्रिगोजिनले रुसीहरुको पिठ्युँमा छुरा रोपेको पुटिनको भनाइ छ।

जवाफमा वाग्नर समूहले पुटिनले गलत पक्ष चुनेको बताएको छ।

उसो त रुसको इतिहासमा सैन्य समूहहरुबीच आन्तरिक द्वन्द्व नौलो कुरा होइन। तर, युक्रेन युद्धको सन्दर्भमा यो घटना निकै महत्वपूर्ण बन्न पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .